शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के हो मुटु बाथ रोग ?

शनिबार, १६ कात्तिक २०७६, १० : २४
शनिबार, १६ कात्तिक २०७६

मुटु बाथ रोग प्राकृतिक रुपमा आफैं हुने खालको रोग होइन । यो त मानिसले आफ्नो जीवनकालमा आफैले ल्याएको वा आफ्नै कारणले हुने रोग हो । मुटु बाथ रोग खास गरेर इन्फेक्सन अर्थात् संक्रमणको कारणले हुने गर्छ ।

चिकित्सा विज्ञानमा भएको प्रगतिका कारण विकसित देशहरुमा यो रोगमाथि एक किसिमले पूरै नियन्त्रण पाइसकिएको छ । त्यसैले के भन्ने गरिन्छ भने विकसित देशमा मुटु बाथ रोग लोप हुँदै गइरहेको छ । तर दुःखको कुरा, विकासोन्मुख देशमा भने मुटुको रोगहरुमध्ये यो सबैभन्दा अगाडि देखिन्छ । त्यसो त विगतमाभन्दा अहिले यो रोगको समस्यामा केही कमी अवश्य पनि आएको नेपाल मेडिसिटी अस्पताल क्रिटिकल कियर विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. लभ नरसिंह जोशी बताउँछन् ।

खासगरी, शहरी क्षेत्रहरुमा यो समस्या लिएर अस्पताल पुग्नेको संख्यामा निकै कमि आएपनि ग्रामीण भेगमा अझै यो समस्या बाँकी नै रहेको छ । ४० वर्षमुनिका मुटु रोगीहरुमा यो रोगबाट मृत्यु हुनेको संख्या धेरै छ ।

मुटु बाथ रोगको सुरुवात किशोरावस्थामै हुन्छ । किशोरावस्थामा देखिने यो रोग पछि गएरमहिलाहरुमा बढी देखिने गरेको छ ।

प्रारम्भिक चरणमा ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका लक्षण देखिने हुन्छ । त्यसको राम्ररी उपचार हुन नपाउँदा त्यही संक्रमण फैलिएर मुटुको भल्भमा समेत असर गर्न थाल्छ । हो त्यसरी हुने संक्रमणलाई नै जम्माजम्मीमा मुटु बाथ रोग भनिन्छ ।

किशोरावस्थामा घाँटीमा हुने संक्रमण र मुटु बाथरोगको घनिष्ठ सम्बन्ध हुन्छ । किशोरावस्थामा घाँटीमा हुने संक्रमणलाई बोलीचालीमा टन्सिल भएको भनिन्छ भने त्यसको चिकित्सीय नाम चाहिँ टन्सिलाइटिस हो । यो समस्या घाँटीको ग्रन्थीमा संक्रमण भई सुन्निने, निल्न गाह्रो हुने, दुख्ने जस्ता यो समस्या ‘स्ट्रेप्टोकोकस व्याक्टेरिया’को कारणले हुन्छ । टन्सिलाइटिसको समयमा उपचार नभएमा मुटु बाथ रोग लाग्छ । हुन त कतिलाई स्ट्रेप्टोकोकसको संक्रमण हुँदामै बाथ रोग लागिहाल्छ भन्ने हुँदैन ।  राम्रो उपचार भयो भने त्यो समस्या त्यहीँ निको भएर जाने डा. जोशी बताउँछन् । तर कतिपयलाई चाहिँ त्यो समस्या निको भएको जस्तो देखिए पनि वास्तवमा निको भएको हुँदैन । फलतः त्यसले जटिलता थपिन्छ ।

यो रोगको शुरुमा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुन्छ । संक्रमण बढ्दै गएपछि शरीरको अन्य भागलाई असर गर्छ । शुरुको अवस्थामा औषधि नगरेमा मुटुको भल्भहरू सुन्निने, खुम्चिने र फुक्ने आदि जस्ता समस्या भई मुटुको रोग लाग्छ । जसलाई ‘रुमेटिक हार्ट डिजिज’ पनि भनिन्छ ।

टन्सिलाइटिस भएर संक्रमण भएमा मुटुका भल्वमा सिधै असर गर्छ र मुटुका भल्वलाई नष्ट गरिदिन पनि सक्छ । यसले मुटुका भल्व अनावश्यक रुपमा बन्द गरिदिने वा चाहिने भन्दा बढी खोलिदिने समस्या पैदा गरिदिन्छ  । मुटुका भल्वहरु एकबाट रगत आउने र अर्कोबाट जाने प्रक्रिया चलिरहेको हुन्छ । यस्तोमा आउने वा जाने मात्र बन्द भएमा समस्या पैदा हुन्छ । यसले मुटुको चालमा असर गरिहेको हुन्छ ।

लक्षण

मुटु बाथ रोगको शुरुका लक्षणमा घाँटी दुख्ने र विस्तारै शरीरको जोर्नीहरु दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो लामो समयसम्म पनि आउन सक्छ । ज्वरोको लक्षण केही सातादेखि केही महिनासम्म पनि रहनसक्छ । ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका समस्याहरु  देखिन्छ । यो विस्तारै बढ्दै गएपछि मुटुको भल्भमा असर गर्छ । जोर्नी दुख्ने, सुन्निने यो रोगको अर्को प्रमुख लक्षण हुन् । खासगरी ठूला जोर्नीहरू सुन्निने र दुख्ने हुन्छ ।

स्ट्रेप्टोकोकसको संक्रमणलाई राम्रो उपचार नहुँदा आखिरमा गएर त्यसले सोझै मुटुमा असर गर्छ । त्यस संक्रमणले गाँजेपछि मुटुको मांसपेशी बाहिर सुन्निने, पानी जम्ने र मुटुको चाल मै गडबडी आउने जस्ता जटीलताहरु देखापर्न थाल्छ ।

कसैकसैलाई स्ट्रेप्टोकोकस इन्फेक्सनले जोरो आउने र मस्तिष्कलाई पनि असर गर्ने गर्छ । तर धेरैको भने मुटुका भल्वहरुमा असर गर्छ ।

रोकथाम र उपचार

निश्चय नै आम जनताको जीवनस्तर सुधार गर्नु र संक्रमणको अवस्थाबाट उनीहरुलाई जोगाउनु यो रोगको नियन्त्रणमा सबैभन्दा प्रभावकारी उपाय हो । त्यसबाहेक,  यो रोगको बारेमा व्यापक प्रचारप्रसार गरेर प्रारम्भिक अवस्थामै उपचार गर्ने हो भने यो रोगलाई नियन्त्रण गर्न र उपचार गर्न सजिलो हुन्छ । 

डा. जोशी भन्छन्, ‘मुटु बाथ रोग बढी समस्या महिलाहरुलाई हुने भएकाले यो रोगले प्रजनन स्वास्थ्यमा पनि असर गर्न सक्छ । त्यसैले, किशोरावस्था ‘स्कूल जाने’ उमेरका केटा केटीमा यस्ता समस्या आउन नदिने र आएमा समयमै उपचार थाल्नु बुद्धिमानी हुन्छ ।’ 

शुरुमै घाँटी दुखेको अवस्थामै उपचार गरेमा यो रोगले मुटुसम्म संक्रमण गर्न पाउँदैन । केही गरी मरोग लागिहालेमा मुटुको चाललाई बढी असर गर्ने भएकाले विशेष सतर्कता अपनाउनु पर्छ । अझ महिलाको प्रजनन स्वास्थ्यमा त झनै असर गर्न सक्ने भएकाले संक्रमणबाट बचाउन चिकित्सकको सिफारिस र स्वास्थ्यकर्मीको निगरानीमा पेनिसिलिनको इन्जेक्सन वा ट्यावलेट दिने गरिन्छ । औषधी सेवन अथवा इन्जेक्सन भनेको फेरि पनि प्रतिरोधात्मक उपचार मात्रै हो । सबैभन्दा बुद्धिमानी त यो रोग लाग्ने अवस्था आउन नदिनु नै हो । त्यसैले यो रोग लाग्न नदिनको लागि समयमै यसबारे सचेत हुनु नै सबैभन्दा प्रभावकारी उपचार हो भन्दा फरक पर्दैन ।

तर केही गरी समस्या देखापरिहालेमा पनि आत्तिनु हुँदैन । यस रोगसम्बन्धी लक्षणहरु देखापरेमा तुरुन्त डाक्टरको सल्लाह लिइहाल्नुपर्छ ।

यदी घाँटी दुखेको छ भने स्ट्रेप्टोकोकस इन्फेक्सन छ कि छैन जाँच गराईहाल्नु राम्रो हुन्छ । यस्तो समस्यामा मुटुको जाँच गराउनु पनि बुद्धिमानी हुन्छ ।

यो समस्याले आक्रमण गरेर मुटुको भल्वहरु बन्द छ भने तत्काल अपरेशन गरेर खोल्ने काम गरिन्छ । कहिले काँही भल्व  धेरै खुुलेको छ वा च्यातिएको हुन सक्छ । यस्तोमा भल्वको मर्मत गर्न सकिन्छ । यो रोगको संक्रमणले मुटुको भल्व धेरैनै विग्रेको छ भने कृत्रिम वा यान्त्रिक भल्व राखेर पनि मुटुको चाल सामान्य अवस्थामा ल्याउन सकिन्छ ।

कतिपय मानिसहरुले बाथ रोग र मुटुको बाथरोग एकै हो भनेर ठान्ने गर्छन् । तर वास्तवमा, बाथ रोग र मुटु बाथ भिन्न रोग हो । मुटुबाथ इन्फेक्सनबाट हुने रोग हो । वाथ रोग चाहिँ अन्य कारणहरुले हुने गर्छन् ।

नेपालको परिवेशमा हेर्दा अहिले यो रोगमा केही कमि देखिएको छ । पहिला पहिला औषधीको पहुँच नहुँदा यो समस्या निकै बढी थियो भने अहिले यसमा कमी आएको छ ।

टन्सिलाइटिस भइहालेमा इन्फेक्सनबाट बच्न एन्टिबायोटिक चलाउनु पर्ने हुन्छ अहिले अस्पतालको पहुँच सहज भएकाले समस्या भइहालेमा डाक्टरकोमा जाने चलन पनि बढेकोले इन्फेक्सन भईहाल्न भने पाउँदैन । कतिलाई सामस्या आएपनि वेलैमा एन्टिबायोटिक्स चलाउँदा निको हुन्छ । २० वर्ष अगाडि यस्ता समस्या भएका धेरै विरामी भेटिन्थे भने अहिले निकै कम भएको छ ।

यो रोगको निदान र उपचारका लागि मुटुको शल्यक्रिया पनि गराउनुपर्ने हुन्छ । हाल नेपालका मुख्य मुख्य अस्पतालहरुमा यो शल्यक्रिया हुने गरेकाले समयमै डाक्टरसँग सल्लाह लिन डा. जोशीको सुझाव छ ।

हुन त सरकारले पनि मुटु बाथरोगबाट जोगिन विभिन्न कार्यक्रमनै ल्याएको थियो । गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले मुटु बाथरोगको निःशुल्क शल्यक्रिया गर्ने घोषणा पनि गरेका थिए । त्यतिवेला त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कूलर सेन्टर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा निस्शुल्क शल्यक्रियाको सुरुवात गरेका थिए ।

नेपालमा मुटु रोगको समस्या बढ्दै गएकाले मुटु बाथ रोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गरिएको मन्त्रालयले जनाएको थियो ।

०७३ देखि सरकारी अस्पतालमा बाथ मुटुरोगको सबै उमेर समूहको निशुल्क सर्जरी हुँदै आईरहेका छ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्थापनाकालदेखि नै औषधि पनि निःशुल्क प्रदान गर्दै आईरहेको छ ।

सरकारले ’ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि बाथ मुटु रोग लाग्ने भएकाले ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका लक्षण देखिनासाथ उपचार गराउन सचेतना नै जगाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप