‘दाँत केश र नङ् आफ्नो ठाउँमा मात्र सुहाउँछ, ठाउँ छोडेपछि नराम्रो देखिन्छ’
सामन्ती संस्कार र संस्कृतिमा चलिआएका भाषिक, व्यावहारिक आचारगत शीर्षाशनहरूलाई उल्ट्याएर खुट्टाले दह्रोसँग टेकाउँदै हिँडाउँदै समाजलाई उत्तरोत्तर उज्यालोतिर अघि बढाउन अन्य विभिन्न प्रयत्नका अतिरिक्त हामीले हाम्रा बालबालिकामाथि पनि विशेष ध्यान दिनैपर्छ । बालबालिकाहरू अबोध र जिद्दी हुन्छन्, तिनीहरूलाई मायाका नाममा थर्काएर तह लाउनुपर्छ भन्ने सोच बदल्नै पर्छ । सत्ताले जनतालाई अन्जान बालबालिका ठान्ने र हेप्नेचेप्ने चलन बदल्नैपर्छ ।
सामन्ती शीर्षासनमा उभिएको ‘ठूलालाई आदर सानालाई माया’ भन्ने अर्ध–नगदी र अर्ध–उधारो ‘जाली सूत्र’ पन्छाएर ‘ठूलालाई माया र सानालाई आदर’को लोकतान्त्रिक तथा गणतान्त्रिक सूत्र उपयोगमा ल्याउनुपर्छ । तपाईं सानालाई आदर गरेर हेर्नुहोस्, तिनले तपाईंलाई विशेष माया गर्छन् । तपाईं राज्यसत्तामा हुनुहुन्छ त आबालवृद्ध सबै जनतालाई आदर गर्नुहोस् । तपाईं गृहसत्तामा हुनुहुन्छ त बालबालिकालाई आदर गर्नुहोस् । आदर पाएकाले आदर दिनेलाई माया गर्छन् । सानालाई अर्थात् बालबालिकालाई आदर गर्नु तिनीहरूलाई आदरको संस्कृति हस्तान्तरण गर्नु पनि हो ।
*******
आदर पाएकाले आदर दिनेलाई माया गर्छन् । सानालाई अर्थात् बालबालिकालाई आदर गर्नु तिनीहरूलाई आदरको संस्कृति हस्तान्तरण गर्नु पनि हो ।
*******
ठूलालाई माया गर्ने संस्कृति समाजमा आत्मसात् गर्न गराउन सकियो भने मुलुक साँच्चिकै वृद्धाश्रम बन्नुबाट अझै जोगिन सक्छ । सानालाई आदर र ठूलालाई मायाको संस्कार बसाल्न सकियो भने समाजमा आदर सम्मान र मायाममता हातेमालो गरेर सँगसँगै हिँड्न थाल्छन् । आजसम्म सँगै हिँड्न पाएका छैनन् । सामन्ती सत्ताको गजुर ढलेपछिका बिगत ३० वर्षमा नयाँ पुस्ताले पुराना पुस्ताबाट आदर पाउने र पुराना पुस्ताले नयाँ पुस्ताको माया पाउने संस्कार संस्कृतिले जरो गाड्न सकेको भए आज नेपाल निरीह बुढाबुढीहरूको देश बन्ने थिएन । मुलुकको प्रतिभा र ऊर्जा विदेश पलायन हुने थिएनन् ।
*******
सामन्ती सत्ताको गजुर ढलेपछिका बिगत ३० वर्षमा नयाँ पुस्ताले पुराना पुस्ताबाट आदर पाउने र पुराना पुस्ताले नयाँ पुस्ताको माया पाउने संस्कार संस्कृतिले जरो गाड्न सकेको भए आज नेपाल निरीह बुढाबुढीहरूको देश बन्ने थिएन ।
*******
हामीकहाँ ‘तिमी’ ‘तपाईं’ समस्या होइन । सबैले स्वीकारेर चलाउने हो भने तिमीले तपाईंको भन्दा बढी आदरबोध दिन पनि सक्छ । भाषा यादृच्छिक अर्थावलम्बी ध्वनिसमूह मात्र हो । भाषाका शब्दहरूमा समयक्रममा अर्थोत्कर्ष, अर्थापकर्ष र अर्थान्तर जे पनि हुनसक्छ । अहिले यहाँ हाम्रोमा समस्या त विभेद–चिन्तनको हो । प्रधानमन्त्री स्वयम् रोष व्यक्त गर्दै भन्नुहुन्छ, समाजका ठूलाबडालाई सानाले सामान्य बालबालिकालाई जस्तै गरी तिमी सम्बोधन गर्ने ? यो हाम्रो परम्परागत संस्कृति होइन ।
*******
हामीकहाँ ‘तिमी’ ‘तपाईं’ समस्या होइन । सबैले स्वीकारेर चलाउने हो भने तिमीले तपाईंको भन्दा बढी आदरबोध दिन पनि सक्छ ।
*******
हो, प्रधानमन्त्रीको कुरा पनि परम्परागत कोणबाट हेर्दा ठीक हो । हाम्रो परम्परागत संस्कृति ठूलाले सानालाई हेप्ने, चेप्ने र तँ तिमी सम्बोधन गर्ने संस्कृति हो । सानाले ठूलालाई ज्यू, तपाईं हजुर भन्नुपर्ने संस्कृति हो । वर्ग, वर्ण, पद, ओहदा, आदिका आधारमा ‘साना’ र ‘ठूला’लाई रुढार्थ प्रदान गरिएको संस्कृति हो । सुरक्षा निकायहरूमा आज पनि यसै संस्कृतिको वर्चस्व छ । प्रश्न गरियो भने अफिसरहरू भन्छन्, कमान्ड कसरी फेर्ने ? गोडा फाट् नभनेर गोडा फाट्नुहोस् भन्ने ?
हो, समस्या यहीँ छ । समस्या भाषामा छैन । चेतनामा छ । संस्कृतिमा छ । यथास्थितिको पक्षधरतामा छ । भाषा त संस्कृतिको वाहक मात्र हो । वाहन समस्या होइन, वाहनमाथि सवारको मानसिकता समस्या हो ।
पहिलेका घाघडान लोकप्रिय कम्युनिस्ट र अहिलेका सम्माननीय प्रधानमन्त्री महोदयले परम्परागत विभेदपरक सामन्ती संस्कृतिलाई मर्यादाको संस्कृति ठानिदिनु भयो । आफू र आफ्ना विगतका सपना बिर्सँदै परम्पराका आधारमा उभिएर परम्पराकै आँखा कान र मनले लोकतान्त्रिक गणतन्त्रलाई कृतकृत्य गराउन खोज्नुभयो । गल्ती यहीँनिर भएको छ ।
हामी जनताका पक्षधर लेखकहरू स्वभावतः जनताप्रति आदर र कृतज्ञताका संस्कृतिको पक्षधर हौँ । ‘तपाईं’ संस्कृतिको पक्षधर हौँ । दशकौँदेखि म आफैं पनि यसको वकालत गर्दै आएको छु । वरिष्ठ साहित्यकार शान्तदास मानन्धरको सम्पादकत्वमा प्रकाशित हुने बाल साहित्यिक पत्रिका ‘बालकोसेली’को संस्थागत नेतृत्वमा हामीले बालसाहित्यमार्फत विभिन्न फोरमहरूमा पुगेर बालबालिकालाई ‘तपाईं भनौँ’ भन्ने अभियान नै चलाएका हौँ । कतिपय टीभी च्यानलले पनि यसमा साथ दिएका हुन् । हरेक सम्बोधनमा हामी आदारबोध र सशक्त तर्कका साथ तपाईंको पक्षधर रहिआएका हौँ । बालबालिकालाई तपाईं भनौँ भन्नुको तात्पर्य सबैले सबैलाई तपाईं भनौँ भन्नु पनि हो । सारमा यो भाषामा समाजवादी संस्कृतिको पक्षधरता हो । वकालत हो । प्रधानमन्त्रीले जब सानालाई तिमी र ठूलालाई तपाईंको निर्देशन दिन खोज्नुभयो मैले सबैलाई तिमी भन्न सजिलो छ भन्ने तर्क अघि सारेँ । मिडियामा ‘तिमी’ समानताको पक्षधरता हो भन्ने तर्क अघि सारेँ । मैले यसरी बोल्नुपर्ने बाध्यता अनुभूत गरेँ ।
नेपालीको तिमी अङ्ग्रेजीको यु होइन । अङ्ग्रेजीमा पनि द्वितीय पुरुष बोधक सर्वनाम यु मात्र छैन । हाम्रो बोलीको मापक अङ्ग्रेजी नै हुनुपर्छ भन्ने पनि होइन । हाम्रा वर्तमान प्रधानमन्त्री अङ्ग्रेजी राम्रो बोल्नुहुन्छ । नेपाली अझ राम्रो बोल्नुहुन्छ । नेपाली उखान टुक्काको त पारङ्गत विद्वान् नै हुनुहुन्छ । उखानटुक्का पनि सांस्कृतिक सम्पदा हुन् । यसो भन्दैमा सामन्तकालीन उखानटुक्का सबै गणतन्त्रका पथप्रदर्श बन्न त सक्दैनन् । बुढापाकाहरू भन्छन्, ‘दाँत केश र नङ् आफ्नो ठाउँमा मात्र सुहाउँछ । ठाउँ छोडेपछि नराम्रो देखिन्छ ।’ अहिले हाम्रा सत्तासीनहरूले आफूलाई राजाका ठाउँमा ठानेर नै तिनका भाषिक सांस्कृतिक आकाङ्क्षाहरू समय नसुहाउँदा भएका हुन् ।
*******
बुढापाकाहरू भन्छन्, ‘दाँत केश र नङ् आफ्नो ठाउँमा मात्र सुहाउँछ । ठाउँ छोडेपछि नराम्रो देखिन्छ ।’ अहिले हाम्रा सत्तासीनहरूले आफूलाई राजाका ठाउँमा ठानेर नै तिनका भाषिक सांस्कृतिक आकाङ्क्षाहरू समय नसुहाउँदा भएका हुन् ।
*******
लोकतन्त्रमा आपसमा बोलिने बोलीका शब्दहरूलाई पनि लोकतान्त्रिक बनाइनुपर्छ । आचार व्यवहार सबै लोकतान्त्रिक बनाइनुपर्छ । नत्र सामन्ती तन्त्रमा र लोकतन्त्रमा आधारभूत फरक नै के रहन्छ र ? वयोवृद्ध राजनेता बीपी, गणेशमान, कृष्णप्रसाद र मनमोहनलाई युवा राजाले तिमी भन्ने संस्कृति र अहिले प्रधानमन्त्रीले निर्माण गर्न खोजेको संस्कृतिमा आधारभूत फरक के नै बाँकी रहन्छ र ? “आफूभन्दा ठूलालाई पनि तिमी भन्ने ?” प्रधानमन्त्रीको यस आक्रोशमा के व्यक्त हुन्छ ? युगान्तर बोकेर आएको गण्तन्त्रमा अब पनि समाजमा ठूलासानाको आग्रह नै किन ? गणतन्त्रमा पनि विगतका सामन्ततन्त्रमा जस्तै हाकिमले कर्मचारीलाई सानै मान्नुपर्ने, शासकले जनतालाई सानै मान्नुपर्ने, लोग्नेभन्दा स्वास्नी सानै मानिनुपर्ने, बाउभन्दा छोराछोरी सानै मानिनु पर्ने, वयस्कभन्दा बालबालिका सानै मानिनु पर्ने भन्ने हुन्छ र ? सबैले सबैलाई समान सम्बोधनबाट आदर गर्दा संस्कृतिमा भूकम्प नै जाने त होइन ।
साँच्चै भन्ने हो भने सामन्ती संस्कृतिमा भूकम्प जानै पनि परेको छ । पुराना स्थापत्यहरू नढले नयाँ स्थापत्यहरू कसरी उभिन्छन् ? सामन्ती संस्कृति नढलेसम्म गणतान्त्रिक संस्कृति उठ्न, उभिन सक्दैन । यसैले भाषाबाट मात्र होइन सामाजिक सांस्कृतिक आर्थिक राजनीतिक हरेक क्षेत्रबाट सामन्ती रीतिस्थिति र व्यवहार ढालौँ, बढारौँ । टाउकाले टेकिआएको संस्कृतिलाई सुल्ट्याएर खुट्टाले टेकाऔँ । यो बरु आजको आवश्यकता हो ।
*******
भाषाबाट मात्र होइन सामाजिक सांस्कृतिक आर्थिक राजनीतिक हरेक क्षेत्रबाट सामन्ती रीतिस्थिति र व्यवहार ढालौँ, बढारौँ । टाउकाले टेकिआएको संस्कृतिलाई सुल्ट्याएर खुट्टाले टेकाऔँ ।
*******
प्रधानमन्त्रीज्यूले त आदरपूर्ण सम्बोधन सबै नागरिकको अधिकार हो । बालबालिकाको पनि अधिकार हो । हामी आदरपूर्ण संस्कृतिको जग बसालौँ । सबैले सबैलाई तपाईं भनौँ । कसैलाई कसैले तँ तिमी नभनौँ भन्नुपर्थ्यो। प्रधानमन्त्रीले सम्बोधनमा ठूलासानाका कुरा उठाएपछि गणतान्त्रिक चेतलाई सह्य नहुनु स्वाभाविक छ । हैन र ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय