मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा छठ पूजाको तयारी, छठ घाटहरु दुलहीझैँ सिंगारियो (फोटो)

शनिबार, १६ कात्तिक २०७६, १२ : ५२
शनिबार, १६ कात्तिक २०७६

जनकपुर । तराइ मधेसमा शनिबार छठ पर्व हर्षोलासका साथ मनाइँदैछ  । तराई मधेशमा अहिले आस्थाको पर्वको रुपमा मानिने छठको रौनकताले विभिन्न तलाउहरु दुलहीझैँ सजाइएको छ । 

जनकपुरमा पनि छठपूजाका लागि बनाइएका घटघाटहरुमा शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । त्यसका लागि घठघाटहरु दूलहीझैँ सिँगारिएको छ । 

कात्तिक मासको शुक्ल चतुर्थीेको दिनबाट सुरु हुने छठ पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यसपर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । यसपर्व गरिब, धनी तथा जातीय विभेद नगरी एक साथ एकै ठाउँमा मिलेर मनाइने हुँदा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन पनि सहायक सिद्ध हुने गरेको सांस्कृतिविद् डा. भोगेन्द्र झा बताउँछन् । 

छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । 

छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहीबार बिहानपख उदाउँदै सूर्यलाई अर्घ्य दिई पर्वको समाप्त गरिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप