थवाङ डायरी–२
यसअघिको अङ्कमा थवाङ डायरीको पहिलो खण्ड प्रस्तुत गरेको थिएँ । त्यही लेखको पूरक अंशका रूपमा थवाङ डायरी–२ लेख्दैछु । लेख आत्मगत तथा मनोगत कथनीबाट मुक्त गराउने भरमग्दुर प्रयास गरेको छु । त्यसका लागि थवाङको विगतको राजनीतिक तथा सामाजिक घटनाक्रमहरूको बारेमा प्रकाशित लेख रचनाहरू र पछिल्लो घटनाक्रमका बारेमा थवाङमा क्रियाशील राजनीतिक दल, अनुसन्धानकर्ता, स्थानीय सरकारको प्रमुख, सहिद, घाइते अपाङ्ग पहिरवारका सदस्यहरू, इलाका प्रहरीका कार्यालय थवाङका प्रमुख लगायतका व्यक्तिसँगको छलफलका क्रममा उनीहरूबाट व्यक्त विचारलाई बिनापूर्वाग्रह जस्ताको त्यस्तै प्रस्तुत गरेको छु ।
थवाङबासीहरू २०६२÷०६३ को आन्दोलनबाट प्राप्त उपलब्धिप्रति सन्तुष्ट रहेनछन् । १० वर्षे जनयुद्धको जन्मथलोका रूपमा परिचित सुन्दर थवाङलाई सिंहदरबारमा बस्नेहरूले उपेक्षा गरेको गुनासो गरे । थवाङीहरूको भनाइ थियो–सिंहदरबारले हाम्रो उचित क्षतिपूर्ति दिनुपर्छ । मैले थप जिज्ञासा राखेँ र उनीहरूको भनाइको गाम्भीर्यतालाई खोतल्ने प्रयास गरेँ । त्यसपछि भने थवाङीहरू खुलैर आफ्ना कुरा राख्न अग्रसर भए । हेर्नुस् (घरहरू देखाउँदै) यी सबै घरहरू द्वन्द्वकालमा सेनाले आगो लगाइदिएको थियो । प्रत्येक घरमा सहिद, घाइते र अपाङ्ग छन् । उनीहरूको जीविकोपार्जन र स्वास्थ्य उपचार गर्न गाह्रो भइरहेको छ । द्वन्द्वकालमा ध्वस्त भएका केही घरहरू पुनर्निर्माण भएका छन् त कतिपय ध्वस्त भएका घरहरू निर्माण भएका छैनन् । ती घरमा बस्ने मानिसहरू विस्थापित छन् । राज्यले हेरेको छैन । खोला तर्यो, लौरा बिर्सियो जस्तो गरेका छन् नेताहरूले । थवाङीहरूको भनाइले म पनि स्तब्ध भएँ ।
थवाङीहरूको भनाइले मन भारी भयो । थप जिज्ञासा मेटाउन इलाका प्रहरी कार्यालय पुग्यौँ । मेरो साथमा मैले प्राध्यापन गर्ने क्याम्पसका दुई जना एमएड दोस्रो वर्षका विद्यार्थीहरू थिए । उनीहरू मेरो मातहतमा शोध कार्य गर्दै छन् । शोध कार्यमा सहयोग पुग्ने अपेक्षा राखेर उनीहरू मसँग थवाङ पुगेका थिए । हामीहरू इलाका प्रहरी कार्यालय पुग्दा इलाका प्रहरी कार्यालयका प्रमुख नदीराम खडका कार्यालयमा थिएनन् । हामी आएको जानकारी गराएपछि प्रहरी जवान हाकिम खोज्न गए । केही समयको पर्खाइपछि इप्रका प्रमुख आइपुगे । हामीहरूले आआफ्नो परिचय दियौँ र मैले नेपाल बारको परिचयपत्र समेत उनको हातमा थमाइ दिएँ । मैले प्रहरी प्रमुखसँग सुरक्षालगायत समाजमा घट्ने अपराधका घटना र त्यसको प्रकृतिका विषयमा जिज्ञासा राखेँ । उनले सरल र सहज ढङ्गले मेरो प्रश्नको उत्तर दिए । उनको भनाइ थियो– तत्कालीन माओवादीले थवाङीहरूलाई परिवर्तन हुन्छ भनेर ठूलो आसा जगाए । तर यिनीहरूले सोचेअनुसारको परिवर्तन भएन । प्रत्येक घरमा सहिद, घाइते र अपाङ्ग छन् । त्यसैले अहिले पनि थवाङका अधिकांश मानिस प्रतिबन्धित पार्टी विप्लव नजिक छन् । सङ्गठित रूपमा राज्यविरुद्ध कुनै गतिविधि गरेका छैनन् । हामीले उनीहरूबाट सुरक्षाको चुनौती देखेका छैनौँ । प्रहरी र विप्लव समूहका कार्यकर्ताहरू बीच समाजमा घट्ने आपराधिक घटनाहरू न्यूनीकरण गर्ने कार्यमा सहकार्य गर्ने गर्छौं । तर बिडम्बना समाजमा अपराध घटे पनि प्रहरीमा उजुरी गर्ने प्रचलन छैन । कहिलेकाहीँ त मान्छे मरे पनि खबर गर्दैनन् ।
प्रहरीसँगको छलफल सकेर बासस्थानतर्फ अघि बढ्दै थियौँ । बाटोमा जनयुद्धका घाइते अपाङ्ग, विप्लव नजिक भन्ने मान्छेहरू हामीहरूलाई खोज्दै आए । उनीहरूले मलाई खोजेका रहेछन् । खोज्नुको उद्देश्य विप्लवका रोल्पा इन्चार्ज लगायत केही थवाङका मान्छेहरूलाई प्रहरीले पक्राउ गरी हातहतियार र सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाई रोल्पा कारागारमा थुनेको रहेछ । उनीहरूको तर्फबाट कानुनी प्रतिरक्षा (वकालत)को अनुरोध गर्नका लागि आएका रहेछन् । उनीहरूसँग राजनीतिक विषयमा समेत कुरा भए । मैले भने १० वर्षे जनयुद्धको जगमा देशमा परिवर्तन भएको छ । के फेरि पुरानै तरिकाले हतियारको बलमा सत्ता परिवर्तन हुन्छ भन्ने ठान्नु भएको छ ? उनीहरूको जवाफ थियो– तत्कालीन माओवादीको नेतृत्वले जुन लक्ष्य राखेर जनयुद्ध सुरु गरेको थियो त्यो पूरा भएन । उनीहरूले गद्दारी गरे । डबल नेकपाको सरकारले जनताको अपेक्षा पूरा गर्नुको साटो झन पछि झन घात गरेको छ । यो सरकारका विरुद्ध जताततै आवाज उठेका छन् । ती आवाजहरू सम्बोधन गर्ने अन्य कुनै आसालाग्दो वैकल्पिक राजनीतिक शक्ति छैन । त्यो शक्ति भनेको विप्लवको पार्टी हो । ढिलो होला जनताले बुझ्दै जान्छन् र विप्लवको पार्टीमा आबद्ध हुन्छन् ।
मैले विद्यावारिधिको शोध पूरा गर्ने क्रममा एकजना फ्रेन्च अनुसन्धानकर्ताको शोध लेख अध्ययन गरेको थिएँ । सो शोध लेखमा क्रान्तिकारी कम्युनिस्ट नेतृत्व र विचारको जन्म प्युठानमा भयो । जसको नेतृत्व मोहन विक्रम सिंहले गरेका थिए । उनी जनयुद्धका पिता हुन् । त्यो क्रान्तिकारी विचारलाई प्रचण्डले थवाङमा प्रयोग गरे । बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने माओत्सेतुङ विचारको प्रयोगशाला हो थवाङ । क्रान्तिकारी विचार जन्माउने प्युठान र अग्रज प्युठानीहरूको विचारमा निखार र तिखार हराउँदै गएको छ । तर अग्रज प्युठानी कम्युनिस्ट नेताहरूले प्रशिक्षित गरेका थवाङीहरूमा भने राज्यसत्ताप्रतिको वर्गीय सोेच र चिन्तनमा परिवर्तन आउन सकेकोे रहेनछ ।
वि.सं. २०१३ साल जेठ १३ गतेका दिन मोहन विक्रम सिंह, खगुलाल गुरुङ, रुमबहादुर र हेमराजले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् (रोका मगर, पूर्णबहादुर क्रान्तिकारी इतिहास बोकेको थवाङ, गङ्गा जमुना प्रेस, काठमाडौँ, २०६८) । २०१३ सालमा कम्युनिस्ट पार्टी स्थापना भए पनि २०११ सालदेखि नै मुखिया, जिम्मुवाल र सामन्तहरूको विरुद्ध थवाङमा आवाज उठ्न थालेका रहेछन् । यसको अगुवाइ बरमन बुढाले गरेका रहेछन् । प्युठानमा पनि २०११।०१२ सालतिर किसान आन्दोलन भएको थियो । स्थानीय समाजसेवी ज्येष्ठ राजनीतिक अगुवा पूर्णबहादुर रोका मगरका अनुसार युवा नेता बरमन बुढाको नेतृत्वमा पहिलो पटक (२०११ जेठ १ गते) स्थानीय मुखिया कृष्णबहादुर झाँक्री मगरमाथि आक्रमण तथा कुटपिट नै पहिलो पटक राज्यसत्ता विरुद्धको प्रतिकात्मक घटना हो । यो घटनापछि थवाङमा शृङ्खलाबद्ध रूपमा राज्यसत्ता र थवाङीहरूका बीचमा हिंसात्मक लडाइँहरू हुँदै गए ।
२०१५ सालको निर्वाचनमा थवाङीहरूले कम्युनिस्ट उम्मेदवारको पक्षमा एकछापे मत खसालेका थिए । राजा महेन्द्रले २०१७ पुस १ गते दलमाथि प्रतिबन्ध लगाउँदा थवाङेहरूले त्यसको सशक्त विरोध गरे । २०३७ सालको जनमत सङ्ग्रहमा सबै थवाङेहरूले बहुदलको पक्षमा एकछापे मत खसालेका थिए । २०३८ सालमा सम्पन्न भएको राष्ट्रिय पञ्चायतको निर्वाचन सशक्त बहिस्कार गरे । २०३८ सालमा ५०० नेपाली सेनाका फौजले ब्यापक सैनिक अपरेसन । बहुदलपछि (२०४८) को आम निर्वाचनलाई क्रान्तिकारी उपयोग । २०५८ सालमा पुनः सैनिक अपरेसन ।
१० वर्षे जनयुद्धको क्रममा धेरै पटक अर्ध सैनिक तथा सैनिकबाट विभिन्न प्रकारका अपरेसनहरू थवाङमा राजयसत्ताले सञ्चालन गरेको थियो । तिनै थवाङी जनताको त्याग र बलिदानीबाट प्राप्त भएको परिवर्तनमा नेताहरू रमाएका छन् तर थवाङीहरूले परिवर्तनको अनुभूति गर्न नपाएको, सहिद घाइते र अपाङ्गलाई राज्यले उचित सम्मान गर्न नसकेको दुःखेसो रहेछ थवाङीहरूको केन्द्र सरकारसँग ।
थवाङका आफ्नै मौलिक विशेषताहरू छन् ।