शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लग : सामाजिक अभियान्ता र बढ्दो चन्दा आतङ्क

आइतबार, १७ कात्तिक २०७६, १६ : १८
आइतबार, १७ कात्तिक २०७६

-विजयराज अधिकारी 

सामाजिक सञ्जालमा सामाजिक अभियान्ताका गतिविधि र उनीहरुका रोहबरमा चन्दा आतङ्क भइरहेको छ । सामाजिक अभियान्ता भनेको के हो, यसको परिभाषा र बहन गर्ने जिम्मेवारी कस्तो हुन्छ, बुझ्न आवश्यक छ । यसबारे गहन अध्ययन तथा सामाजिक परिवेशभित्रको अवस्था पनि बुझ्न जरुरी हुन्छ । 

समाजमा दुःख पाएका असाहयहरूको दुःख देखाएर रकम माग गर्ने र तिनैको प्रचार गरेर देशविदेशबाट चन्दाको रूपमा उठाउने अभियानका नेता नै सामाजिक अभियान्ता जस्ता देखिएका छन् ।

सामाजिक अभियन्ता समाजकै एउटा पात्र हो । उसको प्रवृत्ति र उद्देश्य के हो र किन त्यही व्यक्ति चन्दा उठाउने काममा यति सक्रिय छ भन्ने प्रश्न एकतिर छ । तर उठाइएको पैसा सही ठाउँमा पुगेको छ वा छैन अध्ययन अनुगमन कसले गर्ने ? उठाइको रकम कसको ? भन्ने लगायतका प्रश्नको अनुगमन गर्ने निकाय नहुने र उठाउनेले उठाइरहने काम ले अहिले रातारात समाजिक सञ्जालमा त्यसले  प्रभाव जमाइरहेको छ । 

भोका, नाङ्गा, अपाङ्ग, गरिबी जस्ता कारुणिक दृश्य सामाजिक सञ्जालमा पोस्ट गर्ने र तिनै प्रचार सामग्रीको उपयोग गरेर आफू नेता बन्ने प्रवृत्ति हाबी हुन थालेको छ । हेर्दा पुण्यको काम जस्तो देखिने तर त्यही पुण्यको कामलाई आफ्नै प्रचारमा खर्चेर कथित सेलिब्रेटी बन्ने झुन्ड स्वदेश तथा विदेशमा निकै ठूलो छ । अझ माग्नै पल्केका सामाजिक अभियान्ता पनि छन् । उनीहरु आन्तरिक ग्रुप च्याट बनाएर एउटा मिसन पूरा भएपछि अर्को मिसनमा लाग्ने गरेको देखिन्छ ।
कुनै रसिद नदिई कुनै आधारबिना रकम मागेर जम्मा गर्छन्  । त्यसको कतै हिसाब देखाउनु पनि नपर्ने भएपछि मागेको धन अभियान्ता निहितस्वार्थमा आइपुग्ने भएकाले यो निकै सजिलो उपाय बनेको छ । यस्ता अभियान्ता निकै गम्भीर देखिन्छन् । झट्ट आरोप आइहाले पनि बोल्दैनन् । आरोपभन्दा माथि उनीहरुको चन्दा सङ्कलनको काम नै हाबी भैदिन्छ । मानौ उनीहरुले नै भोको पेट हलो जोतिरहेका छन् ।

विदेशमा कोही नेपाली जेल पर्यो र उसलाई छुटाउनुपर्यो भने त यो कार्य पर्व बनेर आइदिन्छ । अनि सुरु हुन्छ माग्ने काम । मागेर समाजसेवी बन्ने, नेता बन्ने केही पात्रका प्रवृत्तिहरु देखा परेका छन् । 

माग्न मात्रै जान्ने सामाजिक अभियान्ताले आफ्ना देशका नागरिक कुन अपराध गरेर सजाय भोगिरहेको छ भन्ने बुझ्नुपर्छ । सम्बन्धित राज्यको सरकारसँग लबिङ गरेर राज्यस्तरबाटै काम सुरु गराउन पहल हुनुपर्छ । त्यसो नगरी माग्ने नै काम गर्ने हो भने राज्यबाट माग्नेको लाइसेन्स लिनुपर्छ । नभए  मानवीय भावनामाथि खेलबाड गर्न बन्द गर्दा नै ठीक हुन्छ  । 
मान्छे झुक्याउने गरी केही काम हुनुहुँदैन । यही मान्यता राख्दै कतारबाट पनि अभियान चलेकै थियो । कतारमा गठित समितिले आफ्नो काम सकेर उपलब्धि र प्रभावबारे अध्ययनसहित आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । तर नेपालमा रहेका अभियान्ताहरु उठेको पैसा अफ्नो मातहतमा ल्याउन वैधानिक बाटो खोजिरहेका छन् । यो घटनापछि अब कतारमा चन्दा तथा सहयोग स्वरुप पैसा उठाउन नपाउने भन्दै दूतावासबाट पत्र जारी भएको छ ।

चन्दाकै बाटो किन ? वैधानिक बाटो छैन ? पैसा उठाउनका लागि कसका लागि कसले कमाइ दिएको छ र ? ५० डिग्रीको तापक्रममा रगत पसिनाको कमाइबाट चन्दाको आशा किन ? विदेशमा रहनेहरुका लागि मुख्य प्रश्न बनेको छन् । कसैलाई सहयोग गर्नु मानवीय धर्म हो तर मनवीय धर्मलाई धर्ममै सीमित राखेर बलजफ्ती नेता बन्ने प्रवृत्तिले त्यो करुणा झन कारुणिक बन्ला तर त्यो अभियानको नेता सेलिब्रेटी भइसक्छ । जसले सुको पैसा हालेको हुँदैन । अरूले दिएको पैसामा सेलिब्रेटी बन्छन् । 

कसैको दुःखमा सहयोग गर्नेदेखि राष्ट्रिय गरिमाका योजनासम्म सहयोग स्वरूप चन्दा उठाइनु अझ दुःखद कुरा हो । कसैलाई मानवीय धर्मले सहयोग गर्ने हो भने त्यो अलग कुरा हो । त्यसमा व्यक्तिगत सहयोग गर्न सकिन्छ तर अभियान नै चलाउने हो भने यसलाई नियमन गर्नु जरुरी छ । अन्य मुलुकमा चन्दा सङ्कलन कानुनविपरीत र मुलुकको गरिमा विपरीत ठहर्छ । तर नेपालमा चन्दाको पर्व नै लाग्छ ।  

सामाजिक अभियान्ताबाट यस्तो काम होस् जुन कामबाट मर्दै गएको मानवीयता, हराउँदै गएको एकतालाई जगाओस् । नागरिकको सहभागिता हुने अभियान चलोस् । जसले सामाजिक अभियान्ताभन्दा आफैलाई गर्व महसुस होस् । स्मरण रहोस्, पैसा पठाउने काम वैधानिक रूपमा मनि ट्रान्सफर कम्पनीहरुले गर्छन् ।  बीचमा समाजसेवी नामधारी विचौलियाको संलग्नता नहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप