शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

मङ्गलबार, १९ कात्तिक २०७६, १५ : २७
मङ्गलबार, १९ कात्तिक २०७६

डोल्पा– हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै यस्तो समस्यामा भोग्न बाध्य छ ।

आठै पालिकामा समस्या

यहाँका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने त्रिपुरासुन्दरी नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिन्छ । नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ मा पर्ने जीउ, सुँ र रङ गाउँमा एक दिन पालो पर्खेर छिकेकी नगरपालिकाको विद्युत् सेवा लिनुपर्ने बाध्यता छ ।

उक्त वडामा टावरले राम्रोसँग काम गर्दैनन् । भरपर्दो टेलिफोन सुविधा नहुँदा जनताले वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएको वडा नं ४ का अध्यक्ष श्रीदल बुढाले बताए । त्यसैगरी वडा नं ५ र ६ मा पर्ने ल्हाँ, फुल्चिङ र खदाङका नागरिक वर्षौ अघिदेखि अन्धकारमा छन् ।

पालङ गाउँमा बनेको खातीखोला जलविद्युत् अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेको स्थानीय मोती उपाध्यायले बताए । पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उनले बताए । 

नगर क्षेत्रको वडा नं ८ मा पर्ने खालीबन गाउँ र ११ मा पर्ने मुँ र बन्तडी गाउँमा फोन सुविधाको चरम समस्या रहेको छ । ठूलीभेरी नगरपालिकाको जुफालमा राखिएको टावरले काम नगर्ने भएकाले त्यहाँका नागरिक वर्षौंदेखि सञ्चार सास्ती खेप्दै आएका छन् । ‘सिङ्गो गाउँमा कतै पनि फोन टिप्दैन, फोनमा कुरा गर्न हात घुमाउँदै गाउँदेखि दश मिनेट हिँडेर डाँडामा आनुपर्छ, घरमै फोन नलाग्दा साह्रै समस्या भएको छ’, खालीवनका स्थानीयवासी विष्णु गुरुङले गुनासो गरे ।

‘हामीलाई अन्य विकास चाहिँदैन, सरकारलाई टेलिफोन टावर बनाइदिन माग गर्छौं’, उनले भने । कोही बिरामी पर्दा, महत्वपूर्ण खबर रातिको समयमा गर्नुपर्दा साह्र समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । स्थानीयस्तरमै निकालिएको १०० किलोवाटको लघु जलविद्युत्का कारण बत्तीको सुविधा राम्रो भएको स्थानीयवासीको भनाइ छ । 

नगरपालिका कार्यालय नै सञ्चारविहीन

त्रिपुरासुन्दरी नगरपालिका कार्यालय रहेको वडा नं १ बगर क्षेत्रमा टेलिफोन लाग्दैन । नगरपालिको आफ्नै टावर नभएकाले छिमेकी नगरपालिकामा राखिएको टावरले काम नगरेपछि नगरपालिका कार्यालयनै सञ्चारविहीन छ । अझै पनि नगरपालिका आसपासका नागरिक फोन गर्नका लागि घरदेखि माथिपट्टी पुग्नुपर्ने बाध्यता छ ।

‘लाजमर्दो कुरा नगरपालिका कार्यालयमै टावर टिप्दैन तर पनि नगरपालिकाको ध्यान गएको छैन, नागरिक वर्षौंदेखि फोनको समस्या झेल्न बाध्य छन्’, स्थानीयवासी पुर्णकेशर न्यौपानेले भने । ‘नगर क्षेत्रमा टावर राख्ने भनेर बोलपत्र भएर ठेकेदारले जिम्मा लिइसक्दासमेत टावर निर्माणमा शीघ्रताका लागि ताकेता भएको छैन’, उनले भने । नगरपालिका कार्यालयनै सञ्चारविहीन भएको कुरामा बारम्बार ध्यानाकर्षण गराउँदासमेत कसैले चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

वडा नं १ र २ मा विद्युत्को पनि चरम समस्या छ । नगरपालिका कार्यालयको नजिकको दूरीमा रहेको छलगाड लघु जलविद्युत् आयोजना आज हो कि भोलि भन्ने अवस्थामा छ । कमजोर बाँध र कम क्षमताको उपकरणले गर्दा पटक–पटक अवरुद्ध हुने गर्दछ । हिँउदमा कम पानी भएर र वर्षात्मा खोला बडेर अवरुद्ध हुने गर्दछ ।

नगरपालिकाले नै प्रयोग गर्ने विद्युत्को हालत नाजुक भइसक्दासमेत सुधारका लागि कसैले चासो नदिएको स्थानीयवासी बताउँछन् । विद्युत्को अवस्था नाजुक भएकै कारण बेलुकी ६ बजेदेखि ११ बजेसम्म मात्रै बत्ती आउने गर्छ भने दिनमा बत्तीनै आउँदैन् ।

ठूलीभेरीमा विद्युत्को चरम समस्या

सदरमुकाम दुनैसहित जोडिएको ठूलीभेरी नगरपालिकाको जैरीगाड जलविद्युत् आयोजनाको भर छैन । वर्षमा दर्जन धेरै पटक अवरुद्ध भइराख्ने भएकाले अधिकांश समय नागरिक अन्धकारमै बस्ने गर्दछन् । नहर निर्माण गरिएको भूगोल कमजोर भएकाले सुक्खा पहिरोले बारम्बार विद्युत् अवरुद्ध गर्ने गर्छ । स्थानीय प्रदेश हुँदै केन्द्रसम्म नगरप्रमुख, सांसददेखि मन्त्रीसम्म भए पनि विद्युत्को अवस्था सुधारका लागि कसैको पनि ध्यान नगएको दुनैका स्थानीयवासीको गुनासो छ । 

जगदुल्ला मुड्केचुलामा सञ्चार र विद्युत्को समस्या

तल्लो डोल्पाअन्तर्गत पर्ने जगदुल्ला मुड्केचुला गाउँपालिकामा विद्युत् र सञ्चारको चरम समस्या रहेको छ । जगदुल्ला गाउँपालिकामा सञ्चारको सुविधा राम्रो भए पनि विद्युत्को चरम समस्या रहेको छ । विद्युत् नहुँदा गाउँपालिका कार्यालयनै सौर्य ऊर्जाको भरमा चलेको छ । बाँदल लाग्दा सोलारले काम नगर्ने भएकाले काम गर्न साह्रै समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डेले जानकारी दिए  ।

हुरीकोटमा उत्पादन गरिएको विद्युत्ले हुरिकोट, थापागाउँ र चौरीकोट गाउँ झिलीमिली भए पनि नजिकै जोडिएका झ्याकोट र रिमी गाउँमा अन्धकारमा छन् । छिमेकी गाउँसम्म आएको विद्युत् विस्तारका लागि पहल गरे पनि विद्युत् समितिले नमानेको झ्याकोटका स्थानीयले गुनासो गरे । कादुरी नामको संस्थाले निश्चित गाउँका लागि मात्रै उत्पादन गरेकाले क्षमताले नभ्याउने बताउँदै विद्युत् विस्तार नगरिएको विद्युत् समितिले जनाएको छ ।

त्यसैगरी मुड्केचुला गाउँपालिकाको नर्कुबाहेक कालिका, शर्मी, ओक्ट होर्तलगायतका गाउँमा बत्तीको सुविधा छैन । गाउँपालिकाको अधिकांश क्षेत्रमा बत्तीको सुविधा नहुँदा हुनेखानेमात्र सोलाको उज्यालोेमा बसेका छन् भने आर्थिक अवस्था कमजोर नागरिक अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् सेवा उपलब्ध गराइदिन हिजोदेखि आजसम्म स्थानीय सरकार, माननीय मन्त्रीहरुलाई गुनासो गरे पनि सुनुवाइ नभएको शर्मीका स्थानीयवासीको गुनासो छ । मुड्केचुलामा सञ्चारको अवस्था अझ भयावह छ । टेलिफोन सुविधा नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् ।

सूचना आदानप्रदान गर्न त्यहाँका नागरिक अग्लारुख र पहाड उक्लदै ठिक्क छन् । भएको टावरको स्याटलाइट चाइनाले बन्द गरिदिएपछि गाउँपालिका नै दुई सातादेखि सञ्चारविहीन भएको छ ।

काइकेमा सञ्चारको समस्या

त्यसैगरी काइको गाउँपालिकामा सञ्चारको चरम समस्या छ । भएको टेलिफोन टावर दुई सातादेखि अवरुद्ध भएपछि सञ्चारको समस्या भएको हो । चीनले स्याटलाइट बन्द गरेपछि यहाँको टेलिफोन टावर अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष अगंत रानाले बताए ।

काइकेमा गाउँपालिकामा विद्युत्को पनि चरम समस्या छ । लामो समयदेखि निर्माणाधीन ५० किलोवटाको ब्यासगाड लघु जलविद्युत्, पन्ध्र किलोवाटको छेयकाम लघुलविद्युत् आयोजना त्यसै अलपत्र परेका छन् । विद्युत्को सुविधा नहुँदा शहरतारा, गुम्बातारा, टुप्पातारा, खानीकोलालगायतका गाउँ वर्षौंदेखि विद्युत् सेवाविहिन छन् । हुनेखानेले सोलार जोडेका छन् भने कमजोर आर्थिक अवस्था भएका स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन् ।

उपल्लो डोल्पामा विद्युत्को समस्या

उपल्लो डोल्पाका स्थानीय तहमा सञ्चारको समस्या समाधान भएको छ । उपल्लो डोल्पाका फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकामा विभिन्न ठाउँमा नमस्तेका मोबाइल टावर निर्माण भएपछि वर्षौंदेखिको टेलिफोन असुविधा हटेको हो ।

सञ्चारको सुविधा सुधार भए पनि विद्युत्को समस्या भने जिउँका तिउँ रहेको छ । उपल्लो डोल्पाका कुनै पनि स्थानीय तहमा विद्युत्को सुविधा छैन । विद्युत् नभएपछि सम्पूर्ण नागरिक सोलारको भरमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप