शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केही महिनाभित्रै नेपालका विमानहरु आईकाओको कालोसूचीबाट हट्छन्: मन्त्री भट्टराई

शुक्रबार, २२ कात्तिक २०७६, १४ : ३६
शुक्रबार, २२ कात्तिक २०७६

-विपिन निरौंला
लण्डन–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अबको केही महिनामा नेपालका विमानहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ईयूको कालोसूचीबाट हट्ने दाबी गरेका छन् ।  मन्त्री भट्टराईले युरोपियन क्षेत्रमा नेपाली विमानहरुको उडानमा रोक लगाएको आईकाले आफ्नो निर्णयमा गल्ती महसुस गरेको समेत दावी गरे । 

रातोपाटीसँगको संक्षिप्त भेटमा कुरा गर्दै मन्त्री भट्टराईले नेपालका राष्ट्रिय गौरवका आयोजना सोचेभन्दा तीब्र गतिमा अघि बढेको बताए । उनले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ,पोखरा क्षेत्रीय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य उत्साहजनक रुपमा अघि बढेको बताए ।  काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा थप रनवे निर्माण गर्ने लगायतका सुधार र स्तरोन्नतीका कामहरु अघि बढाइएको दाबी गर्दै उनले नारायणहिटी राजदरबारको सभाहल भाडामा दिने भन्ने प्रसङ्गमा त्यसलाई सदुपयोग गर्ने बिषयमा छलफल भैरहेको बताए।  

त्यस्तै,पशुपतिनाथमा आरतीको समयमा राष्ट्र धुन बजाइने निर्देशन केहि धार्मिक गुरुहरुको सल्लाह र सुझाबमा गरिएको तर त्यसमा पुनर्विचार गर्न सकिने समेत उनले बताए ।  नेपाल हिन्दु र बौद्ध धर्माबलम्बीहरुको पबित्र तिर्थस्थल भएको दाबी गर्दै मन्त्री भट्टराईले धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना भएको दाबी गरे ।

धार्मिक पर्यटनको विकास गर्न उनले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूतमा भारतीय मुलका व्यक्तिलाई नियुक्त गरिएको बताए ।  सद्भावना दूत भारतीय मूलका  बेलायती धनाढ्य व्यापारी हिन्दुजालाई नियुक्ति गरिएको छ । उनले नेपालमा पशुपति लगायतका देबस्थल आफ्नो आराध्य रहेको र आफुले केहि ब्यबसाय सुरु गरिसकेको बताएका छन् । उनले नेपालमा आगामी दिनमा होटेल लगायतका पर्यटन व्यवसायमा लगानी विस्तार गर्न लागेको बताइएको छ।

यता, मंगलबार साँझ लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा राजदूत डा.दुर्गाबहादुर सुवेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार राष्ट्र रहेको र  यहाँबाट नेपाल जाने पर्यटक हरुको संख्या बढिरहेको दाबी गरे । 

यो वर्ष ७५,००० र सन् २०२० मा १ लाख ब्रिटिश पर्यटकहरु नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा प्रवर्धनात्मक कार्यक्रम शुरु गरिएको समेत उनले बताए। ब्रिटेनको सत्तारुढ कन्जर्भेटिभ पार्टीका सांसद डा. म्याथ्यु अफोर्डले नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको बताउँदै आउँदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना सुनाए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा.मारियो हार्डी, १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुल तथा सगरमाथा आरोही रेबेक्का विलियम्सले नेपालबारे रोचक प्रस्तुति दिएका थिए।

हरेक वर्ष लण्डनस्थित एक्सेल एक्षिविसन सेन्टरमा हुने विश्व प्रसिद्ध  ३ दिने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) मा सहभागी हुन मन्त्री भट्टराई बेलायत आएका हुन् ।

दूतावास र मन्त्री भट्टराईलाई सकस 
मन्त्री भट्टराईको एकसाता लामो बेलायत बसाइमा नेपाली राजदूतावासलाई सास्ती  परेको  छ। राजदूतावासमा फेरिएको फोटो र नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्तीका बिषयमा मन्त्री स्वयंले सामाजिक सञ्जाल र दूतावासको विज्ञप्तिमार्फत खण्डन  गर्नुपरेको थियो। भट्टराईले बिहीवार  बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा आयोजित एक समारोहका बीच चर्चित अभिनेत्री जोआन्ना लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरे ।

लेखक तथा ब्रिटिश नेपाली गोर्खा सैनिकहरुको समान अधिकारका लागि समेत संघर्षरत लुम्ले बेलायती र नेपाली समुदायबीच निकै लोकप्रिय रहेकी छिन् ।  उनको नियुक्तिलाई सबै क्षेत्र र समुदायबाट प्रसंसा गरिएको छ।  तर उनीसँगै भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिपकुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएकोमा भने मिश्रित प्रतिक्रिया आएको छ। खासगरी भारतद्वारा हालै जारी गरिएको नयाँ नक्सामा केही नेपाली भू–भाग मिचिएको भन्ने आक्रोशका बीच भारतीय मुलका व्यक्तिहरुको नियुक्तिलाई लिएर विरोध भएको हो। 

यसअघिनै  मन्त्री  भट्टराईले बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीको सिफारिसमा उक्त सिफारिस गरिएको भन्ने समाचारको दूताबासले खण्डन गरेको छ।  प्रवक्ता शरदराज आरनले  सद्भावना दूत नियुक्ति भिजिट नेपाल २०२० को सचिवालयसँग सम्बन्धित भएका र यसमा राजदूत  सुवेदी तथा दूतावासको संलग्नता  नभएको  बताए। भिजिट नेपाल २०२० का सदस्यसचिव सुरज बैद्यसँग सम्बन्धित भएकाले यसमा दूतावासले कुनै भूमिका नभएको पनि प्रवक्ता आरनले स्पस्ट पारे।

यता,गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा  आयोजित अन्तरक्रियामा मन्त्री भट्टराईलाई युकेमा रहेका  नेपाली समुदायसँगको छलफल नगरीकिनै नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेको आरोप लगाइएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप