बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपाधि दौड बलियो बनाउँदै लिभरपुल

आइतबार, १७ कात्तिक २०७६, ०८ : ३५
आइतबार, १७ कात्तिक २०७६

लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलले हरायो । एस्टनमाथि लिभरपुलले पुनरागमन जित निकालेको थियो ।

एस्टन भिल्लाले घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ट्रेजेग्वेटले २१औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुलले ८७औं मिनेटमा बराबरी गोल फर्कायो । लिभरपुलका एन्डी रोबर्टसनले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि इन्जुरी समयमा साडियो मानेले हेडमार्फत निर्णायक गोल गर्दै लिभरपुलको जित पक्का बनाए । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ११ खेलबाट ३१ अंक बनाएको छ । ११ अंक बनाएको एस्टन भिल्ला १६औं स्थानमा छ ।

यसैगरी शनिबार रातिनै भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले साउथ ह्याम्पटनलाई २–१ गोलले हरायो । खेलमा सुरुवाती गोल साउथ ह्याम्पटनले गरेको थियो । १३औं मिनेटमा जेम्स वार्ड प्रोसले गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । त्यसपछि सिटीले दोस्रो हाफमा मात्र गोल फर्काउन सकेको थियो । सर्जियो एगुरोले ७०औं मिनेटमा बराबरी गोल फर्काए । ८६औं मिनेटमा केल वाल्करले निर्णायक गोल गर्दै सिटीको जित पक्का बनाए । जितसँगै सिटीले २५ अंक बनाएको छ । आठ अंक बनाएको साउथ ह्याम्पटनले रेलिगेसन जोगाउन सकेको छैन ।

अर्को खेलमा वाटफोर्डलाई उसैको मैदानमा २–१ गोलले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको जितमा टमी अब्राहमले पाँचौं र क्रिस्टियन पुलिसिकले ५५औं मिनेटमा गोल गरे । वाटफोर्डका लागि जेरार्ड डेउजोफिउले ८०औं मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काए । जितसँगै चेल्सीले २३ अंक बनाएको छ । पाँच अंक बनाएको वाटफोर्ड अन्तिममा छ ।

लिगका अन्य खेलमा ब्राइटनले नर्विच सिटीलाई २–०, सेफिल्ड युनाइटेडले बर्नलीलाई ३–० र न्याुक्यासलले युनाइटेडले वेस्टहाम युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ । आर्सनल र वल्भरह्याम्टन वान्डर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

                                   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप