बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अतिक्रमित नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने अनेरास्ववियूको चेतावनी

बिहीबार, २१ कात्तिक २०७६, ११ : ५४
बिहीबार, २१ कात्तिक २०७६

राधिका भुसाल

प्यूठान । अनेरास्ववियू प्युठानले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रम गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू प्युठानले स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला अगाडि सडकमै विरोध गरेको हो ।   भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि देशभर चर्को विरोध भइरहेको बेला प्युठानका पनि आज विद्यार्थी संगठनले आपत्ति जनाउँदै विरोेध प्रदर्शन गरेका हुन् । 

विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।

विरोधसभामा सम्बोधन गर्दै अनेरास्ववियू केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज विनोध भण्डारीले भारतले गरेको हस्तक्षेपका विरोधमा आम नेपाली जनसमुदाय स्वतःस्फूर्त विरोध गरिरहेको बताए । 

‘कुनै राजनीतिक स्वार्थको रुपमा गरिएको आन्दोलन होइन,’ विद्यार्थी नेता भण्डारीले भने, ‘भारतले यसैगरी धेरै पटक नेपाली भूमीमाथि अतिक्रमण गरिरहेको छ त्यसैले अब नेपाली भुमि बचाइ राख्नको लागि आम नेपालीहरु स्वतस्फुर्त रुपमा आन्दोलनमा सहभागि हुनुपर्छ ।’

हिजोका दिनहरुमा सिक्किम र दार्जिलिङ पनि अतिक्रमण गरेर लगेको उल्लेख गर्दै नेपाललाई अतिक्रमण गर्ने काम कुनै पनि हदमा सह्य नहुने भण्डारीले बताए । नेपाली भूमी जोगाइ राख्नका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने उनको जिकिर थियो ।

भारतले नक्सा नसच्चाए अनेरास्ववियूले ती ठाउँहरुमा पुगेर झण्डा गाड्न तयार रहेको उनले बताए । ‘भारतले नक्सा सच्चायाओस् भनेर हाल सामान्य रुपमा दवाव दिएका छौँ,’ भण्डारीले भने, ‘यदि त्यसो नगरेको खण्डमा आफ्नो भूमीमा नेपाली झण्डा गाड्न जानेछौँ ।’

आफ्नो देश बचाउन रगत बगाउन तयार छौं : श्रेष्ठ

आफ्नो देश बचाउनका लागि भारतको हेपाहा प्रवृत्तिका विरुद्ध  आफुहरुले रगतको बगाउन पनि तयार रहेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज सुमन श्रेष्ठले बताएका छन् ।

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागहरु भारतले आफ्नो नक्सामा मिसाएपछि हामीले विरोध गरिरहेका छौं ’– श्रेष्ठले भने –‘आफ्नो माटो जोगाउनको लागि रगत बगाउन तयार छौं तर, गुम्न दिन्नौ ।’ नेपाल सरकारले पनि आफ्नो देशको भुभाग बनाउनको लागि कडा कदम चाल्नु पर्ने उनले बताए । ‘दुइ तिहाइको सरकार भएपनि आज राष्ट्रिय स्वाधिनताको विषयमा बोल्न सकेन ।’ श्रेष्ठले भने–‘एक पटक फेरि हामी बदभद्र कुवर बनेर नेपाली भुमी खोज्न जानेछौं ।’ नेपाली जनताको पक्षमा नेपाल सरकारले एक पटक बलिदान गर्न तयार हुनु पर्ने उनको अभिव्यक्ति थियो ।  १० वर्षे जनयुद्धले लिएको आमुल परिवर्तको स्मरण गर्दै आन्दोलनले धर्म्निरपेक्षता, गणतन्त्र जस्ता परिवर्तनहरु भएको बताए । भारतले आफ्नो नक्सामा पारेमा यी भूमिहरुलाई जोगाउन विद्यार्थीहरु आन्दोलनमा होमन पनि तयार रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप