देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै
काठमाडौं– कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वासका साथ पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्खुुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ टाढाटाढाका भक्तजन पनि सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आउँछन् ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति एक बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए ।
उक्त मन्दिरमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ः३० बजेसम्म दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उनले बताए । विहान ७ः३० बजेदेखि ८ः१५सम्म बूढानीलकण्ठको विशेष पूजाका लागि दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।
बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा (कात्तिक २६ गते) सम्म विशेष मेला लागेको छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण बिराजमान भएको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिक तथा बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । आषाढ शुक्ल एकादशीका दिन घरको माठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ ।
आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेर चतुर्मास व्रत समाप्त गरिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको पुजारी शिवप्रसाद पौडेलले बताए । यसैगरी आजै घरघरमा तुलसीको विशेष पूजा गरिन्छ । यस अवसरमा काठमाडौँको नागार्जुन नगरपालिकाले इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भन्दै नगरभर सार्वजनिक बिदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित