शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ गठबन्धनभित्र खटपट : समाजवादी पार्टी दोधारमा

सरकार छाड्न उपेन्द्रलाई प्रधानमन्त्रीको ‘सुझाव’
मङ्गलबार, १९ कात्तिक २०७६, १७ : १९
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र खटपट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल समाजवादी पार्टीलाई व्यवहार सुधार्न चेतावनी दिएपछि सत्तारुढ गठबन्धनभित्रको खटपट सार्वजनिक भएको हो ।

प्रधानमन्त्री ओलीले समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकारमै रहेर सरकारको आलोचना गर्नु नैतिक हिसाबले उचित नहुने भन्दै आलोचना गर्ने हो भने सरकार छाड्न सुझाव दिएका हुन् । स्रोतका अनुसार सरकारमा रहेर आलोचना गर्ने प्रवृत्ति कायम राखेमा मन्त्रिपरिषद पुनर्गठनका क्रममा आफूले पनि सत्ता साझेदारीबारे पुनर्विचार गर्ने भन्दै प्रधानमन्त्री ओलीले यादवलाई सरकारबाट हटाउने संकेत दिएका हुन् ।

प्रधानमन्त्रीको यस्तो चेतावनीपछि समाजवादी पार्टी भने दोधारमा परेको छ । स्रोतका अनुसार उपप्रधानमन्त्री यादवले सरकारमै रहने वा सरकारबाट बाहिरिने भन्नेबारे तत्काल निर्णय लिन सकेका छैनन् । पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय लिने उनको योजना रहेको निकट सहयोगीले जनाएका छन् । यस विषयमा कात्तिक ३०–३१ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । सो बैठकमा राजपा नेपालसँगको एकताको विषयमा पनि छलफल हुनेछ ।

प्रदेश प्रमुखहरुलाई बर्खास्त गरिएकोमा समाजवादी पार्टीले आपत्ति जनाएको थियो । सो पार्टीका नेता डा. बाबुराम भट्टराईले ट्वीट गर्दै प्रदेशका गर्भनरको नियुक्ति÷बर्खास्ती दुवै वास्तविक संघीयताका मर्म विपरीत र दलीय रबर स्टाम्पका प्रतीक रहेको टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टी भएको छ, सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भीर बनौं, जनयुद्ध, मधेस÷जनजाति÷थारु÷दलित आन्दोलनकारी एक होऔँ ।’

प्रधानमन्त्री ओलीले सरकारका कामको प्रचार गर्न यसअघि कार्यकर्ताहरुलाई बारम्बार निर्देशन दिँदै आएका छन् । उनले मन्त्रीहरुलाई समेत सरकारका कामको बचाउ गर्न तथा सरकारविरुद्ध छरिएका भ्रम चिर्न निर्देशन दिने गरेका छन् ।

सरकारमा सामेल भए पनि समाजवादी पार्टीले सरकारको काम कारवाहीको पूर्ण समर्थन गरेको छैन । संविधान दिवस मनाउने क्रममा पनि समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश २ सरकारले अन्य प्रदेश सरकारको तुलनामा फितलो कार्यक्रम आयोजना गरेको थियो । जबकि संघीय सरकारले संविधान दिवस धुमधामका साथ मनाउने निर्णय गरेको थियो ।

‘सम्बन्ध बिग्रिएको छैन’

समाजवादी पार्टीका नेता डा. शिवजी यादवले प्रधानमन्त्रीसँग आफ्नो पार्टीको सम्बन्ध नबिग्रिएको दावी गरे । ‘अलग पार्टी भएपछि केही कुरामा फरक विचार देखिन्छ नै,’ रातोपाटीसँग उनले भने, ‘बाहिर हल्ला भएजस्तो होइन ।’

उनले संविधान संशोधन आफ्नो पार्टीको मुख्य शर्त रहेको प्रष्ट पार्दै संविधान संशोधन गर्नकै लागि सरकारमा समाजवादी पार्टी सामेल भएको बताए । प्रधानमन्त्रीले संविधान संशोधन हुँदैन भनेर नभनेसम्म आफ्नो पार्टीले सरकारमा सहभागिता जनाउने उनको भनाइ थियो । ‘संविधान संशोधन नहुने अवस्थामा हामी आफैं सरकारमा रहँदैनौं,’ उनले भने ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वास्थ्य मन्त्रालयको प्रगति विवरणप्रति सन्तुष्ट देखिएका छैनन् । स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन नटुंगिएको, नयाँ योजना बनाउन नसकेको र मन्त्रालयअन्तर्गतका निकायमा राजनीतिकरणलाई बढावा दिएकोमा प्रधानमन्त्री ओली स्वास्थ्यमन्त्री समेत रहेका उपप्रधानमन्त्री यादवसँग असन्तुष्ट बनेका हुन् ।

सरकार छाड्न राजपाको दबाब

समाजवादी पार्टीलाई सरकार छाड्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि उत्तिकै दबाब दिइरहेको छ । समाजवादी र राजपाबीच पार्टी एकताका लागि भइरहेका अनौपचारिक छलफलमा राजपाका तर्फबाट समाजवादी पार्टीसामु सरकार छाड्नुपर्ने शर्त राखिएको हो ।

राजपाको शर्तका सम्बन्धमा समाजवादी पार्टीभित्रै विवाद बढ्दो छ । एउटा पक्षले सरकार छाडेर राजपासँग पार्टी एकता गर्नुपर्ने धारणा राख्दै आएको छ भने अर्को पक्षले शर्त मानेर पार्टी एकताका लागि हतार गर्न नहुने अडान राख्दै आएको छ ।

सरकार छाड्नु परे पार्टी एकतालाई महत्व दिने

समाजवादी पार्टीले ओली नेतृत्वको सरकार छाड्नु पर्ने अवस्था आएमा राजपासँगको पार्टी एकतालाई महत्व दिने भएको छ । संघीय सरकारप्रति असन्तुष्ट रहँदै राजपा नेपालले यसअघि नै सरकारप्रतिको समर्थन फिर्ता लिइसकेको छ । समाजवादी पार्टी सरकारमा रहेकै कारण ऊसँग पार्टी एकताका लागि औपचारिक छलफल गर्नुको अर्थ नरहेको राजपा नेपालका केही नेताहरु बताउँछन् ।

प्रदेश २ मा पहिलो र दोस्रो राजनीतिक शक्तिका रुपमा स्थापित भएका यी दुई दलबीच एकता भएको अवस्थामाा अन्य प्रदेशमा पनि प्रभावशाली उपस्थिति हुने दुवै दलभित्रका एकथरी नेताहरुको विश्लेषण छ । त्यसैले पनि उनीहरु पार्टी एकता प्रक्रियालाई अनौपचारिक रुपमा अघि बढाउँदै आएका छन् ।

समाजवादी पार्टीले संघीय सरकार छाड्ने वा प्रधानमन्त्रीको चाहना बमोजिम सरकारलाई पूर्ण सहयोग र समर्थन जनाउँदै सत्ता साझेदारकै भूमिकामा रहने भन्नेबारे कात्तिक अन्तिम साता बस्ने पदाधिकारी र केन्द्रीय समिति बैठकले टुंगो लगाउने समाजवादी पार्टीका नेता शिवजी यादव बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप