को हुन् अमिक शेरचन ?

चितवन– अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन् । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताएका उनी निर्भीक, निडर र इमान्दार पनि रहेका थिए । त्यही सादगी नेता शेरचन अहिले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त भएका छन् ।
वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मनुभएका बडिबहादुर र उमादेवीका छोरा उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा रहेका छन् । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताए ।
वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो ।
नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको जानकारी दिए । शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए । त्यसका केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका थिए । नेता भण्डारीका अनुसार वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।
एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए ।
वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यही प्रहरीलाई समेत कुटपिट गरेका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उनीसँग निकट रहेर राजनीति गरेका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताए । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य हुन् । शेरचनलाई भर्खरै सरकारले गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको पत्रविरुद्ध कानुनी उपचार खोज्छौँ: एनआरएनए
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी