बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

सांसद र मन्त्रीको गाउँ : पैसा तिरेर तर्नुपर्छ नदी, पुलमा लाग्छ ढोका

बिहीबार, २१ कात्तिक २०७६, ०८ : ४८
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । सिरहा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव जितेका सुरेशचन्द्र दास यादवको घरदेखि आधा किलोमिटर र सिरहा औरही गाउँपालिका कार्यालयदेखि २०० मिटर पूर्वमा गागन नदी पर्छ, त्यो नदीमा एउटा पुल छ तर त्यो पुलबाट कोही हिँडडुल गर्न पाउँदैनन् । किनभने त्यो पुलमा ढोका लागेको छ ।

बाँसले बनेको अस्थायी पुलमा दुवैतिरबाट ढोका लगाइएको छ । त्यसकारण सर्वसाधारणहरु पानीको बाटो हुँदै नदी पार गर्न बाध्य छन् । हुलाकी सडकजस्तो व्यस्त सडकमा रहेको त्यो नदीमा पुल नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । बाढी आएको बेला एकजनाले आफ्नो नीजि खर्चमा त्यो पुल बनाएका थिए । कसैले पुल प्रयोग गरेबापत उनलाई पैसा तिर्नु पर्छ ।

अहिले नदीमा पानी कम भएको कारण स्थानीयबासीहरु पैसा तिरेर पुलबाट हिँड्नको साटो नदीमा पसेरै नदी पार गर्छन् । पैसा नतिरी कसैले पुल प्रयोग गर्न नपाओस् भनेर पुलको मुखमा ढोका लागेको छ ।

हुलाकी सडकमा रहेको गागन नदी औरही गाउँपालिका अन्तर्गत पर्दछ । प्रतिनिधिसभाका सांसद सुरेशचन्द्र दास यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव सोही गाउँका हुन् । त्यही बाटो भएर उनीहरु गाडीमा ओहोर दोहोर गर्छन् । तर त्यहाँ एउटा अस्थायी भए पनि पुल बनाउने सोच उनीहरुमा नआएको स्थानीयबासीको गुनासो छ ।

औरही गाउँपालिका वडा नम्बर ५ मा बस्ने हरि कामतले ९० हजार रुपैयाँ खर्च गरेर बाँसको अस्थायी पुल बनाए । उक्त पुलबाट उनले हालसम्म १५ हजार रुपैयाँ कमाइसकेका छन् । ‘अझै पैसा उठाउन बाँकी नै छ,’ उनकी पत्नी भन्छिन् ।

त्यही नदी किनारमा उनको मदिरा पसल पनि छ । पसलमा आउने ग्राहकको सुविधाका लागि उनले त्यो पुल बनाएका हुन् तर उनले आफ्ना ग्राहकबाहेक अरुसँग पैसा असुल्छन् ।

कामतकी श्रीमती भन्छिन्, ‘मैले यो पुल गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवसँग सोधेर बनाएकी हुँ । सिद्धार्थ यादवसँग मात्र होइन, प्रहरी चौकीसँग पनि अनुमति लिएर बनाएकी हुँ ।’ आफूले खर्च गरि पुल बनाएका कारण अरु बटुवासँग रकम उठाउने गरेको उनको भनाइ छ ।

गागनको मुल नदी पनि त्यहीँ छ । त्यो नदीमा पुल छ । तर त्यो पुल भएको ठाउँबाट नदी बग्दैन । १० वर्ष पहिले नदीले अर्कै बाटो लिएपछि त्यहाँ हालसम्म पुल बनेको छैन ।

पुल भएको ठाउँ भएर नदी फर्काउने प्रयास नभएको होइन । तर शुरुको नदी कटानबाट पीडित बनेका सर्वसाधारणले पुरानो ठाउँबाट नदी फर्काउन दिइरहेका छैनन् । नदीलाई पुरानै धारमा फर्काउँदा चारवटा गाविस प्रभावित हुन्छन् । त्यसैले नदी फर्काउने कुरा भएपछि गाउँलेहरु आन्दोलनको चेतावनी दिन्छन् ।

हुलाकी सडक निर्माण कार्य भइरहेको छ । सोही अन्तर्गत उक्त नदीमा पुल बनाउने योजना पनि छ तर पुल बनाउने सुरसार अझै भएको छैन । नदी पार गर्दै गरेका वरियारपट्टीका रामेश्वर साहले भने, यो गाउँ (औरही) बाट पटकपटक मन्त्री भएका छन्, सांसद भएका छन् तर त्यो गाउँको नदीको यो अवस्था छ । हामीलाई हिँड्न लाज लाग्छ ।’

हुलाकी राजमार्ग भएका कारण दैनिक हजारौं मान्छे ओहोरदोहोर गर्छन् । पैदल हिँड्नेहरु पानीमा पस्नै पर्छ । त्यो नदीका कारण वरियारपट्टी र औरहीको सम्बन्धविच्छेद भएको छ । यताको गाडी उता जाँदैनन्, उताका गाडी यता आउँदैनन् । सार्वजनिक यतायात चल्दैन । नीजि गाडी लग्दा निकै समस्या झेल्नु पर्छ । साना टेम्पुहरु बेलाबखत लैजाने प्रयास नभएको होइन तर नदीमा पटक पटक फस्ने गर्छन् । मोटर साइकललाई पनि नदी पार गर्न मुस्किल हुन्छ ।

औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिलीप यादव भन्छन्, ‘नदीमा वडाबाट नै पुल बनाउने भनि बजेट छुट्याएको थिएँ तर गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले स्वीकृति नदिँदा बनाउन सकिएन ।’

नीजि स्तरबाट पुल बनाए पनि त्यसलाई गाउँपालिकाको तर्फबाट खरिद गर्न आफूले भनेको तर अध्यक्ष सिद्धार्थ यादवले नमानेको अध्यक्ष यादवको भनाइ छ । गत वर्ष पनि नीजि स्तरबाट कसैले पुल निर्माण गरेको र पछि त्यसलाई गाउँपालिकाले खरिद गरेर सञ्चालन गरेको उनले स्मरणसमेत गरे । यस पटक भने गाउँपालिका अध्यक्षले नमानेको उनले बताए ।

उनले भने, ‘हरि कामतले पुल बनाउनु भएको छ, उहाँलाई मन लाग्यो भने खोल्नुहुन्छ, मन लागेन भने खोल्नुहुन्न, त्यसले गर्दा सर्वसाधारणलाई निकै समस्या भएको छ ।’

कामतले पुल बनाउँदा गाउँपालिकाबाट अनुमति लिएको आफ्नो जानकारीमा नरहेको वडा अध्यक्ष यादवको भनाइ छ । यस विषयमा गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

समाजवादी पार्टी गाउँपालिका औरहीका अध्यक्ष शिवजी यादव भन्छन्, ‘यो पुलको विषयलाई लिएर गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवसँग पटक पटक कुरा गरियो तर कुनै सुनुवाई गर्नुभएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप