शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दशरथ रंगशाला पुनर्निर्माणमा ढिलाइ, नेपालले ‘होम ग्राउन्ड’ मा खेल्न नपाउने

बिहीबार, २१ कात्तिक २०७६, १६ : १८
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । दशरथ रंगशाला समयमै मर्मत हुन नसकेका कारण नेपालले ‘होम ग्राउन्ड’ मा खेल्नुपर्ने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता विदेशी भूमिमा खेल्ने भएको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणको छनोट खेल र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कप फुटबल प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत नेपालको ‘होम ग्राउन्ड’ मा कुवेतविरुद्ध हुने खेल भुटानमा खेलाउने तयारी भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आगामी मंसिर ३ गते नेपाल र कुवेतविरुद्ध नेपालको ‘होम ग्राउन्ड’ मा खेल्नुपर्ने तालिका छ । उक्त खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना गर्न एन्फाले विश्व फुटबल महासंघ (फिफा) र एएफसीलाई प्रस्ताव गरेको थियो । एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङ्गद्वारा गत मंगलबार दशरथ रंगशाला निरीक्षण गरी आवश्यक अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला तयार हुन नसकेको ठहर गरेका थिए । रंगशाला अभावमा एएफसीकै निर्देशनअनुसार नेपाल र कुवेतविरुद्धको खेल नेपालले होम ग्राउन्डमा खेल्न नपाउने भएको हो ।

उक्त खेलका लागि भुटानको चाङ्गलिमिथाङ्ग रंगशाला छनोट गरिएको र यसबारे फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

‘सबै प्रकारको अधिकतम प्रयत्नका बाबजुद भूकम्पबाट पूर्ण क्षतिग्रस्त नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला समयमै पुनर्निर्माण हुन र गराउन नसक्दा उक्त प्रतिष्ठित खेल नेपालमा हुन र गराउन नसकेकोमा सम्पूर्ण नेपाली फुटबल समर्थक, शुभचिन्तक तथा सरोकारवालाहरुमा संघ हार्दिक क्षमायाचना गर्दछ,’ एन्फा प्रवक्ता किरण राईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप