मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘आफ्नै मरणलाई स्वीकारेर सन्न्यासी भएको हुँदा मैले काजकिरिया गर्नुपर्दैन’

दिवङ्गत आईजीपी हेमबहादुर सिंहलाई यसरी सम्झिन्छन् उनकै छोरा योगी व्यग्र वेदनाथ
सोमबार, १८ कात्तिक २०७६, ०९ : ४१
सोमबार, १८ कात्तिक २०७६

योगी व्यग्र वेदनाथ । विगतको आधारमा परिचित हुनुपर्दा एक धनाढ्य र शक्तिसम्पन्न परिवारका सन्तान । उनले चाहन्थे मात्रै भने पनि उनका सामु सांसारिक वैभव र सुखको कुनै कमी थिएन । तर उनले सुख र विलासिताको त्यो वैभवपूर्ण जीवनलाई लात हाने र वैराग्यको बाटो समातेर योगी बने । तिनै योगी वेदनाथ यतिखेर पशुपतिनाथ मृगस्थली सिद्धाचलमा गोरखनाथ मन्दिरसँगै रहेको योगी नरहरि नाथ पुस्तकालयको परम्परागत शैलीको घरमा आफ्नो आध्यात्मिक÷वैराग्य जीवन व्यतित गरिरहेका छन् । यो पङ्क्तिकार उनलाई भेट्न जाँदा उनी गोबर र माटोले लिपेको पिँडीमा रहेको अगेनासँगै परालको गुन्द्री अनि त्यससँगै रहेको परालकै चकटीमा बसेर गोरखनाथ मन्दिरमा आउने अनि पुस्तकालयमा आउने मानिसको जिज्ञासाको पालैपालो उत्तर दिँदै थिए ।

 घरको माथिल्लो तलामा योगी नरहरिनाथ पुस्तकालयबाट चर्को चर्को स्वरमा अर्का योगीले पढिरहेको आवाज सुनिन्थ्यो ।

योगी वेदनाथ एक ७० वर्षीय वृद्धसँग कुराकानी गरिरहेका थिए । उनलाई नुवाकोटबाट आएको ती वृद्धले आफ्नो नाम तिलक पौडेल बताए । उनी भन्दै थिए,  ‘हजुरलाई मिडियामार्फत चिनेको हुँ, त्यसैले काठमाडौँ आएको बेला भेट्न आएको ।’  कुरैकुरामा उनले योगी वेदनाथलार्ई सोधे, ‘बाबु ! जीवन पहिलाको ठीक थियो कि अहिले ?’

उत्तरमा  योगी वेदनाथले सौम्य हाँसोका साथ भने, ‘पहिलेको कुरा नगरौँ ! अहिले कुरा सोध्नुस् न !’ खिस्स हाँस्दै फेरि उनले दार्शनिक लवजमा भने, ‘सूक्ष्म रूपमा संसारलाई हेर्नुहोस्, अनि थाहा हुन्छ ।’

यस्तै जिज्ञासा राख्नेक्रममा एकजना महिलाले भनिन्, ‘योगीजी हाम्रो गोत्र पनि गोरखनाथ हो नि । हजुरको बुवाको दुःखद खबर सुनेँ, आज कति दिन भयो ?’ यस्तै खालका विविध प्रश्न गरिरहेका थिए त्यहाँ आउने मानिसहरुले अनि योगी वेदनाथले पनि मन्द मुस्कानका साथ जिज्ञासाको उत्तर दिइरहेका थिए ।

त्यहीक्रममा ढिला भयो भन्दै आँखा र हातको इसाराले योगी व्यग्र वेदनाथलाई सम्झाउँदै थिए एक जना अधबैँसे पुरुष ।  तर त्यहाँ आएका मानिस उनीसँग प्रश्न गर्न छाडेका थिएनन् । प्रश्न गर्नेको सङ्ख्या बढ्दो थियो र मानिसहरुको जिज्ञासा अनन्तः थियो । त्यसैले उपस्थितहरुलाई ‘साँघामा रामायण भजनमन्डलीमा जान हतार भएकाले पछि मात्रै कुराकानी गर्ने’ उनले बताए ।

*****

आफ्ना दिवङ्गत पिताका बारेमा सम्झना गर्दै योगी वेदनाथ भन्छन्,  ‘मान्छेरुपी शरीर हाम्रो माझ नभए पनि आत्मा त सधैँ अमर रहन्छ नि !’ त्यसैले ‘भौतिकरुपी शरीर छोडेर गए पनि बुवाको अमर आत्मा रहिरहने’ उनले बताए ।

*****

‘साँघामा कार्यक्रम सकेर शुक्रबार मनाङ जाने योजना हो,’ गत बिहीबारको भेटमा उनले भने, ‘अघि नै जाने थिएँ, तपाईंलाई नै कुरेर बसेको हुँ,’ यस पङ्क्तिकारलाई सम्बोधन गर्दै योगीले भने । त्यसपछि ‘अब म रातोपाटीसँग कुरा गर्छु कुनै दिन हजुरहरुको जिज्ञासा मेटाउन कोसिस गर्छुु’ भनेपछि जिज्ञासा राख्नेहरु थामिए ।


त्यसपछि योगी वेदनाथले हाम्रो जिज्ञासालाई सम्बोधन गर्दै आफ्नो जीवन कहानी यसरी बयान गरेः

‘बोर्डिङ स्कुलमा पढ्ने–बस्ने गरेकाले बुवासँग छुट्टीको समयमा मात्रै भेट हुन्थ्यो  । बुवा नेपाल पुलिसमा भए पनि धर्मकर्ममा धेरै आस्था राख्नुहुन्थ्यो । छुट्टीको समयमा काठमाडौँ लगायत देशका विभिन्न मठमन्दिरमा पूजा तथा दर्शन गर्नका लागि जानुहुन्थ्यो । मिलेसम्म हामीलाई पनि सँगै लैजानुथ्यो ।’

बुवामा पारिवारिक संसारमा भएर पनि अध्यात्मलाई पनि सँगसँगै हिँडाएको आभाष अहिले भएको छ,’ उनले भने, ‘बुवाको अध्यात्ममा गहिरो रुचि भएकै कारण मैले यो क्षेत्रलाई अँगालेर बुवाको चाहना र इच्छालाई पूरा गरे जस्तो लाग्छ ।’

पाठकहरुको जानकारीका लागि यहाँ उल्लेख गरौँ, योगी वेदनाथका पिता हेमबहादुर सिंह हुन् । प्रहरीमा आईजीपी पदसम्म पुगेर अवकाश पाएका सिंहको कात्तिक ७ गते निधन भएको हो ।

आफ्ना दिवङ्गत पिताका बारेमा सम्झना गर्दै योगी वेदनाथ भन्छन्,  ‘मान्छेरुपी शरीर हाम्रो माझ नभए पनि आत्मा त सधैँ अमर रहन्छ नि !’ त्यसैले ‘भौतिकरुपी शरीर छोडेर गए पनि बुवाको अमर आत्मा रहिरहने’ उनले बताए । ‘भौतिक शरीर धर्तीबाट विलिन भए पनि आफ्नो कर्मअनुसार आत्माले अवश्य पनि रूप धारण गर्नेछ,’ भन्दै उनले अगाडि भने, ‘जन्मेपछाडि मृत्यु  अनिवार्य भएकाले भौतिकरुपमा सास लिउन्जेल राम्रो कर्म गर्नुपर्छ ।’ ‘मानिसको मृत्युपछि पुनर्जन्म हुन्छ र ?’ भन्ने हाम्रो प्रश्नमा उनको उत्तर थियो, ‘अध्यात्ममा लाग्नुहोस् अनि मात्रै यसबारेमा थाहा पाउनुहुन्छ ।’

*****

त्यसो त योगी वेदनाथको बासथलो वनकालीको गोरखकाली मन्दिर नै हो । तर ‘बुवाले यस धर्तीबाट शरीर छोडेको दिन घरमा एकछिन गएको’ उनले बताए । ‘पहिला बुवा यहाँ आइरहनुहुन्थ्यो,’ उनले भने, ‘यताउति जाँदा बाटो प-यो भने म पनि एकछिन घरमा छिरेर आउँथेँ’ योगी वेदनाथ भन्छन् ।

 

*****

त्यसो त योगी वेदनाथको बासथलो वनकालीको गोरखकाली मन्दिर नै हो । तर ‘बुवाले यस धर्तीबाट शरीर छोडेको दिन घरमा एकछिन गएको’ उनले बताए । ‘पहिला बुवा यहाँ आइरहनुहुन्थ्यो,’ उनले भने, ‘यताउति जाँदा बाटो प-यो भने म पनि एकछिन घरमा छिरेर आउँथेँ’ योगी वेदनाथ भन्छन् ।

मृगस्थली आउँदा बुवाले ‘कर्म पुर्याएर अध्ययन गर’ भन्ने गरेको उनले बताए । उनी अगाडि भन्छन्, ‘अध्यात्ममा रुचि भएकाले उहाँ यहाँ आउँदा धेरै खुसी भएको मैले महसुस गर्थें । संन्यास लिएपछाडि मृगस्थलीमा हुँदा प्रायः परिवार चिनेजानेका मानिस आउँछन् ।’

‘संन्यास लिनुभन्दा अगाडि नै आफ्नो मृत्युलाई स्वीकार गरेर पुरानो जन्मलाई छोडेर काजक्रिया गरी गुरुमार्फत् आफूले नयाँ जन्म लिएको’ उनको जिकिर थियो । आफूले बुबाको काजक्रिया गर्नु नपर्ने कुराको तर्क दिँदै योगी वेदनाथ भन्छन्, ‘मेरो बुवाको काजकिरिया भाइले गर्छ । मैले संन्यास लिनुभन्दा अगाडि नै मरणलाई स्वीकार गरेर सन्यासी भएको हुँदा मैले काजक्रिया गर्नुपर्दैन ।’

‘एउटा पुस्तामा कुनै एकजना व्यक्ति साधु वा सन्न्यासी भयो भने पनि त्यसको पुण्यले सात पुस्तालाई राम्रो हुने’ उनको विश्वास छ । ‘आफूले अब आउने सात पुस्तासम्मका लागि राम्रो काम गरेकाले पहिलो जन्मसँगै भएका परिवारको काजकिरिया गर्न नपर्ने’ उनको भनाइ थियो । त्यहीक्रममा उनले ‘आफ्नो किरिया पहिला नै गरेकाले आफूले अरूको किरिया गर्न  नहुने’ पनि बताए । आफ्नो आध्यात्म विश्वासलाई दृढतापूर्वक बाँड्दै उनी भन्छन्, ‘मानिसको जन्मपछि मृत्यु हुन्छ सबैलाई थाहा छ । त्यो पालो सबैको आउँछ । त्यसैले शरीर नास हुँदा कोही पनि अतालिनु पर्दैन ।’

*****

‘शरीर छाड्ने रोलक्रम सबैको परिवारमा आउँछ,’ उनले भने, ‘सन्न्यास नलिएका र आध्यात्म क्षेत्रमा पाइला नचालेकालाई मान्छेको मृत्युले केही समय गाह्रो बनाउन सक्छ ।’

*****

मृत्युलाई स्वीकार्न किन कठिन हुन्छ भन्ने कुराको व्याख्या गर्दै दार्शनिक लवजमा योगी वेदनाथ भन्छन्, ‘एउटै कुरामा आधारित भएर जीवनयापन गरेका कारण मृत्युलाई स्वीकार्न नजिक आफ्ना मान्छेलाई केही समय गाह्रो हुन्छ ।’ उनी अगाडि थप्छन्, ‘शरीर छाड्ने रोलक्रम सबैको परिवारमा आउँछ,’ उनले भने, ‘सन्न्यास नलिएका र आध्यात्म क्षेत्रमा पाइला नचालेकालाई मान्छेको मृत्युले केही समय गाह्रो बनाउन सक्छ ।’

‘मानिसले शरीर छाडिसकेपछि आआफ्नो परम्परा अनुसार जमिनमा शरीरलाई गाड्दा वा आर्यघाटमा जलाउँदा आफन्तजन र मलामी जानेको मनमा आर्यघाटमा बसुन्जेल सकारात्मक बैराग्यता आउने’ उनको भनाइ छ । ‘तर आर्यघाटबाट फर्किसकेपछि पुनः लोभ, लालच र मायामोहको संसारमा फस्ने मानिसलाई मृत्युले झस्काउने’ उनको भनाइ छ ।

योगी वेदनाथ भन्छन्, ‘जन्मेपछि सबैको मृत्यु हुनेभएकाले अरू मानिसको मृत्युमा दुःखीसुखी हुनु नहुने, रिस क्रोध मोहलाई त्याग्नुपर्ने र घरपरिवारसँगै बसेर पनि अध्यात्मलाई अँगालेर जीवनलाई सुखमय बनाउन सकिन्छ ।’ ‘पुर्खाले धरोहरको रूपमा दिएको अध्यात्मलाई अङ्गीकार गरेर अगाडि बढेको अवस्थामा वर्तमान समाजमा कोहीको मृत्युमा पनि दुखमनाउ गर्नुपर्ने अवस्था नरहने’ उनको भनाइ छ ।  

योगी नरहरिनाथका अनुयायी हुन् वेदनाथ । उनी भन्छन्, ‘योगी नरहरिनाथले नेपालका बारेमा करिब ५ सय  पुस्तक लेख्नुभएको छ । सनातन धर्म, प्राचीन ग्रन्थ, नेपालको संस्कृति, जङ्गल, जडीबुटी, साहित्यको खोज तथा लेखन गर्नुभएको छ ।’ पश्चिमा शिक्षाले नेपाललाई गाज्दै आएकोमा दुःखी वेदनाथ ‘योगी नरहरिनाथद्वारा लिखित महत्त्वपूर्ण पुस्तकलाई नेपाली पाठ्यक्रममा प्राथमिक तहमा राख्नुपर्ने पर्ने’ बताउँछन् । ‘प्राथमिक तहबाट नै अध्यात्मसम्बन्धी पाठ्यक्रम राखेको खण्डमा नेपालमा भइरहको राजनीतिक बेथिति, भ्रष्टाचार र बेरोजगारी न्यूनीकरण हुने’ उनको तर्क छ । आफ्नो विश्वासलाई दृढतापूर्वक राख्दै योगी वेदनाथ भन्छन्, ‘अध्यात्मिक रूपमा मानिसहरु पछाडि परेको हुँदा देशमा विकास हुन नसकेको हो ।’

यतिखेर योगी व्यग्र वेदनाथको मुख्य अभियान नै योगी नरहरिनाथद्वारा लेखिएको पुस्तक र ज्ञानलाई देशव्यापी रूपमा फैलाउने रहेको छ । त्यसैको लागि उनी देशव्यापी भ्रमणमा लाग्ने गर्छन्, जसले गर्दा उनलाई भ्याई नभ्याई हुनेगर्छ । योगी नरहरिनाथले अध्यात्म क्षेत्रमा पुर्याएको योगदानलाई फैलाउनका लागि उनी देशका विभिन्न स्थानमा जाने गरेका छन् । त्यही क्रमा उनको अधिकांश समय भ्रमणमै बित्ने गरेको छ ।

त्यसबाहेक, काठमाडौँ नजिक रहेका ५ जिल्लामा रामायण भजन कार्यक्रमको आयोजनामा पनि उनी सामेल हुन्छन् ।  साथै ‘देशका अन्य १ सय २९ स्थानमा रामायण भजन आयोजना गर्ने गरेको’ उनले बताए । ठाउँठाउँमा हप्ता दिन, पन्ध्रपन्ध्र दिन र एकएक महिनामा विभिन्न स्थानमा रामायण भजनकीर्तनको आयोजना गर्ने हुँदा त्यहाँ पुग्ने गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप