बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महङ्गो जग्गामा आँखा लगाउँदा हिरासतमा पुगे पूर्वमन्त्री रुप ज्योति

अनुसन्धान नै हुन नदिने यस्तो थियो नियत
शुक्रबार, २२ कात्तिक २०७६, १३ : ४०
शुक्रबार, २२ कात्तिक २०७६

ज्योति समूहका उपाध्यक्ष हुन् डा. रुप ज्योति । स्याकार कम्पनी, हिमाल आइरन तथा स्टिल कम्पनी, हिमाल तार, हिमाल अक्सिजन, भाजुरत्न इञ्जिनियरिङ लगायतका कम्पनीका मालिक हुन् उनी । त्यति मात्रै होइन पछिल्लो समय सरोगेसीका लागि भन्दै खोलिएको कान्तिपथको ग्राण्डी सिटी क्लिनिकका सञ्चालकसमेत हुन् डाक्टर रुप ज्योति ।

उनको परिचय यतिले मात्रै पुग्दैन । उनी शाही शासनकालमा अर्थ सहायक मन्त्री भइसकेका व्यक्ति हुन् भने २०७० को दशकमा रियल स्टेटमा हात हालेका व्यापारीसमेत हुन् । उनको यही पछिल्लो व्यापारले यतिबेला उनलाई हिरासतमा पुर्याएको छ ।

उनको कपाल फुलेर सेतै छ । उमेरले पनि ७० वर्ष कटिसकेको छ । तर यिनै वृद्ध व्यापारीलाई बिहीबार साँझ मात्रै महानगरीय प्रहरी परिसर टेकुको टोलीले विमानस्थलबाटै पक्राउ गर्यो । अनि अनुसन्धानका लागि प्रहरी हिरासतमा पुर्यायो ।

ज्योतिमाथि लागेको आरोपचाहिँ ठगीको हो । र, यी व्यापारीले करिब डेढ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रहरीकोमा उजुरी परेपछि उनी करिब एक वर्षपछि पक्राउ परेका हुन् ।

यस्तो थियो घटना

प्रसिद्ध व्यापारी रुप ज्योतिले आफ्नो व्यापारको क्षेत्र विस्तार गर्ने भन्दै २०७० सालतिर हाउजिङ र रियल स्टेटमा लगानी गर्ने योजना बनाए । योजनाबमोजिम सस्तो मूल्यमा नै घर उपलब्ध गराउने भन्दै उनले रियल स्टेट कम्पनी खोले, ल्याण्डमार्क डेभलपर्स । यही कम्पनीको नामबाट महाराजगञ्जमा उनले जग्गा किने र प्लानिङ गरे । त्यही स्थानमा घरहरु निर्माण गर्न सिई कन्स्ट्रक्सन नामक कम्पनीलाई जिम्मासमेत दिए ।

यता, ज्योति समूहको लगानी रहेको ल्याण्डमार्क डेभलपर्सले सस्तो मूल्यमा घर निर्माण गरी हस्तान्तरण गरिदिने भन्दै सर्वसाधरणबाट पैसा उठाउन थाल्यो ।

यही मेसोमा परे गल्कोपाखा, काठमाडौँका विज्ञेन्द्रकृष्ण मल्ल । ठूलो व्यापारिक घरानाले सस्तो मूल्यमै आकर्षक घर बनाई हस्तान्तरण गर्ने भनेपछि उनले नक्सा हेरेर हाउजिङकै सुरुवातमा रहेको जग्गा रोजे र जग्गाका लागि १० लाख रुपैयाँ बैनावापत दिए । ७ आना जग्गामा बन्ने उक्त घर व्यावसायिक र आवासीय दुबै प्रयोजनका लागि हुने बताइयो ।

ल्याण्डमार्कले जिम्मा दिएपछि सिई कन्स्ट्रक्सनले पनि २०७१ को असार महिनाबाटै आवासीय तथा व्यावसायिक घरहरु निर्माण गर्न थाल्यो । ल्याण्डमार्क डेभलपर्सले घर बनाउने र बेच्ने जिम्मा पनि सिई डेभलपर्सलाई दिएपछि मल्लले २०७१ सालकै भदौमा घरका लागि तिर्नुपर्ने बाँकी पैसा १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाए । यसरी मल्लले ७ आना क्षेत्रफलमा बन्ने घरका लागि घर बन्नु अघि नै १ करोड ३६ लाख ७५ हजार रुपैयाँ ज्योति समूहको ल्याण्डमार्क डेभलपर्स र सिई कन्स्ट्रक्सनलाई दिए ।

*****

अर्बौँ सम्पत्तिका मालिक तथा ‘प्रतिष्ठित’ व्यापारी रुप ज्योति एउटा सानो सम्पत्तिमा आँखा लगाउँदा अहिले प्रहरी हिरासतमा पुगेका छन् । पहिले विक्री गरिसकेको जग्गा र घरमा बढी नाफा आउने भएपछि लोभ गर्दा उनको बदनामी मात्रै भएको छैन, ठगीको आरोपमा जेलसम्म जानुपर्ने स्थिति आउनसक्ने भएको छ ।

*****

करिब २ वर्षमा घर निर्माण सकियो । तर मल्लले जुन जग्गा र जग्गामा बनेको घरका लागि अग्रिम रकम बुझाएका थिए, त्यो जग्गा र घर पाउन सकेनन् । हाउजिङको मुखैमा भएको उक्त जग्गा र घर व्यापारिक प्रयोजनका लागि पनि प्रयोगमा आउने भएपछि व्यापारी रुप ज्योतिले उक्त घरको सट्टा अर्को घर दिने वा रकम फिर्ता गर्ने प्रस्ताव गरे ।

तर घर निर्माण सुरु नहुँदै जग्गा रोजेका र रकम बुझाएका विज्ञेन्द्रकृष्णले रुप ज्योतिको प्रस्ताव स्वीकार गरेनन् । आफूलाई कुनै पनि हालतमा त्यही जग्गा र घर चाहिने भनी मल्लले अडान नछाडेपछि उनीहरुबीच विवाद सुरु भयो ।

त्यसो त सिई कन्स्ट्रक्सन अन्य व्यक्तिबाट पनि घर दिने भन्दै रकम उठाएको थियो । तर घर निर्माण भएपनि समयमै घर नदिने र ‘नराम्रो’ घर दिन खोजेपछि उनीहरुबीच पनि विवाद र उजुरबाजुर भएको थियो । यद्यपि उजुरीपछि अन्य व्यक्तिहरुले भने घर पाए ।

तर मुख्य स्थानमा रहेको र व्यापारिक प्रयोजनमा पनि जान सक्ने उक्त घर भने रुप ज्योतिले दिन मानेनन् । रुप ज्योति आँफैले उक्त घर राख्न खोजेपछि विज्ञेन्द्रकृष्ण, रुप ज्योति र सिई कन्स्ट्रक्सनबीच विवाद बढ्दै गयो ।

यही विवादका बीच विज्ञेन्द्रकृष्ण महानगरीय प्रहरी परिसर टेकुमा पुगि रुप ज्योतिविरुद्ध ठगीको उजुरी दिन खोजे ।

तर प्रहरीले प्रमाण नपुगेको भन्दै सुरुमा उजुरी नै दिन मानेन । प्रहरीले उजुरी नलिएपछि विज्ञेन्द्रकृष्णले गृहमनत्री राम बहादुर थापालाई सम्बोधन गरी निवेदन लेखे । मल्लको निवेदन आएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै कारवाही अगाडि बढाउनु भन्ने निर्देशन दियो ।

गृह मन्त्रालयको निर्देशन आएलगत्तै प्रहरीले विज्ञेन्द्रको सोही निवेदनलाई आधार मान्दै यसबारेमा खोजी सुरु गर्यो ।

अनुसन्धानका क्रममा विज्ञेन्द्रले पैसा बुझाएर पनि घर नपाएको पाइएपछि प्रहरीले सिई कन्स्ट्रक्सनका आधिकारिक व्यक्ति र ल्याण्डमार्क डेभलपर्सका सञ्चालक रुप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँबाट आदेश लियो ।

तर ठगीको उजुरी परेपछि आफू पक्राउ पर्ने निश्चित जस्तै भएपछि पूर्व मन्त्रीसमेत रहिसकेका व्यापारी रुप ज्योतिले सर्वोच्च अदालतमा निवेदन दिई पक्राउ नगर्न अन्तरिम आदेश माग गरे ।

जिल्ला अदालतबाट पक्राउको आदेश लिएको प्रहरी सर्वोच्च अदालतबाट पक्राउ नगर्न आदेश आएलगत्तै ब्याक भयो । व्यापारी रुप ज्योतिले आफ्नो पद र शक्तिको प्रयोग गर्दै अनुसन्धान नै हुन नदिने नियत राखे ।

त्यसपछि यो मुद्दा त्यत्तिकै थाती रह्यो ।

तर गएको मंगलबार सर्वोच्च अदालतले रुप ज्योतिको रिट निवेदन खारेज गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गरेपछि बिहिबार राती ९ बजे उनी एअरपोर्टबाट पक्राउ परे । सिंगापुरबाट ‘बिजनेस ट्रिप’बाट फर्कँदै गर्दा उनलाई प्रहरीले एअरपोर्टबाटै पक्राउ गर्यो ।

व्यापारी रुप ज्योति पक्राउ परेसँगै ल्याण्डमार्क डेभलपर्स र सिई कन्स्ट्रक्सनको ठगीको सम्बनधमा अनुसन्धान अगाडि बढाउन बाटो खुलेको छ ।

अर्बौँ सम्पत्तिका मालिक तथा ‘प्रतिष्ठित’ व्यापारी रुप ज्योति एउटा सानो सम्पत्तिमा आँखा लगाउँदा अहिले प्रहरी हिरासतमा पुगेका छन् । पहिले विक्री गरिसकेको जग्गा र घरमा बढी नाफा आउने भएपछि लोभ गर्दा उनको बदनामी मात्रै भएको छैन, ठगीको आरोपमा जेलसम्म जानुपर्ने स्थिति आउनसक्ने भएको छ ।

विमानस्थलबाट रुप ज्योतिसँगै छोरी सुरुची ज्योति पनि पक्राउ परेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप