लिभरपुल छनोट नजिक
बुधबार, २० कात्तिक २०७६, ०९ : ५७

साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणको छनोट नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको समूह ‘ई’ को खेलमा लिभरपुलले बेल्जियन क्लब जेन्कलाई २–१ गोलले हरायो ।
समूह चरणमा दुई खेल खेल्न बाँकी रहेको लिभरपुलले अब एक खेल जिते नकआउट चरणमा पुग्नेछ ।
लिभरपुललाई जिताउन जर्जिन्हो विजनाल्डमले १४औँ र एलेक्स अक्सलेड चेम्वरलेनले ५३औँ मिनेटमा गोल गरे । जेन्कका एमबीवाना समताले ४१औँ मिनेटमा सान्त्वना गोल गरेका थिए ।
जितसँगै लिभरपुलले चार खेलबाट नौ अङ्क बनाएको छ । लिभरपुल शीर्ष स्थानमा छ । एक अङ्क बनाएको जेन्क पुछारमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब नापोली र अष्ट्रियन क्लब साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । नापोली आठ अङ्कसहित दोस्रो स्थानमा छ । चार अङ्क बनाएको साल्जवर्ग तेस्रो स्थानमा छ ।