बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलम प्रकरणः १० अधिवक्ताले गरे पीडितको पक्षमा बहस, आलमको पक्षमा ३४ जनाले बहस गर्दै

शुक्रबार, २२ कात्तिक २०७६, १८ : १५
शुक्रबार, २२ कात्तिक २०७६

रौतहट–नेपाली काँग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलहरुले बहस सुरु गरेका छन् । शुक्रवार जिल्ला अदालत गौरमा उनीहरुले बहस सुरु गरेका हुन् । बम बिष्फोटमा घाइते तथा मृत्यु भएका दर्जन बढी मानिसलाई ईंटाभट्टामा राखेर जिउँदै जलाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आलममाथि अनुसन्धान गर्न रौतहट, पर्सा तथा काठमाडौबाट आएका बरिष्ठ तथा जिल्ला न्याधिवक्ताहरुले शुक्रबार बहस सुरु गरेका हुन् । शुक्रबार पीडितको पक्षमा १० जना अधिवक्ताले बहस गरे । 

जिल्ला न्यायधीश दिपक ढकालको ४ नम्बर इजलासमा १० बजेर ४८ मिनेटमा बहस सुरु भएको थियो । बरिष्ठ अधिवक्ताहरु डा.युवराज संग्रौला,डा.कुमार शर्मा, दिनेश त्रिपाठी र जिल्ला न्यायधिवक्ताहरु रुद्रप्रसाद पन्थी, आशिकराम कार्की, सहायक जिल्ला न्यायधिवक्ता रामप्रसाद पन्थी र अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, गोविन्द पन्थी, ओमप्रकाश अर्याल, पुष्पराज पौडेलले आलमलाई थुनामा राखेर अनुसन्धान गुर्नपर्ने प्रमाणसहित बहस गरेका थिए ।

पीडित पक्षका अधिवक्ताहरुले आलमविरुद्ध प्रमाण जुटाउन पीडितको किटानी जाहेरी, घटनास्थलबाट प्राप्त मृतक ओसी अख्तरको जुता, मोजा, बम बिष्फोटमा परेर घाइते भएका सेराजुल मियाँको बयान तथा सोही समय भारतमा उपचार गराएको प्रमाण पेस गरिएको  जिल्ला न्यायधिवक्ता खडिण्द्रराज कटुवालले बताए ।

त्यसैगरी घटनालगतै पीडितद्धारा दिइएको निवेदन, बम विष्फोटपछि चुनाव रोक्न प्रत्यासीले प्रहरीलाई दिएको निवेदन, घटनास्थल राजपुर फरहदवाका छिमेकीको बयान, ईंटाभट्टााका मजदूरको बयान, नेपाल प्रहरीका तत्कालिन प्रमुख आइजीपी ओमविक्रम राणा र इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन प्रमुख प्रहरी निरीक्षक इन्द्र सुवेदीद्वारा बम बिष्फोट भएको स्वीकारोक्ति र बयानलाई प्रमाणको रुपमा पेस गरिसक्दा पनि आरोपी आलमलाई बाहिर राखेर अनुसन्धान गर्दा प्रक्रियानै प्रभावित हुनसक्ने पीडितका वकिलहरुले जिरिह गरेको जिल्ला नयायधिवक्ता कटुवालले जानकारी दिए । 

न्यायधिवक्ता कटुवालका अनुसार पीडितको पक्षबाट सरकारी वकिलहरुको बहस आज सकिएको छ, आईतवार बिदा भएमा सोमवार ११ बजेदेखी प्रतिवादी आलमको पक्षमा वकिलहरुले बहस गर्नेछन् । प्रतिवादी आलमको तर्फबाट मुद्धामा बहस गर्न ३४ जना अधिवक्ताहरुले जिल्ला अदालत गौरमा वकालतनामा दिसकेका छन ।

बरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी,अनिरुद्र महतो,गोपालकृष्ण घिमिरे लगायत ३४ जना अधिवक्ताहरुले प्रतिवादीको तर्फबाट वकालतनामा दिइसकेको जिल्ला अदालत गौरका श्रस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

जिल्ला न्यायाधीश दिपक ढकालको  ४ नम्बर इजलासमा बिहिवार दिउँसो ३ बजे आलमको बयान सकेपछि थुनछेक बहस सुरु भएको थियो । पीडितका तर्फबाट बिहिवार जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कट्वालका साथै न्याधीवक्ताद्धय अर्जुन कोइराला र सुर्यराज दाहालले बहस गर्दै जन्मकैदको माग गरेका थिए । 

त्यसअधि जिल्ला न्यायाधीश दिपक ढकालले आलमसँग पछिलो तीन दिनमा कूल ५१ वटा प्रश्न गरेका थिए । सबै प्रश्नमा इन्कारी बयान दिएका आलमले एउटा मात्र बयानमा बोलेका थिए । बयानमा न्यायाधीश ढकालले २०६४ चैत्र २७ गते भएको बम बिष्फोटनको घटनामा तत्कालीन सरकारी वकिलले मुद्धा नचल्ने सुझाव दिएका थिए ? भन्ने प्रश्न गर्दा आलमले मुद्धा नचल्ने सिफारिस भएको भनी बयान दिएको जिल्ला न्यायधिवक्त कटुवालले जानकारी दिए ।

आलमले सबै आरोप गलत भएको भन्दै आफुलाई कम्युनिष्ट सरकारको राजनीतिक पूर्वाग्रहका कारण प्रहरीमार्फत फसाएको दावी गर्दै आएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्या चैत्र २७ गते राजपुर फरहदवामा बुथ क्याप्चर गर्ने मनसायले आलम पक्षका मानिसहरु उनका काका शेख इद्रिशको घरमा बम बनाइरहेको क्रममा बिष्फोट भएको थियो । बिष्फोटमा परेर स्थानीय ओसी अख्तर, पिन्टु सिंह भन्ने त्रिलोकप्रताप सिंह लगायत दर्जन बढी मानिस घाइते र केहीको मृत्युसमेत भएको थियो ।

घटनालगतै प्रमाण नष्ट गर्ने मनसायले मृतकसँगै घाइते सबैलाई सुई लगाएर गाउँ नजिकैको इँट्टाभटमा जिउँदै जलाएर मारेको आरोपमा आलममाथि सर्वोच अदालतमा मुद्धा परेको थियो । सोही  मुद्धामा गत असोज २६ गते प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई इद्रिशगेट नजिकैबाट पक्राउ गरेको थियो । आलममाथि प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विष्फोटक सामान ओसारपसार तथा गैरकानुनी भण्डारणसहितका ३ वटा मुद्धा अदालतमा दर्ता गरेको छ ।

बमकाण्डमा ओसी अख्तरको मृत्यु भएपछि आलमलाई विपक्षी बनाई सर्वोचमा उजुरी दिने उनकी आमा रुखसाना खातुनको पनि सोही ताका गोली हानेर हत्या भएको थियो । उक्त घटनामा पनि आलमको नाम जोडिँदै आएको छ । यसैबीच घटनामा मृत्यु भएका ओसी अख्तरकी श्रीमती अमना खातुनले आज आफनो श्रीमानको उक्त घटनामा मृत्यु नभई उनी बैदेशिक रोजागारीमा बाहिर गएको र हालसम्म फर्केर नआएको भनी अदालतमा निवेदन दिन गएकी थिइन् ।

अदालतमा बहस चल्दाचल्दै गएकी खातुनलाई त्यस्तो निवेदन लिन नमिल्ने भनेर न्यायधीश दिपक ढकालले फर्काइदिएको अदालत स्रोतले जनाएको छ । जिल्ला न्यायधिवक्ता कटुवालले खातुनले त्यस्ता निवेदन लिएर आएको र उक्त निवेदन दर्ता नभई त्यतिकै अदालतमा राखिएको आदलत स्रोतबाट सुनेको जानकारी दिए ।

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप