शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

शुक्रबार, २२ कात्तिक २०७६, १२ : ५६
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वासका साथ पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । 


उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्खुुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ टाढाटाढाका   भक्तजन पनि सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आउँछन् ।
 
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूलो ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति एक बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए ।

उक्त मन्दिरमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिहान ७ः३० बजेसम्म दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उनले बताए । विहान ७ः३० बजेदेखि ८ः१५सम्म बूढानीलकण्ठको विशेष पूजाका लागि दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।
     
बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा (कात्तिक २६ गते) सम्म विशेष मेला लागेको छ  । यहाँ जलकुण्डमाथि भगवान् नारायण बिराजमान भएको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिक तथा बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । आषाढ शुक्ल एकादशीका दिन घरको माठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ ।

आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेर चतुर्मास व्रत समाप्त गरिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।  

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको पुजारी शिवप्रसाद पौडेलले बताए । यसैगरी आजै घरघरमा तुलसीको विशेष पूजा गरिन्छ । यस अवसरमा काठमाडौँको नागार्जुन नगरपालिकाले इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भन्दै नगरभर सार्वजनिक बिदा दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप