शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की-२ उपनिर्वाचन: नेकपाको रोजाइमा रवीन्द्र पत्नी विद्या नै

बिहीबार, १४ कात्तिक २०७६, १९ : ३७
बिहीबार, १४ कात्तिक २०७६

पोखरा– कास्की क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीले तातेको छ । आउँदो मंसिर १४ मा हुन लागेको उपनिर्वाचनले कास्की २ आफू मात्रै तातेको छैन, सिंगो देशलाई नै तताएको छ । कास्की २ ले सिंगो देशलाई यो मानेमा पनि खिचेको छ किनकि यो तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको जिल्ला हो ।

विद्यार्थी राजनीतिबाट उदाएका रवीन्द्र गएको फागुन १५ मा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका थिए । यद्यपि, उनको पार्थिव शरीर अस्ताए पनि उनी कास्कीबाट अस्ताएका छैनन् । कस्केलीको मनमा रवीन्द्रप्रति उस्तै श्रद्धा सुनिन्छ । 

कास्की २ यतिबेला रवीन्द्रको उत्तराधिकारीको खोजीमा छ । ४ नम्बर प्रदेशका चिया पसलदेखि पत्रिकाको हेडलाइन कास्की २ कै उपनिर्वाचनका शीर्षकले भरिएका छन् । कास्की २ मा रवीन्द्रको उत्तराधिकारी को बन्ला ? सबैको चासोको विषय नै यही छ । 

रवीन्द्र पत्नी विद्या भट्टराई नै उनको उत्तराधिकारीको रुपमा चुनिने चर्चा बढी सुनिन्छ कास्कीमा । नेकपा कास्की जिल्ला कमिटीको गएको शुक्रबारको बैठकले पनि विद्याको मात्रै एकल नाम सिफारिस गरेको थियो । यद्यपि, नियम पुरा गर्न भन्दै प्रदेश कमिटीले थप २ जनाको नाम थपेर पठाएको छ । 

योसँगै रवीन्द्रको उत्तराधिकारीको लिस्टमा विद्यासँगै अब नेकपाबाट कास्की इन्चार्ज राजकाजी गुरुङ र सोमनाथ प्यासी पनि थपिएका छन् । यद्यपि, प्रमुख प्रतिपक्ष काँग्रेस र साना पार्टीले पनि कास्की २ लाई दाबी गर्न भने छोडेका छैनन् । 

नेकपा कास्की जिल्ला कमिटीका एक नेताका अनुसार उमेदवारको पहिलो प्राथमिकतामा रवीन्द्र पत्नी विद्या नै छिन् । केन्द्रबाट ३ जनाको नाम पठाउन पत्राचार गरेकाले नियम पु¥याउन मात्रै २ जनाको नाम थप गरिएको हो । ३ जनामध्ये केन्द्रले जसलाई उम्मेद्वार चयन गरे पनि बढी प्राथमिकता भने विद्यालाई नै दिइएको उनले बताए । 

यता, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा भने कास्की २ मा विद्या बाहेक अरु कसैको दाबी हुन नसक्ने बताउँछन्  । प्रदेशले त अरु २ जनाको नाम पनि थप गरेर पठायो नि ! अब पनि विद्या नै उमेदवारमा चयन हुन्छिन्  भन्ने प्रश्नमा उनले भने, ‘त्यो त के ठुलो कुरा भयो र ! प्रदेशले गर्न सक्छ । मेन ग्राउन्ड त जिल्ला हो नि ।’ उसो त नेकपाका गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पनि केन्द्रले ३ जनाको नाम सिफारिस गर्न भनेकाले उनीहरुको नाम पठाएको बताए ।  

नेकपाबाट विद्या नै उमेदवार चयन हुने अध्यक्ष थापाको ठोकुवा छ । जिल्लाले उनको मात्रै नाम सिफारिस गरेको छ । यसअर्थमा नेकपा कास्कीको रोजाइमा विद्या भट्टराईको नै सम्भावना छ  भन्ने प्रश्नमा उनले भने, ‘रोजाइ मात्रै होइन, उमेदवार नै उहाँ हो । सम्भावना मात्रै होइन, उमेदवार नै उहाँ हो । यही लेख्नुस् ।’

रवीन्द्रको जीवन संगिनी विद्या बिहेअघि पनि राजनीतिक सहयात्री थिइन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा दुबैले सँगसँगै काम गरेका थिए । अनेरास्ववियुको केन्द्रीय कमिटीमा दुबैले लामो समयसम्म काम गरेका थिए । 

अहिले विद्या राजधानीस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत छिन् । समाजशास्त्रमा एमफिल उनी अनेरास्ववियुको केन्द्रीय सचिव पदबाट राजिनामा दिएर घर गृहस्थीमा लागेकी हुन् । उनका दुई छोरा छन् । विराज र स्वराज । 
 
विद्याको चर्चा चियापसलमा मात्र सिमित छैन । नेकपा कास्कीको पनि पहिलो रोजाइमा छिन् । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १६ जना आकांक्षीको नाम सिफारिस गरेको छ भने रवीन्द्र मिश्र नेतृत्वको साझाले रजनी केसीलाई उमेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रिसकेको छ । बाबुराम, उपेन्द्र नेतृत्वको समाजवादी पनि उपनिर्वाचनमा भिड्नेछ । 

नेकपाले यही आउँदो २१ सम्ममा उम्मेद्वार घोषणा गर्ने नेकपाका कार्यकर्ताको भनाई छ । अघिल्लो चुनावमा रवीन्द्रले उनका प्रतिस्पर्धी काँग्रेसका देवेन्द्र चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले जितेका थिए ।

उनको पक्षमा कास्की २ मा २७ हजार २ सय ७ मत खसेको थियो भने उनका प्रतिस्पर्धी काँग्रेसका देवेन्द्र चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।  ०७४ को चुनावमा ७० हजार ६ सय ५१ मतदाता रहेकोमा यो उपनिर्वाचनमा मतदाता संख्या बढेर ७२ हजार ३ सय पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप