शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युनिभर्सल मेडिकल कलेज शुल्क आन्दोलन: बिहिबारदेखी विद्यार्थीहरुको धर्ना जारी

आइतबार, १७ कात्तिक २०७६, १८ : ४४
आइतबार, १७ कात्तिक २०७६

बुटवल– रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज यस क्षेत्रका बिरामीहरुका लागी राम्रो उपचार गर्ने अस्पताल मानिन्छ । पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाबाट आउने विरामीहरुको उपचारसँगै चिकित्सकहरु समेत उत्पादन गरिरहेको यो संस्थामा बिहिबारदेखी भने उपचारसँगै आन्दोलन पनि देखिन्छ । सेतो एप्रोन कोटमा सजिएका विद्यार्थीहरु मुखमा सेतो मेडिकल मास्क लगाएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको मुख्य गेटमा लस्करै बसेका छन् । उनीहरु हातमा नाराहरु लेखिएका पम्प्लेट र कालो ब्यानरसहित बिहिवारदेखि आन्दोलित छन् ।

कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने मागसहित उनिहरु आन्दोलित भएका हुन् । दस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) उनीहरुले कलेजले बढी शुल्क लिएको भन्दै निवेदन दर्ता गरेका थिए । आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन् ।

बुधबार चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दसहितका विद्यार्थी नेता आएर विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । बिहिबार विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई भेटेर सरकारले गरेको निर्णय लागू गराउन दबाब दिएका थिए । आगामी नोभेम्बर ६ देखि चिकित्सकशास्त्र प्रथम बर्षको बोर्ड परीक्षा समेत सुरुहुँदैछ तर परीक्षाको प्रवाह नगरी विद्यार्थीहरु आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले जानकारी दिए । 

कलेज प्रशासनले कलेज बाहिरका विद्यार्थी ल्याएको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको जानकारी दिएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थीहरु पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ पुगेका थिए । कलेजका प्रशासन अधिकृत राजु बस्नेतले विद्यार्थीहरु कलेजको आन्तरिक मागका बारेमा छलफलको लागि तयार रहेको बताए । 

कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले विद्यार्थीका मागबारे छलफल गर्न कलेज प्रशासन तयार रहेको बताए । शुक्रबार प्रहरीले कलेजभित्रे पसेर विद्यार्थीमाथि हातपात गरेको थियो । आज पनि विद्यार्थीहरुले कलेजको मुख्य प्रवेश द्वारमा बसेर धर्ना दिएका छन् । अघिकृत गुरुङ्गले रातोपाटीसँग भने, ‘उहाँहरुका मागका बिषयमा बसेर छलफल गर्न सकिन्छ तर औपचारिक रुपमा लिखित माग हामीकहाँ आएको छैन् ।’

शिक्षा मन्त्रालयले विद्यार्थी र कलेज सञ्चालकबीच सहमति गराएर एक महिनाभित्र शुल्क फिर्ता गर्न आह्वान गरेपनि कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् । जसका कारण देशका विभिन्न कलेजमा आन्दोलन शुरु भएको छ । 

यसअघि चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले पनि सोही माग पुरा हुनेपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप