लेइपजिज र लियोनको सहज जित

एजेन्सी । जर्मन क्लब आरवी लेइपजिज र फ्रेन्च क्लब लियोनले च्याम्पियन्स लिग फुटबलमा जित निकालेका छन् ।
समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको खेलमा लेइपजिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई २–० गोलले हरायो । अर्को खेलमा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले पराजित गर्यो ।
लेइपजिजलाई जिताउन डिएगो डिमीले पहिलो हाफको इन्जुर समयमा खाता खोले । ६३औँ मिनेटमा मार्सेल सवित्जेरले दोस्रो गोल गरेका थिए ।
यसैगरी लियोनको जितमा जोचिम एन्डरसन चौथो, मेम्फिस डिपेले ३३औँ र बर्टरान्ड ट्राओरेले ८९औं मिनेटमा गोल गरे । बेन्फिकाका हरिस सेफरोभिकले ७६औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
यस समूहमा शीर्ष स्थानमा रहेको लेइपजिजले चार खेलबाट नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लियोनको सात अंक छ । चार अंक बनाएको जेनिथ तेस्रो तथा तीन अंक बनाएको बेन्फिका अन्तिममा छ ।