केन्द्रीय संस्करण
पर्यटन

नेपालको ‘ताजमहल’ : धरोहर भएर पनि उपेक्षित

person explore access_timeकात्तिक १६, २०७६ chat_bubble_outline0

काठमाडौं । पाल्पाको ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित यो दरबार प्रेमको प्रतीक पनि मानिन्छ ।

तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं. १९५४ मा रानीमहल निर्माण गरेका थिए । पत्नी तेजकुमारी देवीको मृत्युपछि उनकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गराएका थिए । रानीलाई बगैंचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ ५ वर्ष लगाएर रानीमहल निर्माण गराएका थिए ।

रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको रानीमहललाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ । त्यसैले प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ (१४ फ्रेब्रुअरी) का दिन रानीमहलमा युगल जोडीको भीड लाग्ने गर्छ । 

अरु बेला प्रायः सुनसान जस्तै लाग्ने रानीमहलमा भ्यालेन्टाइन डेका दिन १४ हजारभन्दा बढी मानिस पुग्ने गर्छन् । रानीमहल सुरक्षा निकायका प्रहरी जवान रामेश्वर आचार्यका अनुसार रानीमहल अवलोकन गर्न दिनमा कति मानिस पुग्छन् भन्ने यकिन तथ्यांक छैन । उनले भने, ‘दिनमा ५–६ सयदेखि १४ हजारमाथिले समेत एकै दिन भिजिट गरेको रेकर्ड छ ।’ त्यहाँ पुग्ने पर्यटकको संख्या तलमाथि भइरहने उनले बताए । 

त्यसो त पछिल्लो समयमा रानीमहलमा पुग्ने पर्यटकको तथ्यांक राख्न थालिएको छ । केही अघिसम्म रानीमहलमा कति मानिस आए र गए भन्ने कुनै रेकर्ड राख्ने चलन थिएन । अहिले रानीमहलमा टिकटको व्यवस्था समेत गरिएको छ ।

तानसेन नगरपालिकाको पहलमा एक जना बराबर २० रुपैयाँको टिकट काटेर रानीमहल भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । 

रानीमहल पर्यटकीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण र ऐतिहारिक धरोहर मानिन्छ । भ्रमण वर्ष २०२० का लागि समेत यो एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । तर यसका लागि यहाँको व्यवस्थापन तथा सुरक्षा अवस्थामा सुधार ल्याउन जरुरी रहेको सरोकारवालाहरु बताउँछन् ।

संरक्षणमा वेवास्ता
मुलुक संघीयतामा गएपछि तीन तहका सरकार रहे पनि पछिल्लो समय रानीमहल संरक्षणमा कसैले पनि चासो दिएको देखिँदैन । ऐतिहासिक धरोहर तथा सम्पदाहरुको जिर्णोद्वार तथा संरक्षणको जिम्मेवारी पुरातत्व विभागको रहे पनि रानीमहलको संरक्षणमा विभागले खासै ध्यान दिएको देखिँदैन । २०६५ सालमा विभागले दरबारको मुख्य भागको मर्मत गरे पनि निरन्तरता र संरक्षणको अभावले दरबारको हविगत पुरानै अवस्थामा पुगेको छ ।

दरबारको उचित संरक्षण र सुरक्षाको अभावमा यहाँका महत्वपूर्ण र बहुमुल्यका वस्तुहरु समेत क्रमशः हराउँदै गइरहेका छन् । २०६३ सालमा रानीमहल परिसरमा रहेका विभिन्न देवालय तथा मन्दिरहरुको बहुमूल्य तामाको छानाहरु समेत चोरी भएको जानकारी दरबारको सूचना बोर्डमै उल्लेख छ । 

उचित संरक्षणकै अभावमा रानीमहल दरबारको संरचनाहरु बिग्रदै गएका छन् । दरबारका भित्ताहरु टुट्ने–फुट्नेदेखि ढुसी–लेउले बिग्रने र कुरुप देखिन थालेका छन् । त्यसो त दरबार संरक्षण तथा सुरक्षामा सहयोग पु¥याउने भन्दै करिव दर्जन संख्याका संघसंस्था तथा निकायहरु क्रियाशील रहेको बताइएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय पाल्पा, पर्यटन कार्यालय भैरहवा, जिल्ला भू–संरक्षण कार्यालय पाल्पा, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय पाल्पा, रानीमहल दरबार संरक्षण समिति पाल्पा, समाजसेवा असल शासन क्लब सदुका बटिचौर स्याङ्गजा, तानसेन नगरपालिका, कालीगण्डकी गाउँपालिका स्याङ्गजा र बगनासकाली गाउँपालिका पाल्पाले प्रत्यक्ष रुपमा दरबारको संरक्षणमा सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् । 
यता, दरबार रहेकै नगरपालिका तानसेन नगरपालिकाले समेत रानीमहलको संरक्षणमा उचित ध्यान दिन नसकेको जनाएको छ । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पुरातत्व विभागको निर्देशन र कार्ययोजना विना नगरपालिकाले आफैँले केही गर्न नसक्ने बताए ।

‘नगरपालिकाले दरबारको संरक्षण र जिर्णोद्दार कार्यमा ध्यान दिइरहेको छ । अहिले दरबारसम्म पानी पु¥याउने र सुरक्षा पोष्ट खडा गर्नेसम्मका काम भएका छन् । तर दरबारको जिर्णोद्दारकै काममा भने नगरपालिका आफैँले केही गर्न सक्दैन,’ शाहीले भने, ‘नेपाल सरकार पुरातत्व विभागको योजना, निर्देशनविना काम गर्न सकिँदैंन ।’

शाहीका अनुसार अहिले तानसेन नगरपालिकाले रानीमहल दरबार संरक्षण तथा जिर्णोद्दार कार्यको गुरु योजना बनाउँदै छ । यसको निर्णय भइसकेपछि पुरातत्व विभागमा पठाउने र विभागबाट स्वीकृति पाएपछि काम अघि बढाउने नगरपालिकाको योजना छ । यसले पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने शाहीले रातोपाटीलाई बताए ।

पहिलो पटक २०७३ मा जिर्णोद्दार
२०७३ सालमा पहिलो पटक रानीमहलको जिर्णोद्दार भएको थियो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पुरातत्त्व विभागको रोहबरमा रानीमहल दरबारको जिर्णोद्दार भएको हो ।

 विभागले कुल २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ २० पैसामा निर्माण व्यवसायी धर्म एस, तुलसी, पचली भैरव जेभी काठमाडौंसँग वि.स २०७२ भाद्र ३ गते जिर्णोद्दारका लागि सम्झौता गरेको थियो । जेभीले १९ महिना लगाएर २०७३ चैत्र मसान्तमा जिर्णोद्दार सम्पन्न गरेको हो ।

जिर्णोद्दारमा सम्झौताभन्दा बढी अर्थात्, ३ करोड ७ लाख ७८ हजार ८९ रुपैयाँ ३४ पैसा खर्च भएको दरबारको सूचना बोर्डमा उल्लेख छ । उचित संरक्षण र रेखदेख नहुँदा दरबार पुरानै अवस्थामा फर्किदै छ । 

भौतिक पूर्वाधारको अभाव
रानीमहलको पर्यटकीय विकास नहुनुमा भौतिक पूर्वाधारको कमी नै मुख्य कारक रहेको बताइन्छ । तानसेनदेखि रानीमहलसम्मको करिब १३ किलोमिटर सडकखण्ड व्यवस्थित हुन नसक्दा दरबार आउने पर्यटकहरुले सास्ती खेप्नु परिरहेको छ । रानीमहल जाने क्रममा पर्यटकले कच्ची ओरालो बाटोमा धुलो–हिलोको सामना गर्नु परिरहेको छ ।

हालैमात्र उक्त सडकखण्डको करिब आधाआधी बाटो पिच गरिएको छ । रानीमहल पर्यटकीय गन्तव्य भएर पनि त्यहाँ पुग्नका लागि बाटोको असुविधा कायम रहने हो भने पर्यटकको संख्या वृद्धि हुन सक्दैन । त्यहाँको पर्यटकीय विकासका लागि दरबारसम्म कै बाटो पिच हुन आवश्यक छ ।

तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही गत वर्षको बजेटले तानसेनदेखि रानीमहलसम्मको बाटो पिच गर्न नपुगेको बताउँछन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा भने सबै बाटो पिच गरिसक्ने उनले बताए ।
‘तानसेनदेखि रानीमहलसम्मको कुल १३ किलोमिटर बाटोको ६० प्रतिशत काम सकिएको छ ।

बाँकी ४० प्रतिशत काम यसै आर्थिक वर्षमा सम्पन्न गरिन्छ,’ शाहीले भने, ‘उक्त बाटो निर्माण र पिचका लागि नगरपालिकाले बजेट छुट्याइसकेको छ । यो आर्थिक वर्षको अन्तसम्ममा काम सकिसक्ने नगरपालिकाको योजना छ ।’

होटल, लज तथा होमस्टेको असुविधा
भौगोलिक अवस्थाका कारण पनि रानीमहल आसपासमा होटल व्यवसाय व्यवस्थित गर्न सकिएको छैन । पर्यटन व्यवसायमा होटल, लज तथा होमस्टेको व्यवस्थापन अनिवार्य मानिन्छ । उचित खानपान र बसोबासको व्यवस्था विना पर्यटकहरु त्यस्ता ठाउँहरुमा जान रुचाउँदैनन् । झन् रानीमहल वरपर त राम्रो मानव बस्ती समेत छैनन् । होटल, लज तथा होमस्टेका लागि माथि तानसेन नै चढ्नु पर्ने बाध्यात्मक स्थिति छ ।

खोलाको किनार, त्यो पनि जंगलको खोजमा हुँदा रानीमहलमा पर्यटन व्यवस्थापनमा उचित ध्यान पु¥याउन सकिएको देखिदैँन । यदि साँच्चै रानीमहलले आफ्नो पर्यटन वृद्धि विकास एवम् विस्तार चाहने हो भने यी कुराहरुमा ध्यान पु¥याउनु पर्ने देखिन्छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...