बोटमा बालानै नलागेपछि धमाधम फडानी गर्दै किसान, हाइब्रिडको नाममा धानको नक्कली बीउ
काठमाडौं । धानको बोटमा बाला नलागेपछि किसानहरुले धमाधम नष्ट गरेका छन् । तराई तथा भित्री मधेसका १२–१३ जिल्लामा लगाएको हाईब्रिड जातको धान बालीमा दाना (बाला) नै नलागेपछि किसानहरुले बाली नष्ट गरेका हुन् ।
चितवन, नवलपरासी, बाँके बर्दिया, कन्चनपुर लगायतका जिल्लामा लगाइएको धानमा यस्तो समस्या देखिएको हो । यी क्षेत्रको करिब ४–५ सय हेक्टर क्षेत्रफलमा किसानहरुले ‘गरिमा’ नाम गरेको हाइब्रिड धान लगाएका थिए ।
हाइब्रिड बीउ भन्दै लगाइएको गरिमा जातको धानमा तोकिएको समय बितिसक्दा बाला नलागेपछि किसानहरु हरियो धान मासेर जग्गा खाली गर्न बाध्य भएका हुन् । धान पाक्ने र बटुल्ने बेला भइसक्दा समेत बाला नलागेपछि बाध्य भएर बाली फँडानी गर्नु परेको पीडित कृषकहरुको भनाइ छ ।
‘उन्नत जातको, छिटो पाक्ने र राम्रो धान भनेर हाइब्रिड धान लगाइयो । मलजल, गोडमेल पनि गरियो । तर उब्जनी गर्ने बेला धानमा बाला नै लागेन,’ पीडित कृषक रामनाथ केसी भन्छन्, ‘तैपनि बाला लाग्ला कि भनेर कटानी गर्ने समयसम्म कुरियो तर बाला लाग्ने कुनै छाँट देखिएन । त्यसैले यो बाली त बिग्रियो–बिग्रियो, अर्को बाली समेत नबिगारौं भनेर हरियो धान फँडानी गरिदिएँ ।’
गरिमा जातको धान रोपेको १२५ देखि १३५ दिनभित्र पाक्छ र कटनी गर्न सकिन्छ । तर धान रोपेको १४०–१५० दिन बित्दासमेत धानले बाला नलिएको पीडित कृषकहरुको भनाइ छ । धानको बीउमै आफुहरु ठगिएको कृषकहरुको आरोप छ ।
धान फलेर कटानी गर्ने बेला भइसक्दा पनि उब्जनीविना थुप्रै कृषकले धानको बोट नै फँडानी गरेका छन् । गरिमा धानमा बाला नलागेपछि किसानहरुले धमाधम हरियोमै काटेर जमिन खाली गराएका छन् ।
यता, धान बाली विज्ञ भोलामान सिंह बस्नेत यो घटनामा धानको बीउमै बदमासी भएको बताउँछन् । २ वर्षको परीक्षणपछि मात्र स्वीकृति गरिएको धानमा यस्तो समस्या नआउने तर बीउमै बदमासी भएकोले यस्तो समस्या आएको उनको भनाइ छ ।
‘हाइब्रिडमा गरिमा जातको धान नेपालमा २ वर्ष परीक्षण पश्चात लगाइएको धान हो । २०७०–०७१ मा यसको परीक्षण भएको थियो । सफल परीक्षण पश्चात नै यो धान कृषिका लागि योग्य मानिएको हो र लगाइएको हो,’ उनले भने, ‘सुरुका वर्षहरुमा यसको राम्रो उब्जनी भएको थियो । अहिले आएर एक्कासी यस्तो कसरी भयो ? यसमा धानको बीउमै बदमासी देखिन्छ ।’
बस्नेतका अनुसार आफुले उत्पादन गरेको हाइब्रिड धानबाट बिउ निकाल्न सकिदैन । यसका लागि नयाँ बीउ नै किन्नु पर्छ । अहिले बिग्रिएको धानको बीउ भारतबाट खरिद गरेर ल्याइएको हो ।
गरिमा भारतीय कम्पनी रिनोभा सिड्स साइन्स इन्डिया प्रालिको उत्पादन हो । नेपालमा भने लमही (दाङ)को सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालिले यो धान भित्र्याएको हो । बढि प्रभावित क्षेत्र चितवन र यसका आसपासका क्षेत्रहरुमा भने आधिकारिक विक्रेता पर्सा खुरखुरेमा रहेको प्रशान्त एग्रोभेटले बिउ उपलब्ध गराएको थियो ।
अहिले धानको बीउनै नक्ली भएको ठहर भएको छ । यतिखेर धान खेती परीक्षण र क्षतिको मूल्यांकन गर्न गठित सरकारी टोलीसहित सरोकारवाला निकायहरुले चितवनमा स्थलगत अध्ययन सुरु गरेका छन् । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको टोलीले आइतबार र सोमबार चितवनमा फिल्डमा नै गएर यथार्थ विवरणहरु संकलन गरिरहेको छ ।
बढी प्रभावित चितवनबाट सुरु गरिएको अनुसन्धान तथा मुल्यांकन अन्य प्रभावित जिल्लाहरुमा पनि गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।
सबै जिल्लाको विवरण संकलन सकिएपछि एकमुष्ट निर्णय गरेर किसानहरुलाई राहत दिइने चितवन भरतपुरमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले रातोपाटीलाई जानकारी दिए । डीएनए परीक्षणबाटै गरिमाको नाममा गलत बीउ बेचेको पक्का भएपछि विक्रेतालाई कारबाही र किसानहरुलाई क्षतिपूर्ति दिलाउने प्रकृया सुरु भएको विभागले जनाएको छ ।
चितवनसहित नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र लमजुङमा गरेर देशका ८ जिल्लामा गरिमा नाम गरेको धान रोपेको पत्ता लागेको छ । अन्य ४–५ जिल्लामा पनि यो धान लगाइएको विवरण आउन थालेको विभागले बताएको छ । पछिल्लो समय नुवाकोटमा पनि यो धान रोपेको जानकारी आएको छ ।
कृषि ज्ञान केन्द्र चितवनले यसअघि प्रारम्भिक विवरण संकलन गरेको थियो । कार्यालयका अनुसार चितवनमा सबैभन्दा धेरै राप्ती नगरपालिकामा ३७८ बिघामा गरिमा धान लगाइएको छ । त्यसपछि खैरहनीमा १६८ बिघा चार कट्ठा, रत्ननगरमा १३५ बिघा, माडीमा ११० बिघा, भरतपुर महानगरपालिकामा ८५ बिघा र कालिका नगरपालिकामा ३० बिघा पाँच कठ्ठामा गरिमा धान रोपेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन