शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : नेपाल–भारत सीमा विवाद : भारत भन्छ, ‘सीमा परिवर्तन गरिएको छैन’, बहालवाला मन्त्री फरार

‘कारागार परिसरभित्र पतिपत्नीले यौनसम्पर्क राख्न पाउने’
शुक्रबार, २२ कात्तिक २०७६, ०७ : ०३
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौँ । आज कार्तिक २२ गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग परेपछि सुरु भएको विवादको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, मंसिर १४ मा हुने उपनिर्वाचनमा बिहीबार भएको उम्मेदवारीको समाचारलाई पनि प्राथमिकता दिएका छन् ।

नयाँ नक्सा आधिकारिक : भारत

भारतले नेपालको सीमा नमिचेको दाबी गर्दै समस्या समाधान गर्न तयार रहेको अन्नपूर्ण पोष्ट दैनिकले जनाएको छ । भारतीय विदेश मनत्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गरे । नागरिक दैनिकका अनुसार नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन गरेको पनि भारतले दाबी गरेको छ । प्रवक्ता रवीश कुमारले नयाँ राजनीतिक नक्सा आधिकारिक भएको स्पष्ट पारेका हुन् । कान्तिपुर दैनिकका अनुसार भारतले ‘उक्त नक्साले भारतको सार्वभौम भूभागलाई सही ढङ्गले चित्रण गरेको प्रतिक्रिया दिएको र नेपालसँगको सीमामा कुनै फेरबदल नगरिएको दाबी गरेको छ ।’

कान्तिपुर दैनिकका अनुसार भारतले कालापानी वरै पनि नेपालीलाई मन्दिर बनाउन दिएको छैन । भारतीय पक्षले महाकाली नदीवरी आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय व्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । त्यसैले उनीहरुले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन् । ‘भगवान् तो एक ही हे, तुमको कितना भगवान् चाहिए भन्दै फर्काइदिए,’ स्थानीयको भनाइ छ ।

यता, नयाँ पत्रिका दैनिकका अनुसार दक्षिणी सिमाना सुरक्षा गर्न भन्दै तत्कालीन राजा महेन्द्रले ०२२ मा नवलपरासीको सुस्तामा बस्ती बसाएका थिए । तर, भारतीय राज्यको अतिक्रमण, सीमा फौजको प्रताडनाले सुस्तावासीको जीवन आफैँ असुरक्षित छ । भारतीय पक्षको ज्यादती र नेपाली पक्षको उपेक्षाले सुस्तावासीको जीवन चार पुस्तादेखि आपत्–विपत्मा छ ।  नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तीमध्ये धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत्विपत्मा छ ।

अन्नपूर्ण पोष्ट दैनिकले जहाज डिले हुँदा यात्रुले हैरानी खेप्नु परेको समाचार प्रकाशित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन्। यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ। १० वटा वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन्। दैनिक अन्तर्राष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा तीन सयवटासम्म पुग्छ। यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुनेबित्तिकै उडान डिले हुन्छ। त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन्।

त्यस्तै, काठमाडौँ महानगरपालिकाको शौचालय फोरले भरिएर सौच गर्न नसकिने अवस्था पुगेको समाचार पनि प्रकाशित गरेको छ । यता, ६ वटा विश्वविद्यालयमा उपकुलपक्ति रिक्त रहेको समाचारमा उल्लेख गरेको छ । ६ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि २ सय ५० भन्दा बढी आकांक्षी देखिएका छन् ।

नयाँ पत्रिका दैनिकले बहालवाला मन्त्री नै फरार भएको समाचार प्रकाशित गरको छ । समाचारका अनुसार ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ ।  रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको हो । रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपीको नेतृत्वमा विशेष छानबिन टोली गठन गरेको छ । टोलीले बुधबार र बिहीबार मन्त्रीको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको छ । एसपी कमल थापा नेतृत्वको टोली केही दिनयता सुदूरपश्चिममै बसेर उनीमाथि छानबिन थालेको हो । बहालवाला मन्त्रीमाथि विभागले यसरी विस्तृत छानबिन गरेको यो पहिलोपटक हो ।

त्यस्तै, शिक्षक बन्न शिक्षाशास्त्र पढ्न नपर्ने र प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री दिने सरकारको नीति लिएको समाचार पनि पत्रिका छ । सरकारले विश्वविद्यालयबाट प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री प्रदान गर्ने गरी शिक्षा नीति बनाएको छ । शिक्षाशास्त्र पढेकालाई सीधै शिक्षण पेसामा लगाउँदा गुणस्तर खस्किएपछि सरकारले प्राज्ञिक डिग्री पूरा गरेपछि मात्र पेसागत डिग्री दिने नीति बनाएको हो ।

यता, अफ्ताब आलमकै आदेशमा भाइ डा. समिम अख्तरले घाइतेलाई दिएका थिए बेहोस हुने इन्जेक्सन दिएको विस्तृत समाचार प्रकाशित गरेको छ । अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस डाइग्नोस्टिक सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन् ।

डा. अख्तरले पाकिस्तानबाट एमबिबिएस अध्ययन गरेका हुन् । तर, प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे भने अनुसन्धान अघि बढाएको छैन ।

कान्तिपुर दैनिकले अब कारागारमै प्रजनन सुख पाउने समाचार प्रकाशित गरेको छ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट बञ्चित हुन नपर्ने समाचारमा उल्लेख छ । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागर परिसरभित्र उनीहरुले यौनसम्पर्क राख्न पाउनेछन् । त्यति मात्र होइन गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन् ।

त्यस्तै, सरकारले विज्ञको सुझाव लुकाएर शिक्षा नीति सार्वजनिक गरेको समाचार पनि प्रकाशित छ । सरकारले सर्वपक्षीय चासोको राष्ट्रिय शिक्षा नीति सरोकारवालाहरुलाई समेत पत्तो नदिइ जारी गरेको छ । विज्ञ सम्मिलित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको सरकारले शिक्षा नीतिसमेत गोप्य ढंगले जारी गरेको हो ।

नागरिक दैनिक ले पश्चिमी सीमामा सधैं समस्या हुने तर राज्य बेखबर हुँद नागरिकलाई सास्ती हुने गरेको समाचार प्रकाशित गरेको छ । दार्चुलाको व्याँस गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ। व्याँस गाउँपालिकाको वडा नं। १ साबिकको व्याँस गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँचबाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ। यसअघि पनि नेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि सञ्चालन गरिरहेको सूचना नेपाली राज्य संयन्त्रले नपाएको होइन। तर राज्यको प्रतिक्रिया स्थानीयले सुन्न पाएका थिएनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप