स्थिर विनिमयदर : के भारुको विकल्प डलर हुन सक्छ ?
काठमाडौँ । विश्व अर्थतन्त्रमा व्यापक उतारचढाव आइरहेको छ । शक्ति राष्ट्र र कमजोर राष्ट्रहरुबीचको असमानता झन् झन् बढ्दै छ । विकसित मुलुकहरुले विश्व अर्थतन्त्रमा ठूलो फड्को मारिसक्दा साना मुलुकहरु भएका संरचनाको सुरक्षाका लागि लडिरहेका छन् ।
मुलुकको उत्पादन, आयात निर्यात र शक्ति सञ्चयको अवस्था मजबुद हुन नसक्दा यी मुलुकको विश्व अर्थतन्त्रमा उपस्थिति कमजोर देखिएको छ । यसले मुलुकको मुद्रा विनिमय दरलाई समेत प्रभाव पारिरहेको छ । अहिलेको नेपालको अवस्था पनि ठ्याक्कै यही हो ।
अमेरिकी डलरको भाउ निरन्तर बढिरहँदा नेपाली मुद्राको अवमूल्यन भइरहेको र यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पारिरहेको अर्थविदहरुको भनाइ छ । यसको एउटै कारण भारुसँग नेपाली मुद्राको स्थिर विनिमयदर कायम हुनु हो ।
यता अन्तर्राष्ट्रिय विनिमय दरलाई हेर्दा विगत दुई वर्ष यता डलरको भाउ झण्डै ५ प्रतिशतले बढेको छ । यसले नेपाली मुद्रा अवमूल्यन भएको छ । सन् २०११ देखि २०१९ सम्मको ७ वर्षको अवधिमा अमेरिकी डलरसँगको नेपाली विनिमय दर करिब ११ प्रतिशतले बढेको देखिन्छ ।
सन् २०११ को अगस्टमा अमेरिकी एक डलर बराबर ६९ रुपैयाँ ६२ पैसा मात्र थियो । यो दर सन् २०१९ सम्म आइपुग्दा अधिकतम एक सय १९ दशमलब १७ डलर पुग्यो । सन् २०१८ को अक्टुबरमा नेपाली मुद्रासँग अमेरिकी डलर अहिलेसम्मकै उच्च भएको हो । अहिले पनि डलरको भाउ एक सय १३–१४ कै पेरिफेरिमा छ । तर नेपाली मुद्रा भने निरन्तर कमजोर हुँदै गएको छ । यसको एउटै कारण हो अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर हुनु ।
अन्तर्राष्ट्रिय बजारमा भारु अवमूल्यनको प्रत्यक्ष असर नेपालको मुद्रा र नेपाली अर्थतन्त्रमा परेको छ । त्यसो त मुद्रा साझेदार मुलुकका नाताले केही फाइदा भने नहुने होइन । तर अहिलेको अवस्थामा भने फाइदा कम बेफाइदा ज्यादा भएको अर्थविद्हरुको भनाइ छ ।
यसै सन्दर्भमा अहिले नेपाली मुद्रालाई अन्तर्राष्ट्रिय बजारमा कसरी लाने भनेर बहससमेत चल्न थालेको छ । अहिलेसम्म भारुसँग टाइअप गरेर अघि बढेको नेपाल अब परिमार्जित भारु हुँदै जाने कि अर्को विकल्पमा जाने भन्नेमा बहस सुरु भएको हो । यसैमा कतिपय विज्ञहरुले अब भारुको विकल्प अमेरिकी डलरमा नेपाल जानु पर्नेमा समेत एकमत हुन थालेका छन् ।
के भारुको विकल्प डलर हुन सक्छ ?
अर्थविद् तथा अर्थमन्त्रालयका पूर्व सचिव शान्तराज सुवेदी भारुको विकल्प डलर हुनै नसक्ने बताउँछन् । यदि त्यसो गरिए नेपालमा आर्थिक सङ्कट आउन सक्ने उनको विश्लेषण छ ।
‘नेपाली मुद्राको स्थिर विनिमयदरमा भारुको विकल्प अमेरिकी डलर हुन सक्दैन’, सुवेदीले भने, ‘भारतसँगको व्यापार, अर्थव्यवस्था र अर्थसमीकरणले नेपाललाई केही सहज गराएको छ । यदि भारुको विकल्पमा डलरमा जाने हो भने हामीले ठूलो सङ्कट बेहोर्नु पर्छ । किनकि हाम्रो जस्तो सानो अर्थतन्त्र बोकेको मुलुकले अमेरिकाको जस्तो विशाल अर्थतन्त्र बोकेको मुलकुमा अर्थ समीकरण मिलाउन सक्दैनौैँ । अन्ततः यसले हामी थप समस्यामा पर्छौ ।’
सुवेदीका अनुसार भारुको विकल्प खोज्ने हो भने अब नेपाल खुल्ला बजारमा जानुपर्छ । नत्र त भारुसँगको स्थिर विनिमयदरलाई परिमार्जन गरेर अघि बढ्नु पर्छ । अहिले यही विषयमा बहस चलिरहेको उनले रातोपाटीलाई जानकारी दिए ।
वरिष्ठ अर्थविद् केशव आचार्य समेत स्थिर विनिमयदरमा नेपालले भारुको विकल्पबाट अन्यत्र जान नहुने बताउँछन् । करिब ७० प्रतिशत व्यापार र सोधान्तर घाटा भारतसँगै रहेको अवस्थामा डलर वा अन्य मुद्रासँग नेपालले स्थिर विनिमय गर्दा फाइदा नहुने उनको भनाइ छ ।
‘नेपाल–भारतको ७० प्रतिशतको आर्थिक गतिविधिको हिस्सा छ । बाँकी ३० प्रतिशत मात्र अन्य मुलुकको हो । हाम्रो करिब १३ खर्बको शोधानान्तर घाटाको ठूलो हिस्सेदार पनि उही भारत हो । यस्तो अवस्थामा हामी डलरमा जानु त्यति फाइदाजन हुन्छ जस्तो लाग्दैन ।’ आचार्यले भने, ‘सीधै यसै हो त भन्न सकिँदैन तर डलरमा गए हामीलाई घाटा नै हो । बाँकी केही भुक्तानीमा भने डलरमा जाँदा सटही र डलर ढुवानीको लागत घट्ने हो ।’
तर अन्य मुलुकसँगको व्यापारमा भने डलरमा जाँदा फाइदा हुने तर यस्तो अवस्था करिब २० प्रतिशत मात्र रहने उनको भनाइ छ । ‘भर्खर भर्खर निर्यातमा केही उद्धार गर्न लागेको बेला हामीले यस्तो विकल्प खोज्नु उचित हुँदैन ।’ पछि बहसमा जान सकिन्छ आचार्यले बताए ।
यता, अर्थशास्त्री तथा व्यवसायी अरुण सुवेदी भने, नेपालको अर्थतन्त्र सुधारमा अन्तर्राष्ट्रिय स्थिर विनिमयदरको स्थायित्वमा भारुको विकल्पमा डलरमा जानुपर्ने बताउँछन् ।
‘विश्व अर्थबजारमा भारु निरन्तर ओरालो लाग्दै छ र डलरको मूल्य बढ्दै छ । यसले हाम्रो अर्थतन्त्रमा ठूलो असर परिरहेको छ ।’ सुवेदीले भने, ‘विश्व जगतमा नेपाली अर्थतन्त्र सुधार गर्ने हो भने र नेपाली मुद्रालाई बलियो बनाउने हो भने अब नेपालले डलरसँग स्थिर विनिमयदर कायम गर्नु पर्छ ।’
सुवेदीका अनुसार अहिले अमेरिकी डलरसँग भारु कमजोर हुँदा नेपालले ठूलो मूल्य चुकाउनु परेको छ । अन्तर्राष्ट्रिय व्यापारमा डलर महँगो हुँदा हामीले खरिद गर्ने माल वस्तुको लागत महँगो पर्न गएको छ । स्वदेशी उद्योग, कलकारखाना तथा प्रोजेक्टहरुको लागत समेत बढी पर्न गएको छ ।
अन्तर्राष्ट्रिय मुद्राको रूपमा स्थापित अमेरिकी डलरको भाउँ झन्झन् माथि चढ्दै जाने र मुद्रा साझेदार भारुको मूल्य निरन्तर अवमूल्यन भइरहने हो र अधिकांश वस्तु डलरमा आयात गर्ने मुलुकको मुद्रा अवमूल्यन हुँदै जाने हो भने यसले मुलुकको अर्थतन्त्र नै संकटमा पर्ने उनको विश्लेषण छ ।
अन्तर्राष्ट्रिय बजारमा मुद्रा विनिमयदरको नीति
अन्तर्राष्ट्रिय बजारमा कुनै मुलुकको मुद्राको सबलता उसको क्रयशक्तिले देखाउँछ । कुनै दुई देशबीचको मुद्राको क्रयशक्ति तुलना गर्दा एक युनिट मुद्राले एउटा देशमा खरिद गर्न सकिने उही वस्तु तथा सेवा अर्को देशमा सोही मूल्यमा खरिद गर्न सकिन्छ कि सकिँदैन भन्नेबाट हेरिन्छ । मुद्राको क्रयशक्तिलाई धेरै विषयले प्रभाव पार्ने भएकाले सबै देशका मुद्राको क्रयशक्ति समान हुँदैन ।
उच्च मुद्रास्फीति, मुद्रा आपूर्तिमा विस्तार, विस्तारकारी मौद्रिक नीति एवं लगानीका लागि पर्याप्त रकम बजारमा प्रवाह भएमा आम मानिसको उपभोेगमा वृद्धि हुने, यसबाट मूल्यवृद्धि हुने, विदेशी सामग्रीको उपभोग बढ्दा आयातका लागि बढी विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ ।
यसले मुद्राको क्रयशक्ति घटाउँछ र विदेशी लगानी न्यून परिचालन हुने र भइरहेको लगानी पनि फिर्ता जाने अवस्था आउँछ । यस्तो अवस्थामा देशको अर्थतन्त्र क्रमशः कमजोर हुँदै जान्छ ।
भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुँदै जानुमा पनि विभिन्न कारण छन् । जसमध्ये अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार वृद्धि र भारतमा यसको खपतमा वृद्धि हुनु पनि हो ।
यता नेपालले भने भारतसँग आर्थिक तथा व्यावसायिक साझेदारी कायम गरेको छ । भारतीय मुद्रासँग स्थिर विनिमयदर निर्धारण गर्दा अन्य विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय मुद्राको विदेशी मुद्रासँगको विनिमयदरसँग गणना गरिन्छ । यसैले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि खस्किने र बलियो भएमा बलियो हुने गर्छ । तर सन् २०१८ को सुरुवातदेखि नै अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा निरन्तर कमजोर हुँदै जाँदा नेपाली मुद्राको समेत अवमूल्यन हुँदै आएको छ ।
नेपाल–भारत मुद्रा सम्बन्ध
नेपालले सुरुवाती चरणदेखि नै भारतीय मुद्रासँग स्थिर विनिमयदर राखेर त्यसैको आधारमा अन्य विदेशी मुद्रासँग विनिमय दर निर्धारण गर्ने प्रणाली अपनाउँदै आएको छ । २०१७ सालमा पहिलो पटक भारु. १०० को नेपाली रुपैयाँ १६० विनिमयदर निर्धारण गरिएको थियो । यस अघिसम्म नेपालमा नेपाल भारत दुवै देशको मुद्रा चलाइन्थ्यो । त्यसपछि भने क्रमशः भारतीय मुद्राको कारोबारले फरक रूप लिन थालेको हो ।
विस्तारै बैङ्क तथा वित्तीय संस्थाहरूले औपचारिक रूपमा मुद्रा विनिमय गर्न थाले र नेपाली मुद्राको प्रचलन पनि बढ्दै गयो । अहिलेसम्म भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दरमा आठ पटक पुनरावलोकन भइसकेको छ ।
हाल कायम गरिएको १०० भारु बराबरको १६० नेरुको विनिमय दर २०४९ फागुनमा निर्धारण गरिएको हो । नेपाल–भारत विनिमयदर कायम पछि भने व्यापारिक सम्बन्ध (आयात÷निर्यात) र मिल्दोजुल्दो अर्थ व्यवस्थाका कारण यी दुई देशबीच यस्तो अर्थ नीति लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन