अनुष्का शर्मा किन भड्किइन् पूर्व क्रिकेटरमाथि ?

बलिउड अभिनेत्री एवं भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्माले भारतीय पूर्व क्रिकेटर फारुख इन्जिनियरको त्यो दाबीमाथि रोष व्यक्त गरेकी छिन् जसमा उनले विश्व कप सन् २०१९ का बेला क्रिकेट टिमका चयनकर्ताले अनुष्कालाई चिया दिएका थिए भनेका थिए ।
उनले ट्वीटर र इन्स्टाग्राममा एउटा पोष्ट सेयर गरेर यसबारे र त्यससँग जोडिएका सबै विवादित मामलामाथि कडा जवाफ दिएकी छिन् ।
अनुष्का शर्माले के लेखिन् ?
‘मनगढन्ते र फर्जी खबरसँग कसरी लड्ने ? यसबारे म सधैं यो सोच्छु कि तपाईं चुप लाग्नुहोस् र आलोचकलाई बोल्न दिनुहोस् । यसैमा विश्वास गर्दै मैले आफ्नो करियरको ११ वर्ष पूरा गरेँ । मैले सधैं आफ्नो मौनताको छायाँमा आफ्नो आत्मसम्मान र सत्य बलियोसँग उभिएको पाएँ ।’
‘तर यस्तो पनि भनिन्छ नि, पटकपटक झुटो दोहोराइन्छ भने त्यो साँचो लाग्न थाल्छ, ममाथि पनि त्यस्तै भइरहेको थियो । मेरो मौनताका कारण ममाथि लगाइएका झुटा आरोप साँचो लाग्न थालेका छन् तर आज यसको अन्त्य हुनेछ ।
म त्यतिबेला चुप लागेँ जब मेरो कारण मेरा श्रीमान् विराट कोहलीको प्रदर्शन बिग्रियो भनियो । म त्यो आधारहीन आरोपमाथि पनि चुप लागेँ जब म भारतीय क्रिकेटसँग जोडिएका सामग्रीसँग सम्बन्धित छु भनियो ।
मेरो नाम ती मनगढन्ते किस्सामा पनि समावेश गरियो जसमा म बन्द कोठामा हुने क्रिकेट टिमको बैठकमा समावेश हुन्छु र टिमको सेलेक्सन प्रक्रियालाई प्रभावित पार्छु भनियो । म चुप बसेँ ।
मेरो नाम गलत तरिकाले ती दाबीमा पनि प्रयोग गरियो जसअनुसार इन्डियन टिमको विदेशी भ्रमणमा आफ्नो श्रीमानसँग तोकिएको समयभन्दा धेरै समयसम्म बसेँ । जबकी मैले सधैं सबै प्रोटोकल फलो गरेँ । मानिसहरुले भनिरहे, तर म चुप बसेँ ।
जब मलाई एक हाई कमिश्नरकी श्रीमतीले सामुहिक तस्बिरमा आउन आग्रह गरिन् र निकै संकोचसहित म त्यो तस्बिरका लागि तयार भएँ, तब पनि बबाल भयो र उक्त कार्यक्रममा म जबरजस्ती समावेश भएको बताइयो जबकी मलाई निमन्त्रणा दिइएको थियो । तर क्रिकेट बोर्डले यसका लागि स्पष्टिकरण दिनुपर्यो तरपनि म चुप बसेँ ।
‘हरेक पटक नराम्रो लाग्यो, रिस उठ्यो’
यतिबेला जुन सबैभन्दा नयाँ झुट फैलाइँदैछ, त्यो यो हो कि विश्वकप प्रतिस्पर्धाको क्रममा क्रिकेट टिमको चयनकर्ताले मलाई चिया दिएका थिए !
यदि तपाईंले चयनकर्ता र उनीहरुको योग्यतामाथि कुनै टिप्पणी गर्नु छ भने आनन्दले गर्नुहोस् तर आफ्नो फर्जी दाबीमा सनसनी पैदा गर्नका लागि मेरो नाम प्रयोग नगर्नुहोस् ।
तपाईंले यस्तो घटिया कहानीमा मेरो नाम नझुण्डाउनुहोस् ।
यस्तो होइन कि यो अन्तिम ‘खबर’ ले नै मलाई सबैभन्दा धेरै पीडा दिएको छ जसका कारण मैले मौनता तोडेँ । हरेक पटक मलाई त्यति नै खराब लाग्छ र रिस उठ्छ ।
‘चुप बस्नुलाई कमजोरी नठान्नुहोस्’
त्यसकारण मेरो यो चिट्ठीलाई त्यो कथित खबरको जवाफ नबुझियोस् । मैले आज बोल्ने निर्णय गरेँ किनभने मलाई लाग्यो कि चुप बस्नुलाई कमजोरी नठानियोस् ।
तपाईंले आफ्नो एजेन्डा चलाउनु छ, कसैको आलोचना गर्नु छ भने वा मेरै श्रीमानको आलोचना नै किन गर्नु नपरोस्, तपाईं तथ्य र प्रमाणसहित गर्नुहोस् । तर मेरो नामलाई कृपा गरेर छोडिदिनुहोस् ।
मैले सबै गरिमालाई ध्यानमा राखेर आफ्नो दममा करियर बनाएको हुँ । म यसका लागि सम्झौता गर्न सक्दिनँ ।
केही मानिसलाई यो कुरा सायद नपच्ला । म आफ्नो मेहनतले सफल हुने एक स्वतन्त्र महिला हुँ जो एक क्रिकेटरकी श्रीमती पनि हुँ ।