शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा प्रतिनिधि र प्रदेशसभा उम्मेदवार छनोटमा भागबण्डा : देउवालाई २, पौडेल–सिटौलालाई बराबर

शुक्रबार, १५ कात्तिक २०७६, १९ : २७
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसमा गुटगत आधारबाट उपनिर्वाचनका लागि उम्मेदवारी छनोटको तायरी भएको बुझिएको छ । पार्टी पदाधिकारीसहित गुटको प्रतिनिधित्व हुने गरी संसदीय समितिको अधिकार पार्टी पदाधिकारी दिइएको छ ।

उम्मेदवार चयन गर्ने आधिकारिक निकाय संसदीय समिति नभएकाले केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पदाधिकारीलाई अधिकार प्रत्यायोजित गरेको हो । महामन्त्री डा. शशांक कोइरालाले पार्टी विधानको धारा ३२ को ८ को ‘घ’ र ‘ङ’ बमोजिम संसदीय समितिको अधिकार पार्टी पदाधिकारीलाई प्रत्यायोजन गर्ने प्रस्ताव केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको थियो ।


काँग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ सदस्य पदाधिकारी छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गर्ने निर्णय गरेको छ । पौडेलले संस्थापन इतरको नेतृत्व गर्दै आएका छन् भने सिटौलाले तेस्रो गुटको नेतृत्व गर्दै आएका छन् । 

पार्टी पदाधिकारीपछि पहिलो वरियतामा रहेका नेता गोपालमान श्रेष्ठले बैठकमा उक्त प्रस्तावमाथि विमति प्रकट गरेका थिए । उनले उम्मेदवारी छनोटमा आफूलाई समावेश नगरिएको भन्दै चर्को असन्तुष्टि जनाएका हुन् । आफूभन्दा मूनिको वरियतामा रहेका नेता सिटौलालाई गुटगत आधारमा प्रतिनिधित्व गराइएकोप्रति उनको असन्तुष्टि थियो । 

बैठकमा उक्त प्रस्तावमाथि पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, एनपी साउद र महेन्द्र यादवले आ–आफ्नो धारणा राखेका थिए । जसमा विधान विपरीत उम्मेदवार चयन गर्न लागिएको भन्दै नेताहरु सिंह, आचार्य, केसीलगायतले पनि असन्तुष्टी जनाएका थिए । काँग्रेसमा सिंह पनि सिटौलाभन्दा वरियतामा अघि छन् ।


यता बैठकपछि पार्टी कार्यालयमा नेता श्रेष्ठ भनिरहेका थिए, ‘पार्टीमा मलाई माइनस गर्न यस्तो खेल भइरहेको छ । उहाँहरु (देउवा, पौडेल र सिटौला)बीच उम्मेदावर छनोटमा भागबन्डा मिलेको छ । मैले भागबण्डाको विरोध गर्छ भनेर आउट गरियो ।’ उपनिर्वाचन हुने प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारमा तीन नेताबीच भागबण्डा भएको उनको दाबी छ । 

तर यसपटक उम्मेदवारी चयन गर्ने कार्य पहिलेभन्दा बढी लोकतान्त्रिक र व्यवहारिक भएको पार्टी प्रवक्ता शर्माको दाबी छ । साथै श्रेष्ठले पार्टी सभापति देउवाले आफूलाई बारम्बार अन्याय गर्दै आएको बताएका थिए । देउवा निकटका नेताहरुले सिटौलालाई समावेश गरिएकोप्रति विमति देखाएका छन् ।

देउवा निकट एक केन्द्रीय सदस्यले रातोपार्टीसँग भने, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रसङ्गमा सभापति ज्यूले सिटौलालाई काखी च्याप्नुभयो । भलै कार्यसम्पादन समिति गठन भएन । तर सिटौलाजीले एजेण्डागत रुपमा अर्को पक्षलाई साथ दिँदै आउनु भएको छ । उम्मेदवारी छनोटमा वरिष्ठ नेता रहनु स्वभाविक थियो । तर उहाँलाई राख्नै पर्ने कारण त केही देखिँदैन । होइन भने उहाँभन्दा सिनियर नेताहरुलाई पनि राख्नुपथ्र्यो ।’


उम्मेदवारीको भागबण्डा

 श्रेष्ठका अनुसार कास्की क्षेत्र–२ को प्रतिनिधिसभामा पौडेल, प्रदेशसभा निर्वाचन क्षेत्रम अन्तर्गतको भक्तपुर र दाङमा देउवा र बाग्लुङमा सिटौला समुहलाई टिकट दिइने सहमति भएको छ । बाग्लुङको प्रदेशसभामा नेता श्रेष्ठले आफ्नो मान्छेलाई टिकट दिनुपर्ने अडान राखेका थिए ।

तर उक्त सिट सिटौलालाई दिइएपछि नेता श्रेष्ठ आक्रोशित बनेको बुझिएको छ । उम्मेदवारी चयनका लागि पार्टी पाधिकारीले सभापति देउवा निवास बूढानीलकण्ठमा केही दिनदेखि छलफल गर्दै आएका थिए ।


काँग्रेसमा पौडेलसँगै सिटौलाको उपस्थित पनि अनिवार्य बन्दै गएको छ । यता प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकांक्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बाग्लुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ । तर तीन नेता गुटगत भागबण्डाका आधारमा उम्मेदवारको अन्तिम छनोट गर्ने सहमतिमा पुगेको श्रेष्ठको दाबी छ ।
उम्मेदवारको अन्तिम टुङ्गो लगाउन काँग्रेस पदाधिकारी बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २८ सिट दाउमा छन् भने काँग्रेसका १४ सिट दाउमा छन् । जसमा नेकपाका एक प्रतिनिधिसभा र २ प्रदेशसभा सिट दाउमा छन् भने जनमोर्चाको प्रदेशसभामा एक सिट दाउमा छ ।

गत निर्वाचनमा यी क्षेत्रमा काँग्रेस मूल प्रतिस्पर्धी थियो । प्रतिनिधि र प्रदेशसभामा भागबण्डा गरेको काँग्रेसले स्थानीय तहमा उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेको छ । यता आजको बैठकले सुनसरीको धरान उपमहानगरपालिकामा हुने नगर प्रमुखको उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका तिलक राईको उम्मेदवारीलाई अनुमोदन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप