ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, अर्का घाइते

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, पसाहामा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बिहान पौने ७ बजे ना६ख ७०६७ नम्बरको ट्रकले बा८८प ४८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।
धादिङमा ट्रकको ठक्करबाट पैदलयात्री घाइते
यसैबीच, धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोमा शुक्रबार ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको भारतीय नम्बरको ट्रकले रौटहटको चपुरका २० वर्षीय सुरेन्द्र थापालाई बिहान पौने ८ बजे ठक्कर दिएको थियो ।
घाइते थापालाई उपचारको लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।