बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५१ वटा प्रश्नमा आलमको इन्कारी बयान, सुरु भयो थुनछेक बहस

बिहीबार, २१ कात्तिक २०७६, १८ : ४०
बिहीबार, २१ कात्तिक २०७६

रौतहट । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद् मोहम्मद अफताव आलमविरुद्ध लागेका तीन वटा मुद्दामा बिहीवार अपरान्हदेखि थुनछेक बहस सुरु भएको छ ।

बिहीवार दिउँसो जिल्ला न्यायाधीश दीपक ढकालको इजलास नम्बर ४ मा आलमको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।

पीडितका तर्फबाट न्यायधीवक्ता खडिन्द्रराज कटुवाल,अर्जुन कोइराला र सूर्यराज दाहालले जिकिर तथा बहस गर्दै जन्मकैदको माग गरेका थिए । 

त्यसअघि न्यायधीश ढकालले आलमसँग पछिल्लो तीन दिनमा ५१ वटा प्रश्न गरेका थिए । ती प्रश्नमा उनले इन्कारी बयान दिएका थिएका छन् ।

२०६४ चैत्र २७ गते भएको बम बिस्फोटको घटनाको मुद्दा नचल्ने तत्कालीन सरकारी वकिलले सुझाव दिएका थिए ? भन्ने प्रश्नमा आलमले ‘हो मुद्दा नचल्ने सिफरिस भएको’ भनी बयान दिएको जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

बिहीबार सकिएको थुनछेक बहस शुक्रबार १०ः३० बजेदेखि हुने जनाइएको छ । बहसमा पीडितका तर्फबाट अधिवक्ता  डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी र डा.कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।

त्यसैगरी प्रतिवादी आलमको पक्षबाट वरिष्ठ अधिवक्ता शेर बहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे, शम्भु थापा लगायतले बहस गर्ने बताइएको छ ।  उनीहरु रौतहट आइसकेको पनि अदालत स्रोतले जनाएको छ ।

२०६४ चैत्र २७ गते राजपुर फरहदवामा संबिधानसभाको पुर्वसंध्यामा बुथ क्यापचर गर्ने मनसायले आलम पक्षका मानिसहरु बम बनाईरहेको क्रममा बिस्फो भएको थियो ।

विस्फोटमा परेर स्थानीय ओसी अख्तर, पिन्टु सिंह भनिने त्रिलोकप्रताप सिंहलगायत दर्जन बढी मानिस घाइते र केहीको मृत्युसमेत भएको थियो ।

घटनालगत्तै प्रमाण नस्ट गर्ने मनसायले आलमको इशारामा मृतकका साथै घाइते सबैलाई नसालु सुई लगाएर बोरामा राखी ट्याक्टरमार्फत गाँउनजिकैको इटाभट्टामा जिउँदै जलाएर हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दामा सर्वोच अदालतको आदेशमा गत असोज २६ गते प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको हो ।

आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष तथा बिष्फेष्ट पदार्थ ओसारपसार तथा भण्डारण मुद्दामा २ वर्ष गरी ३२ वर्ष कैदसजायको माग गरिएको छ । 

आलमविरुद्ध मुद्धा दर्ता भएदेखि रौतहट सदरमुकाम गौरमा वीरगन्ज, हेटौँडा र काठमाडौँका वकीलहरुको चहलपहल बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप