उपनिर्वाचनमा कहाँ कसको पल्ला भारी : मुख्य निर्वाचन क्षेत्रमा दलहरूको मतको अङ्कगणित
निर्वाचन आयोगले आउँदो मङ्सिर १४ गतेका लागि उपनिर्वाचनको तयारी थालेको छ । सो निर्वाचनमा ४२ वटा स्थानीय तह, ३ प्रदेशसभा र १ प्रतिनिधिसभाका विभिन्न पदका लागि निर्वाचन हुँदैछ ।
प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा, प्रदेशसभातर्फ प्रदेश नम्बर ३ को भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’, प्रदेश ५ को दाङ निर्वाचन क्षेत्र ३ ‘ख’, गण्डकी प्रदेशको बागलुङ क्षेत्र नं. २ को प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
यस्तै स्थानीय तहतर्फ धरान उपमहानगरपालिकामा प्रमुख पदका लागि, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पद लगायत वडाध्यक्षसहित ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।
प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ मा स्वर्गीय रवीन्द्र अधिकारीको स्थानमा निर्वाचन हुँदैछ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको फागुन १५ गते ताम्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । दलहरूले यो निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गर्न थालिसकेका छन् । नेकपाले पूर्व स्वर्गीय मन्त्री रवीन्द्रकी पत्नी विद्या अधिकारी भट्टराईलाई अघि सारेको छ । यस्तै साझा पार्टीले रजनी केसीलाई उम्मेदवारको घोषणा गरेको छ ।
२०७४ को मङ्सिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा स्वर्गीय अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । चालिसेको भन्दा अधिकारीले ८ हजार ५ सय ४६ मत बढी ल्याएका थिए । सो निर्वाचनमा कूल ४९ हजार ९ सय १४ मत खसेको थियो । कास्कीमा तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत पाएको थियो । नेकपा मालेले ५ सय ४९, सङ्घीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१, स्वतन्त्र उम्मेदवार निर्मल खत्रीले १ सय १९ मत ल्याएका थिए ।
यहाँ १ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो । निर्वाचनमा १ हजार ४ सय ६४ मत बदर भएको थियो ।
कास्की २ भित्र ११ वडा छन् । स्थानीय तहको चुनावका आधारमा हेर्दा अधिकांश वडामा नेकपाको वर्चश्व छ । अघिल्लो निर्वाचनमा काँग्रेसको भन्दा बाम गठबन्धनका उम्मेदवारको मत साढे ८ हजार बढी भएका कारण यो निर्वाचन क्षेत्रमा नेकपाले विजयी हासिल गर्ने अनुमान गर्न सकिन्छ ।
भक्तपुर प्रदेश सभा (क)
प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा प्रदेशसभा सांसद हरिशरण लामिछानेको मृत्युभएपछि सो स्थानका लागि पनि उपचुनाव हुँदैछ । यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता छन् ।
तत्कालीन एमालेबाट उम्मेदवार रहेका सांसद लामिछानेको २०७५ वैशाख ३१ गते निधन भएको थियो । गएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सो क्षेत्रमा ४३ हजार ५ सय ५२ मतदाता थिए ।
कूल ३२ हजार ८ सय ३८ मत खसेकोमा सांसद लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिस्पर्धी काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीका निरज लबजूले ७ हजार १९ मत पाएका थिए ।
यस्तै माओवादी केन्द्रका देवीप्रसाद ढकालले ७ सय ८४, विवेकशील साझाका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५ मत पाएका थिए । सो निर्वाचनमा नेकपा र काँग्रेसका उम्मेदवारबीच २ हजार ८ सय मतको फरक रहेका कारण र नेपाल मजदुर किसान पार्टीको पनि बलियो उपस्थिति रहेका कारण यहाँ कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
दाङ निर्वाचन क्षेत्र ३ (ख)
दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको निधनपछि सो क्षेत्रमा पनि उपचुनाव हुँदैछ ।
तत्कालीन एमालेका तर्फबाट सांसद बनेका वली दुर्घटनामा परेपछि उपचारका क्रममा फागुन १० गते मृत्यु भएको थियो ।
गत निर्वाचनमा विजयी भएका वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत ल्याएका थिए । यस्तै मालेका टोपबहादुर डाँगीले ९ सय १० पाएका थिए ।
६५ हजार ८ सय २ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । २ हजार २ मत बदर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो ।
सो क्षेत्रमा सांसद वलीले ६ हजार ५ सय ३५ मतको फरकमा चुनाव जितेका थिए । यो निर्वाचन क्षेत्रमा यस पटको निर्वाचनमा काँग्रेस र नेकपाबीच कडा टक्कर पर्ने देखिएको छ ।
बागलुङ क्षेत्र नं. २ ‘ख’
बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘ख’ सदस्य टेकबहादुर घर्तीको निधनपछि सो क्षेत्रमा पनि उपनिर्वाचन हुँदैछ । सांसद घर्तीको अघिल्लो वर्ष मङ्सिर २७ गते दिल्लीमा निधनपछि सो क्षेत्र खाली रहेको छ । यो निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ३८ हजार ७ सय १ मतदाता रहेका छन् ।
वाम गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सांसद घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका जित शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए । सो निर्वाचनका बेला त्यहाँ कूल ३३ हजार २ सय ४० मतदाता रहेका थिए ।
नेकपा, जनमोर्चा र काँग्रेसबीच बराबरी हाराहारीमा मतदाता रहेको यो क्षेत्रमा यी दलहरू गठबन्धन नबनाई छुट्टाछुट्टै निर्वाचनमा होमिए भने कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेकपा र जनमोर्चाको गठबन्धन बन्यो भने काँग्रेसलाई गाह्रो पर्नसक्छ । यो क्षेत्रमा उपनिर्वाचनका लागि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा ४२ मतदानस्थल र बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल राखिनेछ ।
यी हुन उपनिर्वाचन हुने स्थानीय तह
धरान उपमहानगरपालिका
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मृत्युपछि सो उपमहानगरपालिका प्रमुखविहीन छ । मेयर सुब्बाको ०७५ साउन १ गते निधन भएको थियो ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए ।
यस्तै माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए । त्यसबेला माओवादी केन्द्रले सङ्घीय समाजवादी दलसँग गठबन्धन गरेको थियो ।
धरान उपमहानगरपालिकामा कूल मतदाता ७९ हजार २ सय ८२ रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाको मत बढेका कारण सो उपमहानगरपालिकामा यसपटकको निर्वाचन सहजै जित्ने आँकलन गर्न सकिन्छ ।
निर्वाचन आयोग सुनसरीका अनुसार ०७६ असार मसान्तसम्ममा करिब १६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । काँग्रेसले धरानका २० वटा वडामध्ये ५ वटा वडामा चुनाव जितेको थियो । तत्कालीन माओवादी केन्द्रले एउटा वडामा मात्रै जितेको थियो । बाँकी सबै वडामा तत्कालीन एमालेले जितेको थियो ।
सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष
झन्डै एक वर्ष अगाडि सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्कबहादुर कटुवालको सडक दुर्घटनामा परी निधन भएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका उनले ७ हजार ८ सय मतदाता रहेको सो गाउँपालिमा १७ सय १२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राईबहादुर राईले ९ सय ५५ मत मात्रै प्राप्त गरेका थिए ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष
गत वर्ष माघमा पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको एक कार्यक्रममा बोल्दा बोल्दै निधन भएको थियो । सो स्थानमा गाउँपालिका अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । नेम्वाङ नेपाली काँग्रेसबाट उम्मेदवार बनेका थिए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नेम्वाङले ४ हजार १ सय ६३ मतका साथ विजय हासिल गरेका थिए । उनले तत्कालीन एमालेका वीरबहादुर कुरुवाङलाई ७ सय ९६ मतले पराजित गरेका थिए । कुरुवाङले ३ हजार ३ सय ६७ मत हासिल गरेका थिए ।
यस्तै तेस्रो स्थानमा रहेका तत्कालीन माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङले ७ सय ४४ मत हासिल गरेका थिए । तत्कालीन सङ्घीय समाजवादी फोरमका रामकुमार नेम्वाङले ४ सय ९०, राष्ट्रिय जनमुक्ति पार्टीका जितेन चेम्जोङले ३ सय ११ र राप्रपाका कमल चेम्जोङले २ सय ३४ मत हासिल गरेका थिए ।
अघिल्लो चुनावमा काँग्रेस, एमाले र माओवादी बाहेक अन्य साना दलका अध्यक्षका लागि १ हजार ३४ मत झरेको थियो । अहिले पार्टी एकताको सन्दर्भमा तत्कालीन अवस्थामा माओवादी र एमालेले पाएको मत जोड्दा ४ हजार १ सय ११ मत हुन्छ जुन काँग्रेस एक्लैले पाएको भन्दा ५२ मत कम हो । त्यतिबेला कूल मतदाता १४ हजार ७ सय ४ रहेकोमा अहिले मतदाताको सङ्ख्या पनि बढेको छ । अघिल्लो मत परिणामलाई हेर्ने हो भने काँग्रेस र नेकपाबीच कडा टक्कर पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी