महरा प्रकरण : पीडित ‘होस्टाइल’ भएपनि सजाय हुने सर्वोच्चको एउटा यस्तो नजिर
काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि लागेको जवरजस्ती करणी उद्योगको मुद्दामा सोमबार पनि थुनछेक बहस चलिरहेको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंले महरासँग बयान लिएको थियो ।
त्यसपछि आइतबार सरकारी वकिल पक्षका ४ जनाले वादी नेपाल सरकारको तर्फबाट महराको अभियोग पुष्टि गर्ने प्रयासस्वरुप बहस गरे ।
आइतबारै महराको तर्फबाट वरिष्ठ अभिवक्ता लवप्रसाद मैनालीले पनि बहस गरे । यद्यपि समय अभावका कारण सबै अधिवक्ताले बहस गर्न नपाएको कारण आइतबार महराविरुद्धको थुनछेक बहस सकिएन र थुनछेक बहस सोमबार पनि जारी नै रहेको हो ।
सोमबार महराविरुद्ध भएको बहस उनलाई थुनामा नै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विषयमा मात्रै हो । मुद्दाको फैसला आउन भने अझै लामो समय लाग्ने नै छ ।
महरामाथि ‘जबरजस्ती करणीको प्रयास’ गरेको आरोप लगाउने महिला (नयाँ बानेश्वर २६) ले मिडिया तथा प्रहरीमा पटकपटक फरकफरक बयान दिएकी छिन् । उनको बयान फेरिँदा अब अदालतले के र कसरी फैसला गर्ला भन्ने चर्चा पनि चुलिएको छ ।
कतिपयले पीडित महिला ‘होस्टाइल भएको’ अर्थात् बिकेको, धम्काएको आदि बताइरहेका छन् भने कतिपयले चाहिँ महिलाको मानसिक अवस्था स्वस्थकर नरहेको कारण ययरी बयान फेरिरहेको बताएका छन् ।
यद्यपि पीडित महिलाको बयानबाजीमा आएको परिवर्तनले यो मुद्दालाई जटिल भने बनाइदिएकै छ । पीडित भनिएकी महिलाले नै न्यायाधीशसमक्ष बयान गर्दा जाहेरीमा उल्लेख भएको भन्दा फरक बयान दिइन् भने अदालतले यसलाई कसरी हेर्ला भन्ने धेरैले प्रश्न गरेका छन् ।
सर्वोच्च अदालतकै एक नजिर हेर्ने हो भनेचाहिँ पीडित होस्टाइल भएको अवस्थामा पनि पीडकलाई सजाय भएको देखिन्छ ।
२०६७ साल असार ३२ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रेम शर्मा र रणबहादुर बम रहेको संयुक्त इजलाशले जबरजस्ती करणी मुद्दामा पीडित होस्टाइल भइ बयान फेरे पनि पीडकलाई सजाय सुनाएका छन् । पीडकले एक वर्षपछि पीडितसँग विवाह गरी श्रीमान् श्रीमती बनेपछि घटना भएको समयमा बलात्कार नै भएको भन्दै पीडकलाई ५ वर्षका सजाय सुनाएका छन् ।
यस्तो छ सर्वोच्चको नजिर
सर्वोच्च अदालतमा २०६४ सालमा एउटा पुनरावेदनको रिट पर्यो । जवरजस्ती करणीको मुद्दामा जिल्ला अदालत सिन्धुली र पुनरावेदन अदालत जनकपुरले प्रतिवादीलाई सफाइ दिएको भन्दै सो सफाइ कानुनसम्मत नदेखिएको जिकिर गर्दै सरकारकै तर्फबाट पुनरावेदन भयो ।
सिआर–०५६८ नम्बरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा प्रतिवादीले सफाइ पाएपछि सरकार आफै पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेको थियो ।
सोही मुद्दामा सर्वोच्च अदालतले करिब ३ वर्षपछि फैसला सुनाउँदै पीडितले बयान फेरेपनि वा बलात्कारपछि विवाह गरेको भएपनि घटना भएको समयमा त्यो बलात्कार नै भएको भन्दै दोषीलाई ५ वर्षको कैद सजाय सुनाएको थियो ।
यस्तो थियो घटना विवरण
२०६० साल माघ २४ गते राति ९ बजे साविकको सिन्धुली जिल्ला टाँडी गाउँ विकास समिति वडा नम्बर ६ माथिल्लो धनसरीका रविन भन्ने नारायण पाडेल खत्रीले सोही स्थान बस्ने २० वर्षीय युवती (परिवर्तित नाम समयकुमारी)लाई बलात्कार गर्छन् । स्वस्थानी पूजाको साङ्गे गरेको दिन प्रसाद बाँड्ने क्रममा क्यासेट बजाइ नाजगान गरिरहँदा क्यासेट बिग्रिएकाले सल्लाहमै स्थानीय प्रकाश बस्नेतको घर जान्छन् । प्रकाश र समयकुमारीसँगै प्रकाशका भान्जा नारायण पौडेल र अर्की महिला कृष्ण कुमारी पनि सँगै गएका थिए ।
तर जब उनीहरु प्रकाशको घरमा पुगे, प्रकाश क्यासेट लिन पछि घरभित्र छिरेलगत्तै प्रकाशका भान्जा नारायण पौडेलले समयकुमारीलाई तानेर खेतमा लैजान्छन् । यो सबै देखेकी कृष्णकुमारीले प्रतिकार गर्न खोज्दा नारायणले उनलाई धम्की दिन्छन् र समयकुमारीलाई मकै रोपिएको खेतमा लगेर बलात्कार गर्छन् । समयकुमारीले चिच्याउन खोज्दा उनको मुखमा सल कोचेर बलात्कार गर्छन् ।
बलात्कार गर्ने क्रममा समयकुमारीको सुरुवाल पनि च्यातिन्छ । यो सबै प्रत्यक्ष देखेकी कृष्णकुमारीले सोको सम्बन्धमा पीडितकी बुवालाई सबै कुरा भन्छिन् । बलात्कारको दृश्य प्रकाश बस्नेतले पनि देख्छन् । यद्यपि उनी पनि चुपचाप बसिदिन्छन् ।
यो घटना थाहा नपाउने गाउँले कोही थिएनन् । यद्यपि घटना प्रहरीसम्म पुग्न एक साता लाग्यो ।
माघ २४ गते भएको बलात्कारबारे फागुन २ गते प्रहरीमा लिखित जाहेरी पर्यो । जाहेरी लगत्तै आरोपी फरार भए । प्रहरीले घटनाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत सिन्धुलीमा मुद्दा दायर गर्यो । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको प्रमाणमा प्रत्यक्ष घटना देख्ने साक्षी कृष्ण कुमारी, बलात्कार गरिरहेको देख्ने नारायणकै मामा प्रकाश बस्नेत, रोइकराई गरेको देख्ने अन्य साक्षी र योनी च्यातिएको बारेको मेडिकल रिपोर्ट पनि उल्लेख थियो ।
जाहेरवाली समय कुमारीले अदालतमा न्यायाधीशसमक्ष गरेको बयानमा पनि रविन भन्ने नारायणले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् ।
तर मुद्दाको किनारा लाग्नै लाग्दा २०६१ साल माघ १२ गते घटनामा ट्वीस्ट आउँछ ।
पीडित भनिएकी समय कुमारी आफैले माघ १० गतेको मितिमा निवेदन लेखि पीडक भनिएका नारायण पौडेलले आफूलाई बलात्कार गरेको नभइ आफूहरुबीच सहमतिमै यौन सम्पर्क भएको र हाल विवाह गरिसकेको कुरा बताइन् ।
यता माघ १५ गते आरोपित नारायण पौडेल आफै अदालतमा उपस्थित भई जाहेरवाली समयकुमारीसँग २०५९ सालदेखि प्रेम सम्बन्धमा रहेको र त्यसभन्दा अगाडि पनि राजीखुशीमै यौन सम्पर्क हुने गरेको र त्यसदिन पनि सहमतिमै यौन सम्पर्क भएको तथा फागुन १३ गते आफूहरुबीच सामाजिक परम्परा अनुसार विवाहसमेत भइसकेको भन्दै आफूहरु श्रीमान् श्रीमती भएको जिकिर गरे ।
त्यसपछि केही समय चलेको मुद्दामा जिल्ला अदालत सिन्धुलीले २०६१ चैत २३ गते आरोपितले सफाइ पाउनेगरी फैसला गर्छ ।
जिल्लाको फैसला चित्त नबुझाएको सरकारी वकिल कार्यालय त्यो मुद्दा बोकेर पुनरावेदन अदालत जनकपुर पुग्छ ।
तर पुनरावेदन अदालत जनकपुरले पनि २०६२ साल चैत २३ गते नै आरोपितले सफाई पाउने जिल्ला अदालतकै फैसलालाई सदर गरिदिन्छ ।
पुनरावेदन अदालतको फैसलामा पनि चित्त नबुझाएर महान्यायाधिवक्ता कार्यालय यो मुद्दा बोकेर सर्वोच्च अदालत पुग्छ ।
२०६४ सालमा दर्ता भएको मुद्दामा ३ वर्षपछि २०६७ साल असार ३२ गते सर्वोच्च अदालतले फैसला गर्दै पीडितले बयान फेरेपनि वा बलात्कारपश्चात विवाह नै गरेको भएपनि घटना भएको अवस्थामा त्यो बलात्कार नै भएको भन्दै अभियुक्तलाई दोषी ठहर गर्दै ५ वर्षको काराबासको सजाय सुनाउँछ ।
यो मुद्दामा अदालतले स्पष्ट ढङ्गले कानुनी व्यवस्थाको ब्याख्या गर्दै पीडित होस्टाइल भइदिए वा पीडितले बयान फेरेपनि प्राप्त तथ्य र प्रमाणका आधारमा घटना भएको अवस्थामा बलात्कार नै भएको कारण दोषी ठहर गरेको थियो । यो सर्वोच्च अदालतको नजिर हो ।
यद्यपि पीडित होस्टाइल भएको यो एकमात्रै म्द्दा वा घटना भने होइन । जिल्ला अदालत काठमाडौंमै पनि धेरै मुद्दामा पीडित वा साक्षी होस्टाइल भएको प्रमाण रहेको कानुनका जानकार बताउँछन् । कानुनका जानकारका अनुसार अहिले पनि अदालतमा परेका मुद्दा र साक्षी वा पीडित होस्टाइल भएको मुद्दामा करिब ६० प्रतिशतमा आरोपितले सफाइ पाएका छन् भने ४० प्रतिशत मुद्दामा मात्रै आरोपितको कसुर पुष्टी भएको देखिन्छ ।
अब सवाल रह्यो महरा प्रकरणमा के हुन्छ भन्ने । महरा प्रकरणमा सरकारी वकिल कार्यालयले पेस गरेको तथ्य र प्रमाणमा महराले जवरजस्ती करणीको प्रयास गरी दुर्व्यवहार गरेको कुरा उल्लेख गरिएको छ । तर महराले त्यसलाई इन्कार गरी महिलाको कोठामा नै नगएको कुरा उल्लेख गरेका छन् ।
सिसिटिभी फुटेजमा महरा महिलाको कोठाको नजिकुसम्म पुगेको देखिएको छ । तर महिलाको कोठाको अगाडि सिसिटिभी कभरेज पुगेको छैन । जसको कारण महराले महिलाको कोठा नजिक गएको तर फोन नउठेपछि उनको कोठामा नगएको भनी इन्कारी बयान दिएका छन् ।
त्यसैगरी चस्माको सिसा र डण्डी तथा जुत्ताको तलुवाको फरेन्सिक ल्याब पुष्टि भइसकेको छैन ।
त्यसैगरी पीडित भनिएकी महिलाले दिएको जाहेरी पनि यतिबेला विवादमा परिसकेको छ । पीडित महिलाले प्रहरीले जबरजस्ती किटानी जाहेरी दिन लगाएको भन्दै प्रहरीलाई नै गत सावित गर्ने गरी वक्तव्यवाजी गरिसकेकी छिन् ।
पीडित महिलाले हालसम्म अदालतमा गएर न्यायाधीशका समक्ष बयान दिएकी छैनन् भने आफ्नो मोबाइल दिन पनि उनले अस्वीकार गरेकी छिन् ।
अब यदि महिलाले न्यायाधीशका समक्ष पनि इन्कारी बयान दिएको अवस्थामा यो मुद्दा कमजोर बन्ने निश्चित छ । पीडित भनिएकी महिला आफैले महराले आफूलाई केही नगरेको र आफूले दबाबमा आएर मिडियाबाजी गरेको तथा प्रहरीले जबरजस्ती जाहेरी दिन लगाएको बयान दिइन् भने यो प्रकरणे नयाँ मोड नलेला भन्न सकिन्न ।
अर्को अवस्था के पनि आउन सक्छ भने अदालतको समय वर्वाद गरेको र झूटो अरोप लगाएको भन्दै पीडित भनिएकी महिलामाथि नै कारवाहीको निर्णय पनि हुनसक्छ ।