शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या

सोमबार, १८ कात्तिक २०७६, १४ : ०२
सोमबार, १८ कात्तिक २०७६

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् ।  आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । 

जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । निर्माण कार्यहरु ठप्प छन् भने अरु दैनिक आवश्यकताका वस्तुहरुको परिपूर्तिका लागि समेत अप्ठेरो परिरहेको समाचारहरु आएका छन् । 

हरेक चिसो मौसमको शुरुमा जस्तै यस वर्ष पनि नयाँ दिल्लीको आकासको मौसममा खराबी देखिन आएको हो । नयाँ दिल्लीको बायु प्रदुषित भएकोले केही दिनदेखि विद्यालयहरु बन्द गरिएको बताइएको छ । 
नयाँ दिल्लीको आकासमा देखिने तुवाँलोका कारण बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरु बन्द गरिएको हो । त्यसैगरी सर्वसाधारण नागरिकहरु पनि अत्यावश्यकताका आधारमा मात्र सडक बजारमा निस्किएका छन् । 

यस मौसममा नयाँ दिल्लीको आकासमा यहाँका सवारीसाधनहरुको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदुषण, कृषिजन्य उद्योगहरुबाट निस्किएको प्रदुषित मात्राका कारण यस्तो समस्या उत्पन्न भएको बताइएको छ । 
यो प्रदुषणको मात्रा गएको तीन वर्षयताकै सबैभन्दा खतरनाक अवस्थामा देखिएको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदुषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै यसको मापनका आधारहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । 

आइतबार मुख्यमन्त्री केजरिवालले आफ्नो ट्वीटर अकाउन्टमा भिडियो सन्देश दिँदै भनेका छन्– परिस्थिति एकदमै खतरनाक छ, यहाँका बालबालिका मात्र नभएर सबै सर्वसाधारण नागरिकले पनि निकै अप्ठेरो महसुश गरिरहेका छन्, सबैले सहजै सास फेर्न सकिरहेका छैनन् । 

यहाँको प्रदुषण धेरै बढेपछि हालैमात्र सरकारले जनस्वास्थ्य संकटकाल नै लगाएको घोषणा गरेको थियो । यसका साथै दिल्लीका मुख्यमन्त्री केजरिवालको सरकारले दिल्लीका सबै विद्यालयहरु ५ नोभेम्बरसम्मका लागि बन्द गरिएको घोषणा गरेका थिए । 

दुई हप्तामात्र अघि वायु प्रदुषणको मात्रा बढ्न लागेको भनेर दिल्लीका विद्यालयहरुमा प्रदुषणबाट बच्न मास्क बाँडिएको थियो । तर मास्कले पनि थेग्न नसक्ने भएपछि यहाँका विद्यालयहरु नै बन्द गराइएको हो । 
केही दिनअघि सकिएको दीपावलीपछि दिल्लीको हावाको गुणस्तर अत्यन्त खराब भएको र श्वासप्रश्वास मा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका विरामीले अस्पतालमा भीड हुन थालेको छ ।

दिल्लीको हावामा प्रदुषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा प्रदुषण हुन लागेको धेरै वर्ष भइसकेको छ ।  

यहाँका मौसमविद्हरुले त यहाँ सास फेर्न गाह्रो भएको भन्दै दिल्ली ग्यास च्याम्बर बनेको बताएका छन् । प्रदुषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताइएको छ ।  भारतीय राजधानी नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर नामले पहिलेदेखि नै चिनिँदै आएको थियो । उदासीन जनमानस साथै अदूरदर्शी सरकारका कारण भारतीय राजधानीका बासिन्दाको आयु वर्षेनी कम हुदै गएको हालै मात्र गरिएका अध्ययनहरुले देखाएका छन् ।

नयाँ दिल्लीमा आगामी वर्षको शुरुआतमै राज्य सभाको निर्वाचन आएको छ । तर त्यस समयका लागि चुनावी एजेण्डा नै नयाँ दिल्लीको प्रदुषणको विषय उठ्न सक्ने बताइएको छ ।  अहिले पनि नयाँ दिल्लीमा औद्योगिकरणको मात्रा निकै बढेको भन्दै यस प्रदुषणका लागि राजनीतिक दलहरु र सरकारले नै एक अर्कालाई दोषणारोपण गरिरहेका छन् । 

हावार्ड विश्वविद्यालयका पर्यावरणीय अर्थशास्त्रीहरुले संयुक्तरुपमा गरेको उक्त अध्ययनअनुसार देशका यस्ता सम्पूर्ण क्षेत्रमा प्रदुषण कम गर्दै वायुको गुणस्तर कायम गर्नसके यहाँका करोडौं बासिन्दाको औसत आयु ३ दशमलव २ वर्षले बढ्ने जनाइएको छ । 

यस विषयलाई गम्भीररूपमा लिन र आवश्यक सुधारका लागि काम गर्न सोमबार केही वातावरणविद्हरुको समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका बताइएको छ ।  यहाँ आगलागीका कारण बढी मात्रामा प्रदूषण देखिएको बताइएको छ । तर पनि यसको कारण आगलागी मात्र पनि नभएको अधिकारीहरुको भनाई छ । 

सवारीसाधन र उद्योगबाट निस्कने धुँवा यसको प्रमुख कारण हो । त्यसैगरी फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि नयाँ दिल्लीको आकासको हावा बढी मात्रामा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ । 

नयाँ दिल्लीको जनसंख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी सहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ । नयाँ दिल्ली सरकारले तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरेको थियो । गत वर्षका प्रतिवेदनहरुमा पटाका पड्काउँदा दिल्लीको आकासको हावा प्रदुषित भएको बताएका थिए । तर पनि यस वर्ष पटाका पड्काउन नदिए पनि कुनै प्रभाव नपरेको बताइएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप