शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले भाषण दिइरहँदा थुप्रै आदिवासीलाई पक्राउ गरियो

शुक्रबार, १५ कात्तिक २०७६, १३ : ०५
शुक्रबार, १५ कात्तिक २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि सन् २०१४ देखि हरेक वर्ष वल्लभ भाइ पटेलको जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष राष्ट्रिय एकता दिवसको मौकामा मोदी गुजरात पुगे जहाँ उनले आफ्नो भाषणको क्रममा हरेक भारतीयले पटेलको एकताको विचारलाई महसुस गर्न सक्ने बताएका छन् ।

स्ट्याचु अफ युनिटीमा गरिएको आफ्नो भाषणका क्रममा मोदीले भने, ‘आज सबैभन्दा अग्लो मूर्तीको मुनी हामी पटेलको आवाज सुन्न सक्छौं ।’

उनले थपे, ‘म खुसी छु कि मैले पटेलको सपनालाई वास्तविकतामा परिणत गर्न पाएँ । पटेलको जन्मदिनमा जम्मू–कश्मीर र लद्दाख एउटा सुनौलो भविष्यतर्फ अघि बढिरहेको छ ।’

उनले भने, ‘धारा ३७० ले जम्मू–कश्मीरलाई मात्र अलगाववाद र आतंकवाद दियो ।’

Photo: PIB

मोदीले भने, ‘यो देशमा यो एउटा एक्लो स्थान थियो जहाँ धारा ३७० लागू थियो । जहाँ पछिल्ला तीस वर्षमा चालिस हज़ार बढीको मृत्यु भयो र आतंकवादका कारण कति आमाले आफ्ना छोरा गुमाए । अब ३७० को यो पर्खाल भत्केको छ ।’

‘धारा ३७० हटेपछि उनको आत्माले शान्ति पाउनेछ । पटेलले कश्मीरलाई भारतमा मिलाउने सपना देखेका थिए ।’

यतिबेला मोदीले थपे, ‘भारतको एकतामाथि हमलाको हरेक कोसिस हामी विफल पार्नेछौं ।’

मोदीले राष्ट्रिय एकता दिवसको परेडमा पनि भाग लिए ।

Photo: PIB

प्रदर्शनः

अर्कोतर्फ जसबाट स्ट्याचु अफ युनिटी बनाउनका लागि जमिन लिइयो उनीहरुले प्रदर्शन गरिरहेका थिए ।

यी स्थानीय आदिवासी जमिन र रोजगा।को मुद्दाका लागि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी राष्ट्रिय एकता दिवसलाई ‘कालो दिवस’ को संज्ञा दिइरहेका छन् ।

स्ट्याचु अफ युनिटी नजिकै सुरक्षाको कडा प्रबन्ध मिलाइएको छ जसका कारण त्यहाँ प्रदर्शन हुन सकेन । तर उनीहरुले गाउँमा जम्मा भएर प्रदर्शन गरे ।

आदिवासीहरुले स्ट्याचु अफ युनिटीका लागि उनीहरुको जमिन लिइएता पनि उचित रोजगार नदिएको दाबी गरिरहेका छन् ।  

स्थानीयलाई स्ट्याचु अफ युनिटी नजिकै खानेकुरा बेच्ने अनुमती दिइएको थियो तर अब उनीहरुलाई यसो गर्न पनि रोकिएको छ ।

स्थानीय आदिवासी महिला पिनल ताडवीले बीबीसीसँग भनिन्, ‘जब वनबन्धु योजना अनुसार खानेकुरा बेच्ने अनुमती दिइएको थियो तब मानिसहरु हामी भएठाउँ आउँथे जसमार्फत् हामीले केही पैसा कमाउँथ्यौं । मलाई लाग्यो कि यसमार्फत् मैले आफ्नो बालबच्चाको लालन पालन र उनीहरुको पढाईमा खर्च गर्न सक्नेछु ।’

उनी भन्छिन्, ‘तर पुनः अचानक उनीहरुले हामीलाई सामान बेच्ने प्रतिबन्ध लगाए । अब हामीसँग कुनै काम छैन । मेरो सबै सपना टुटेको छ ।'

Photo: PIB

प्रदर्शनकारीलाई पक्राउ गरियोः

मानिसहरु स्ट्याचु अफ युनिटीमा मोदीको कार्यक्रमविरुद्ध प्रदर्शन गरिरहेका थिए । प्रदर्शनमा उत्रिएका मानिसहरुले पुलिसले हिरासतमा लिए र उनीहरुलाई राजपीपला पुलिस मुख्यालय पुर्याइयो ।

पुलिस सब–इन्सपेक्टर सिएम गमितले २५ प्रदर्शनकारीलाई केवडियाबाट पक्राउ गरिएको बताएका छन् ।

 राजपीपलामा पुलिस इन्सपेक्टर आरएन राठवाले स्ट्याचु अफ युनिटी नजिकै प्रधानमन्त्रीको कार्यक्रम चलिरहेका बेला स्थानीयले प्रदर्शन गरेका कारण हिरासतमा लिइएको जानकारी दिए ।

अधिकारीले के भने ?

सरकारले विभिन्न पर्यटकीय स्थलको विकासका लागि उनीहरुको जमिन लिएको तर उचित मुआब्जा र रोजगार दिने वचन पूरा नगरेको आदिवासी जनताले आरोप लगाएका छन् ।

सरदार सरोवर पुनर्वास एजेन्सीका सिइओ एवं पुनर्वास आयुक्त आई के पटेलले उक्त आरोप गलत भएको दाबी गर्छन् ।

उनले बीबीसीसँग भने, ‘जुन पाँच सय बढी आदिवासीको जमिन लिइएको छ उनीहरुलाई आउटसोर्सिङ प्रोसेसमार्फत् स्थायी जागिर दिइएको छ । यसबाहेक करिब एक हजार व्यक्तिलाई अन्य योजनामा जागिर दिइएको छ ।’

उनी भन्छन्, ‘बदलामा स्थानीय जनतालाई उचित मुआब्जा र जमिन दिइएको छ । जसले मुआब्जा पाएका छैनन्, उनीहरुलाई सरकारले मुआब्जा दिने प्रस्ताव दिएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप