शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : सागको तयारीदेखि पुनःनिर्माणका विषयसम्म

आइतबार, १७ कात्तिक २०७६, ०७ : १५
आइतबार, १७ कात्तिक २०७६

दक्षिण एसियाको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग) को १३ औं संस्करण सुरु हुन एक महिना पनि बाँकी छैन तर आयोजक राष्ट्र नेपालले त्यसको तयारीको कामहरु गर्न नसकेको भन्दै चासो व्यक्त गरिएको छ । 

सन् १९८४ मा पहिलोे साग नेपालबाटै सुरु भएको नेपालले गर्न सक्ने सबैभन्दा ठूलो खेल महोत्सवका विषयमा हेलचेक्रेयाइँ नगर्न सुझाव दिँदै आजको कान्तिपुर दैनिकले ‘साग तयारी चाहिएको अग्रसरता’ शीर्षकमा सम्पादकीय लेखेको छ । यस प्रतियोगितालाई सरकारले सफलतापूर्वक गर्न नसकेमा खेलकुदमात्र नभइ देशले नै आलोचना खेप्नुपर्ने अवस्थालाई सम्पादकीयमा औंल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी तोकेपछि गृह मन्त्रालयले सबै महाशाखा प्रमुख तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसित गरेको सम्झौताअनुसारको नतिजाबारे ‘रिपोर्टकार्डको प्रभावकारिता’ शीर्षकमा आजको नयाँ पत्रिकाले  सम्पादकीय लेखेको छ । सम्पादकीयमा कर्मचारीद्वारा प्रवाहित सेवा र सुशासनको पारदर्शी र प्रक्रियासम्मत ढंगले मूल्यांकन भई त्यसको रिपोर्टकार्डसमेत आउँदा कर्मचारीमा कामप्रतिको उत्साह बढी प्रतिस्पर्धाको भावनासमेत वृद्ध हुन सक्ने उल्लेख गरेको छ । 

आजको अन्नपूर्ण पोष्ट् दैनिकले संयुक्त राष्ट्रसंघमा देखिएको आर्थिक संकटबारे ‘संकटमा राष्ट्रसंघ’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा विश्वका १९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्थाले शक्तिसम्पन्न मुलुकहरुबीचको खिचातानी कारण संकटमा परेको उल्लेख गरेको छ । सम्पादकीयमा संघ जोगाउने दायित्व सदस्य राष्ट्रहरुको  हो भनिएको छ । 

त्यसैगरी आजको नागरिक दैनिकले पछिल्लो सात महिनायता पेरिटोनियल डायलाइसिसका बिरामीले अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्याताका विषयलाई सम्पादकीयमा समेटेको छ । ‘मिर्गौला रोगीको पीडा’ शीर्षकमा उसले सरकारले मिर्गौला रोगीको उपचार निःशुल्क गर्ने भने पनि यो उपचार पूर्णरुपमा निःशुल्क नभएको उल्लेख गरेको छ ।

आजको गोरखापत्र दैनिकले छठ पर्वको विशेषमा आधारित रहेर सम्पादकीय लेखेको छ । ‘मन र माटो जोड्ने पर्व’ शीर्षमा लेखिएको सम्पादकीयमा छठसहितका पर्वले व्यक्ति, परिवार, समुदाय र राष्ट्रलाई जोड्ने गरेको उल्लेख गरिएको छ । नेपालीको उदात्त सहिष्णुताले एक अर्को संस्कृतिलाई सम्मान गरेको उल्लेख गरिएको छ ।  

त्यसैगरी चार वर्षअघिको भूकम्पपश्चात् क्षतिग्रस्त सार्वजनिक र निजी स्वामित्वका संरचनाको पुनःनिर्माणमा उल्लेख प्रगति भएको सरकारी दावी र वास्तविकताबीचमा तुलना गरेर आजको नेपाल समाचारपत्र दैनिकले आफ्नो सम्पादकीय लेखेको छ । ‘पुनःनिर्माणमा सहजीकरणको खाँचो’ शीर्षकमा लेखिएको सम्पादकीयले तीनै तहका सरकारले पुननिर्माणमा विशेष समन्वय गर्नुपर्ने विषयलाई उठाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप