मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

डेडलाइन मंसिर १४ : चार ठाउँमा उम्मेदवारी टुङ्ग्याउन नेकपालाई महाभारत !

बिहीबार, १४ कात्तिक २०७६, ११ : ३९
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । प्रतिनिधि तथा प्रदेश सभाको चार स्थानमा हुने उपनिर्वाचनको मिति नजिकिएपनि प्रमुख राजनीतिक दलले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । 

सत्तारुढ दल नेकपाले प्रदेश तथा जिल्ला कमिटीलाई उम्मेदवार सिफारिस गरेर कात्तिक १० भित्र केन्द्रमा पठाउन भनेपनि कास्की र दाङबाहेक भक्तपुर र बाग्लुङमा जिल्ला तथा प्रदेश कमिटीले अहिलेसम्म उम्मेदवारको नाम सिफारिस गर्न सकेका छैनन् । 

मतदान मिति आउन एक महिनामात्रै समय बाँकी रहँदा प्रमुख दलमा उपनिर्वाचनका लागि उम्मेदवार छान्न सकस देखिएको छ।  निर्वाचनख आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । 

प्रमुख प्रतिपक्ष दल काँग्रेसले पनि जिल्ला तथा प्रदेशबाट आएका नामलाई पदाधिकारी बैठक बसेर टुङ्ग्याउने गरी छलफल गरिरहेको छ । बिहीबार बोलाइएको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने अपेक्षा लिइएको छ । 

उम्मेदवारी मनोनय गर्न एक साता बाँकी 
निर्वाचन आयोगले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयन गर्न कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ  । 
आयोगको यो समयसीमा आउन अब एक साताको समयमात्रै बाँकी छ । 

नेकपामा केन्द्रको निर्देशन भएन पालना 
यसअघि नेकपाले १४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन मातहतका निकायलाई कात्तिक १० भित्रको समयसीमा दिएको थियो । 

तर यो समयसीमामा कास्की २ र प्रदेश सभा दाङ ३ (ख) बाहेक अरु दुई प्रदेश तथा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाएका छैनन् । गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीलाई प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि सम्बन्धित प्रदेश र जिल्ला कमिटीलाई तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको थियो । नेकपाले स्थानीय तहका उम्मेदवार छनोट गर्न भने प्रदेश कमिटीलाई नै अधिकार दिएको छ ।  

कास्की–२ मा विद्यासहित तीन जना सिफारिस 
उपनिर्वाचन हुने अरु स्थानमा नेकपालाई उम्मेदवार छान्न सकस परिरहेका बेला प्रतिनिधि सभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नम्बर–२ भने उपचुनावका लागि विद्या भट्टराईको नाम समययै सिफारिस गरेको थियो । नेकपा कास्कीले रवीन्द्र पत्नी विद्याको नाम सर्वसम्मत गरेपनि प्रदेश कमिटीले विकल्पका रुपमा थप दुईजना थपेर तीन जनाको नाम सिफारिस गरेको छ । थपिएकामा पुराना नेता सोमनाथ प्यासी र राजकाजी

गुरुङको नाम समावेश गरेर केन्द्रमा पठाएको गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले जनाकारी दिए । 

गत शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले विद्याको मात्र नाम सिफारिस गर्न सहमति गरेको थियो । 

उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले बताए । भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । 

१५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ । यो क्षेत्रमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा यसअघि नै गरिसकेको छ । 

भक्तपुर र बाग्लुङमा ‘सकस’ 
मंसिर १४ मा कास्की–२ मा प्रतिनिधि सभा एक सदस्यसहित भक्तपुर, वाग्लुङ र दाङमा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । तर यी जिल्लामा हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्बन्धित प्रदेश तथा जिल्ला कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न ‘सकस’ परेको छ । 

यद्यपी ती कमिटीहरुले उम्मेदवार छान्न कुनै सकस नपरेको दावी भने गर्न छाडेका छैनन् ।

नेकपाबाट प्रदेश नम्बर ५ मा पर्ने दाङको निर्वाचन ३ क्षेत्र ‘ख’ का लागि तीन जनाको नाम जिल्लाले सिफारिस गरेको छ । जसमा चूर्ण बहादुर ओली, शुभाराम बस्नेत र विमला केसी (ओली) रहेका छन् । उनीहरु तीन जनाको नाम जिल्लाले प्रदेश कमिटीमा पठाएपनि प्रदेशले केन्द्रमा पठाइनसकेको बताइएको छ । 

नेकपा दाङका जिल्ला कमिटी अध्यक्ष टीकाराम खड्काले नेकपा ५ नम्बर प्रदेशले जिल्लाले सिफारिस गरेका नाम केन्द्रमा पठाइसकेको बताए । 

तर नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी ढकालले कास्कीबाहेक अरु कतैबाट पनि उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा आइनसकेको रातोपाटीलाई बताए । यो जिल्लाको प्रदेशसभा सदस्यका लागि काँग्रेसका तर्फबाट १४ जनाको नाम उम्मेदवारका लागि चर्चामा छन् । 

जसमध्ये केशव आचार्य, शंकर डाँगी, सुरेश हमाल,किरण शाह, खिमप्रसाद खराल, चुणामणि ढकाल, जगत खड्का, भरत केसी, मदन रसिक, टीका घर्ती, घनश्याम सेर्पाइली, चल्ता चौधरी, गीता पौडेल र तारा भण्डारी छन् । 

बागलुङमा नेकपा र राजमोको तालमेल 
बागलुङमा २ ‘ख’ मा अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनमोर्चा (राजमो)का टेकबहादुर घर्तीको गएको मंसिर २७ मा निधन भएपछि यो क्षेत्र रिक्त छ । 

घर्तीको जण्डिसका कारण मृत्यु भएको थियो । ०७४ को निर्वाचनमा तत्कालीन एमाले, माओवादी र राजमोको गठबन्धन बनेको उक्त बागलुङमा यो चुनावमा पनि गठबन्धन हुने पक्कापक्की जस्तै छ । यद्यपी निर्णय नै भने भई सकेको छैन ।

 त्यसबेला तत्कालीन माओवादीले प्रदेश सभाको १ सिट, एमालेले १ सिट र राजमोले प्रदेश सभाका २ सिट पाएको थियो ।

सत्तारुढ नेकपाका बागलुङ जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाका अनुसार केन्द्रमा गठबन्धन हुने सुनिए पनि जिल्ला तहमा भने भएको छैन । ‘समाचारमा आइरहेका छन् । तर, जिल्लामा भने त्यस्तो केही सुनिएको छैन’, उनले भने । 

चुनाव जित्नकै लागि तालमेल गरिने भएपनि जिल्ला तहमा तालमेलको लागि अघि नबढेको उनले प्रष्ट्याए । 

‘हामीले नेताहरुलाई सुझाव पठाइसकेका छौं’ उनले भने । ‘उमेदवारको लागि कुनै समस्या छैन । सम्भावित मान्छे यी हुन् भनेर पठाइसकेका छौँ’, उनले भने । 

चुनावको लागि यतिबेला आन्तरिक तयारीमै व्यस्त रहेको उनले सुनाए । संगठन निर्माण पार्टी प्रवेश र कार्यकर्ता परिचालन लगायतका काम भइरहेको उनले बताए । 

चुनावी तालमेलको मनस्थितिमा राजमो पनि तयार रहेको उनको धारणा छ । 

यता, राजमो बागलुङका अध्यक्ष अमर थापा भने ०७४ को सहमति अनुसार नै अघि बढ्न आफूहरु तयार रहेको बताउँछन् । ‘अघिल्लो चुनावमा बागलुङ र प्युठानमा ३ पार्टी तत्कालीन एमाले र माओवादीसंग मिलेर ३ वटा संघ र २–२ वटा प्रदेश सभाका लागि सहमति जुटाएका थियौँ उनले भने, ‘यो चुनाव पनि अघिल्लो चुनावकै निरन्तरता हो, त्यसैले यो चुनावमा पनि अघिल्लो चुनावकै सहमति लागु हुनुपर्छ ।’ 

आफूहरुले पाएको क्षेत्र भएको हुनाले यसपटक पनि पाउनुपर्ने दाबी गर्दै आएको उनले सुनाए । 

प्रमुख प्रतिपक्ष कांग्रेसले बागलुङमा भने ४ जनाको मात्रै नाम सिफारिस गरेको छ । काँग्रेसका बागलुङ सभापति अध्यक्ष दीपेन्द्रबहादुर थापाका अनुसार ४ जना आंकाक्षी देखिएकाले चारै जनाको नाम सिफारिस गरिएको हो । 

चारै जना आकाक्षींको नाम सिफारिस गरे पनि पार्टीले जसलाई उमेदवार घोषणा गर्छ उसैलाई जिताउँन लागि पर्ने उनले सुनाए ।

 ‘हाम्रोतर्फबाट गर्नुपर्ने तयारी गरि सकेका छौं । अब पार्टीले जसलाई उमेदवार छान्छ, उसैलाई जिताउन लागिपर्छौँ,’ उनले भने । 

तत्कालीन राजमोका उमेदवार घर्तीले बागलुङ २ ‘ख’ मा ११ हजार ८८४ मत ल्याएर काँग्रेसका उम्मेदवार जीत शेरचनलाई पराजित गरेका थिए । शेरचनले ८ हजार ६२४ मत प्राप्त गरेका थिए । राजमोले तत्कालीन माओवादी र एमालेसँग चुनावी तालमेल गरेपनि काँग्रेसले तालमेल गरेको थिएन । 

उक्त क्षेत्रमा ३८ हजार ७०१ मतदाता रहेका छन् । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ४२ मतदानस्थल छन् ।

भक्तपुरमा नेकपा भन्दा काँग्रेस अगाडि 
भक्तपुरमा उपनिर्वाचनका लागि प्रमुख दलहरू उम्मेदवार छान्न दिनहुँजसो बैठक बसिरहेका छन् । 

भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश (क)मा हुने उपनिर्वाचनमा उम्मेदवार छान्न नेपाली काँग्रेसले १० जनाको नाम केन्द्रमा पठाएको छ । 

तर सत्ताशीन नेकपाले भने नाम केन्द्रमा पठाइसकेको छैन । पार्टी स्रोतले दिएको जानकारी अनुसार बुधबार तीन जनाको नाम केन्द्रमा पठाइने भनेपनि बैठक बस्न नसक्दा नसकिएको नेकपा भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले जानकारी दिए । 

देउजाका अनुसार अब शुक्रबारभित्र नाम सिफारिस गरेर केन्द्रमा पठाइने छ । भक्तपुर नेकपाका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष बचन देउजा र सचिव डीपी ढकाललाई दिएको नेकपाले जनाएको छ ।

 पार्टीले बोलाएको बैठकमा १८ जनाले उम्मेदवार हुने चाहना राखेपछि अन्तिममा सहमतिमा धेरैले नाम फिर्ता लिएपनि ५ जना अझै आकांक्षी रहेको बताइएको छ ।

 १८ जना को को थिए भन्ने नाम नेकपा भक्तपुरले सार्वजनिक गरेको छैन ।

उता यो क्षेत्रमा नेपाली काँग्रेसका दस जनाले उम्मेदवारी दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा सत्तारुढ नेकपाका उम्मेदवार हरिशरण लामिछाने निर्वाचित भएका थिए । 

यो क्षेत्रमा काँग्रेस जिल्ला समितिले दश जना आकांक्षीको नाम रायसहित केन्द्रमा सिफारिस गरेर पठाएको छ । 

काँग्रेसबाट सिफारिस गरिएकाहरुमा कृष्णलाल भडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोदप्रकाश कायस्थ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्ले छन् ।

मंसिर १४ गते प्रतिनिधि सभा सदस्य–१ र प्रदेश सभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

-कास्कीबाट श्याम राना, रुपन्देहीबाट तेजेन्द्र केसी र भक्तपुरबाट हेमराज ढकालको सहयोगमा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप