शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनबारे काँग्रेसको रणनीति तय : १७ गते अन्तिम उम्मेदवारी छनोट

बिहीबार, १४ कात्तिक २०७६, १५ : ५१
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगमी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक १७ गते मात्र उम्मेदवारी अन्तिम टुङ्गो लगाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार विहान बसेको पदाधिकारी बैठक उम्मेदवारको अन्तिम टुङ्गो १७ गतेसम्म लगाउने निष्कर्षमा पुगेको हो ।

पदाधिकारी बैठककैबीचमा प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘कात्तिक १७ गते साँझ पदाधिकारी वा केन्द्रीय कमिटी बैठकबाट उम्मेदवार छनोटको अन्तिम टुङ्गो लाग्ने निष्कर्षमा पुगेका छौँ ।  योबीचमा पार्टी सभापति र वरिष्ठ नेताज्यूले फिल्डमै गएर धारणा लिने काम पनि गर्नु हुनेछ ।’

उनका अनुसार जसका लागि १६ गते वरिष्ठ रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा कास्की र बाग्लुङका नेताहरुसँग थप राय लिने छन् । तनहुँबाट फर्केपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने सभापति शेरबहादुर देउवा र नेता पौडेलको तयारी छ ।

स्थानीय तहका उम्मेदवारहरु चयनको कार्य अन्तिम चरणमा पुगको भन्दै प्रवक्ता शर्माले भने, ‘गाउँ तहमा वडाका प्रायः उम्मेदवारहरु जिल्ला कार्यसमितिले नै चयन गरिसकेको छ । उप–महानगरपालिकाको हकमा  धरानको नगर कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कार्यसमितिले तिलक राईको नाम टुङ्गो लगाइसकेको छ ।’

उनका अनुसार तीनवटा प्रदेशसभा निर्वाचन क्षेत्रका दाङ, बाग्लुङ र भक्तपुरमा र एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र कास्कीका सन्दर्भमा पार्टी पदाधिकारी बैठकले निर्णय लिनेछ । यतिबेला काँग्रेसमा उम्मेदवार छनोट गर्ने आधिकारिक निकाय संसदीय समिति छैन । त्यसैले पदाधिकारी बैठकबाटै उम्मेदवार टुङ्गो लगाउने काँग्रेसको तयारी छ । विवादका कारण गत निर्वाचनपछि विघटन भएको संसदीय समिति पुनः गठन हुन सकेको छैन ।

शर्माका अनुसार शुक्रबार दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारी छनोटका विषयमा पार्टी पदाधिकारीसहित वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको सहमतिमाथि नीतिगत निर्णय लिनेछ । उनले भने, ‘त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । योसँगै हामी उम्मेदवारी चयनको विषयमा थप निष्कर्षमा पुग्छौँ ।’


आजको पदाधिकारीको बैठकको पहिलो चरणमा उपनिर्वाचन हुने जिल्ला वा क्षेत्रमा काँग्रेसको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल गरिएको थियो ।

सम्बन्धित क्षेत्रमा खेटेका प्रतिनिधिले त्यहाँ वस्तुस्थितिबारे पार्टी पदाधिकारीलाई बिफ्रिङ गरेको जानकारी दिँदै शर्माले भने, ‘जिल्लाको अवस्थाबारे उहाँहरुको विश्लेषण, सम्भावित उम्मेदवारहरुमा को कति उपयुक्त भन्नेबारे बैठकमा अलग–अलग रुपमा एक्लाएक्लै आफ्नो धारणा राख्नुभएको छ ।’

उम्मेदवारी चयन गर्ने क्रममा पहिलेभन्दा बढी लोकतान्त्रिक र व्यवहारिक होस् भन्ने उद्देश्यले उपनिर्वाचन हुने जिल्लामा खटिएका प्रतिनिधिहरुको राय लिइएको उनले बताए ।

शर्माका अनुसार जागरण अभियानमा खटिएका प्रतिनिधिसँग तीनवटा कोणबाट धारणा दिइएको छ ।

उनले यसबारे थप भने, ‘एउटा, चुनावका लागि संगठनात्मक अवस्था कस्तो छ ? दोस्रो,  हाम्रो मुल प्रतिस्पर्धीको अवस्था, मूल प्रतिपर्धीभन्दा बाहेकको अवस्था, उनीहरुसँगको सहकार्य हुनसक्ने अवस्थाकोे चित्रण र  तेस्रो उम्मेदवार चयन गर्दा प्रस्तावित उम्मेदवार साथीहरु हुनुहुन्छ । उहाँहरुमध्ये कसको पक्षमा माहोल छ ?’

प्रतिनिधिसभाका लागि कास्की क्षेत्र–२ बाट १६ जना आकाङ्क्षीको सूची केन्द्रीय कार्यालयमा आइपुगेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि भक्तपुरबाट १०, दाङबाट १३ र बाग्लुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको थियो ।

पार्टी विधान बमोजिम तीनजनाको नामको मात्र सिफारिस गर्नु भनि केन्द्रले दिएको निर्देशन विपरित यत्रो संख्यामा आएको छ ।

बढी आएको नामको सन्दर्भमा गत विहिबार बैठक रोकेर ध्यानाकर्षण गराएको शर्माले बताए । उनले भने, ‘तुरुन्तै अर्को नाम माग्ने क्रममा छैनौँ । जसको नाम आएको छ, अब ती नाममाथि छलफल हुँदैछ ।’

 काँग्रेस सभापति शेरबहादुर देउवाको निवास

काँग्रेसको रणनीति

काँग्रेस उपनिर्वाचन अंक गणितीय भागबण्डाका आधारमा सहकार्य नगर्ने राणनीतिमा पुगेको छ । ‘उपनिर्वाचनमा अन्य राजनीतिक दलसँग सहकार्यको विषयमा गणितीय हिसाब हुँदैन । उपनिर्वाचनको मैदानमा हेर्दा हामी विजयी भएको, या हामी मुल प्रतिस्पर्धी भएको चित्र देखिन्छ ।’

भागबण्डा बिना सरकार बाहिर रहेका राजनीतिक दलहरुलाई आफ्ना पक्षमा मतदान गराउन संवाद भइरहेको शर्माले बताए । 

‘हाम्रो अपेक्षा उपनिर्वाचन भनेको यो सरकारबारे आम जनमतलाई अभिव्यक्त गर्ने माध्यम हो । त्यसैले तुलनात्मक रुपमा सरकार पक्षसँगको बलियो प्रतिस्पर्धीको पक्षमा सबै उभिँदा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा जनमत अभिव्यक्त गर्न सजिलो हुन्छ भन्ने हाम्रो धारणा र दृष्टिकोण छ,’ उनले भने, ‘त्यसैले अमुख दललाई हामीले कुनै ठाउँमा छोड्ने, या अमुख दलको साहारा लिएर मात्रै हामी अगाडि बढ्ने भन्ने रणनीति बनाएका छैनौँ ।’

सरकारभन्दा बाहिर रहेको सबै राजनीतिक दलहरुले आफ्नो मतलाई सानो अङ्कमा एक–एक ठाउँमा राख्न नहुने उनको तर्क छ ।

शर्माले भने, ‘सरकारविरुद्ध अनमत अभिव्यक्तिका लागि सरकार बाहिरका सबै राजनीतिक दलहरुसँग संवाद गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप