शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुलमानको कमाल : एक वर्षमै प्राधिकरणको आम्दानी १५ अर्ब रुपैयाँ बढ्यो

बिहीबार, ०१ भदौ २०७४, १४ : २३
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–नेपाल विद्युत प्राधिकरणले व्यवस्थापकीय सुधार गरेपछि एक वर्षमै आम्दानी १५ अर्ब रुपैयाँ बढाएर ५० अर्ब २२ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । 

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै व्यवस्थापकीय प्रद्धतीमा ब्यापक सुधार गर्दै प्राधिकरणले आम्दानी मात्र बढाएको छैन मुनाफा समेत कमाएको छ । 

प्राधिकरणले गत आर्थिक बर्षमा यो आम्दानी गरेको हो । प्राधिकरणको ३२ औं बार्षिक उत्सवको अवसरमा बिहीबार कार्यकारी निर्देशक घिसिङले प्रतिवेदन पेश गर्दै अघिल्लो आवको तुलनामा आम्दानी १५ अर्ब रुपैयाँले बढेको बताए । उनका अनुसार प्राधिकरणले गत आव ०७३/०७४ मा २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा समेत आर्जन गरेको छ । अघिल्लो आवमा प्राधिकरण ३ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो । 

प्राधिकरणले १५ बर्षपछि सञ्चालन नाफा कमाएको हो । विद्युत चुहावट नियन्त्रण  व्यवस्थापनका कारण सञ्चालन नाफा भएको जनाइएको छ । यस्तै, प्राधिकरणको खुद नोक्सानी घटेर ९७ करोड ८९ लाख रुपैयाँमा आएको छ । अघिल्लो आवमा यस्तो नोक्सानी ८ अर्ब ८९ करोड रुपैयाँ रहेको जनाइएको छ । 

प्राधिकणले एक बर्षमा चुहावट नियन्त्रण, विद्याुत आयातमा औसतदरमा कमी, महसुल समायोजन, नियमित विद्युत आपुर्ती तथा विद्युत गृहहरुको मर्मत तथा सुधारका कारण नोक्सानी कम हुँदै गएको हो । सोही काण करिव ४३ प्रतिशतले आम्दानी बढेको प्राधिकणले जनाएको छ । 

प्राधिकरणको सो बार्षिक उत्सवमा दिइएको जानकारी अनुसार खर्च ३६ अर्ब ८ करोड रुपैयाँवाट बढेर ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । घिसिङका अनुसार प्राधिकरणका ग्राहक संख्या २९ लाख ७० हजारवाट वढेर ३२ लाख ६० हजार पुगेका छन् । यस्तै, २५.७८ प्रतिशत रहेको चुहावट घटेर २२.९ प्रतिशतमा झरेको उनले बताए । 

यस्तै, गत आवमा ६ हजार २ सय ५७ गिगावाट आवर विजुली प्राप्त भएको प्राधिकरणले जनाएको छ । यो अघिल्लो बर्षको तुलनामा २३ प्रतिशत वढी हो ।

घिसिङले गत तिहारपछि नियमित विद्युत आपुर्तीमा सफलता पाउनु, चुहावट नियन्त्रण, विद्युत गृहहरुको मर्मत सुधारले सञ्चालन मुनाफा आर्जन गरेको बताए । तर, अघिल्लो बर्षको घाटाकै कारण खुद नाफा भने कमाउन नसकेको उनको भनाइ छ । आउँदो बर्ष भने प्राधिकरणले खुद नाफा आर्जन गर्ने घिसिङले बताए ।

ठूला क्षमताका प्रसारण लाइन बन्दैछन् 

वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक कुलमान घिसिङले दिनुभएको जानकारीअनुसार प्राधिकरणले उत्तर दक्षिण नदी बेसिनका आधारमा ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण अगाडि बढाइने भएको छ । यस्तै पूर्व–पश्चिम ४०० केभी क्षमताका प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिएको छ । 

विश्व बैंक, एशियाली विकास बैंक, युरोपेली बैंक, मिलिनियम च्यालेन्ज कर्पोरेशन अमेरिकाको सहयोगमा पूर्वदेखि पश्चिमसम्म उच्च क्षमताका प्रसारण लाइन निर्माणको योजना अगाडि सारिएको छ । 

त्यस्तै न्यू बुटवल–गोरखपुर र गल्छी–केरुङ अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइन आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना अगाडि सारिएको छ । यी अन्तरदेशीय प्रसारण लाइन विद्युत् आयात निर्यात, इनर्जी बैंकिङ तथा पावर ह्विलिङसमेतका लागि महत्वपूर्ण औजारका रुपमा रहेको घिसिङको भनाइ छ । 

समस्यामा रहेका आयोजना सम्पन्न गरिने 

प्राधिकरणले आफू र आफ्ना सहायक कम्पनीमार्फत अगाडि बढाएका आयोजना तोकिएको समयमा नै सम्पन्न गर्न हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३० मेगावाट, माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट आयोजनालाई तोकिएको समयमा निर्माण सम्पन्न गराउन हदैसम्मको प्रयास गर्ने र नयाँ आयोजना निर्माणमा ध्यान दिने प्राधिकरणले जनाएको छ । 

यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका २२५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने र आगामी असारसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ पहल गरिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप