नेकपादेखि साझा पार्टीसम्मले उम्मेदवार टुंगो लगाउँदा काँग्रेस बन्यो एक्लो !

काठमाडौँ । आगामी मंसिर १४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसबाहेक अन्य मुख्य दलले उम्मेदवारी टुंगो लगाएका छन् ।
प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा निर्वाचन हुँदैछ भने प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नम्बर २ (ख), भक्तपुर क्षेत्र नम्बर १ (क) र दाङ क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि नेकपा, साझा पार्टी, राप्रपालगायतका दलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेको भएपनि काँग्रेसले भने हालसम्म उम्मेदवारको टुंगो लगाउन नसकेको हो ।
उम्मेदवार चयनका लागि काँग्रेसले आइतबार पदाधिकारी बैठक बोलाएको भएपनि उपसभापति विजयकुमार गच्छदारसहितका नेताहरु उपस्थित नभएपछि बैठक मंगलबारसम्मका लागि तय गरिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबारको बैठकले उम्मेदवारको टुंगो लगाउने बताए ।
विशेषगरी उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा र काँग्रेसबीच नै प्रतिस्पर्धा हुने ठानिएको छ । यस्तै साझा पार्टीको समेत प्रभावशाली उपस्थिति रहन सक्ने बताइन्छ ।
नेकपाको आइतबार बसेको सचिवालय बैठकले कास्की क्षेत्र नम्बर २ मा स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई टिकट दिने निर्णय गरेको छ ।
यस्तै बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने नेकपाको निर्णय छ ।
यस्तै दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी साझा पार्टीले कास्की–२ मा रजनी केसी, भक्तपुर १ (क)मा सुरज प्रधान र दाङ–३(ख) मा शिव चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। साझा पार्टीले बागलुङमा भने उम्मेदवार घोषणा गरेको छैन ।
यस्तै राप्रपाले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ ।
आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुमा उम्मेद्वारको तय गरेको हो । जसअनुसार राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको श्रेष्ठले जानकारी दिए । यस्तै अन्य साना पार्टीले पनि उम्मेदवार घोषणा गरेर प्रचार प्रसार थालेका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आगामी कात्तिक २१ गते मनोनयन गर्दाको मिति तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
-
नेकपा बहुमतद्वारा तीनकुनेमा सरकार र राजावादीको अमानवीय व्यवहारको निन्दा
-
एउटा फरक र्याम्प वाक, तस्बिरहरू
-
वीरगञ्ज बालसुधार गृहमा तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित