शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा कात्तिक नाच : युद्धकला मञ्चन हुँदै

बुधबार, २० कात्तिक २०७६, १४ : ४४
बुधबार, २० कात्तिक २०७६

ललितपुर– सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ । आज आयोजना हुने  पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी  युद्धकला देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताए । उनले भने, ‘सो नाचअन्तर्गत महादेव र कृष्णबीचको युद्ध पनि देखाइने छ ।’ सो नाचको दोस्रो चरणमा कामसेन राजा र विकटाक्षर राक्षसवीचको अर्को युद्धलाई नृत्यमार्फत मञ्चन गरिने  छ । 

युद्धकला नाचमा १६  कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो । गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याख, दोस्रो दिन भक्त सुरदास प्याखं र तेस्रो, चौथो र मङ्गलबार पाचौँ दिन बाथ प्याखँमा आधारित कानको कुण्डल बेच्ने तीन  दाजुभाइको विछोड भएपछि भोग्नुपरेकोे सुखदुःखले जीवनमा प्रेरणा मिल्ने र अन्तमा सबैभन्दा बाठो भनेको व्यक्ति नै  महामूर्ख हुने नाटक मञ्चित भएका नाटकको सार थिए  । 

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गर्नुभएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित कात्तिक नाचमा  विष्णुको अवतार, नृसिंह, राजा हीरण्यकश्यपु र विष्णुका भक्त प्रल्हादको कथामा आधारित भएर  प्रदर्शन गरिन्छ । ऐतिहासिक रुपमा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोेकेको सो नाचको गरिमा अहिलेम्मम उत्तिकै रहेको जानकारहरूको भनाइ छ । नाचको माध्यमबाट जीवनोपयोगी विभिन्न धार्मिक कुरालाई संवाद, नाटक र नृत्यको माध्मबाट प्रस्तुत हुँदै आएको  स्थानीय बृद्ध सूर्यमान डङ्गोलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप