शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागलुङ उपनिर्वाचन : नेकपा र राजमोबीच तालमेल हुने, काँग्रेसबाट ४ जनाको नाम सिफारिस

बिहीबार, १४ कात्तिक २०७६, ११ : १६
बिहीबार, १४ कात्तिक २०७६

पोखरा । बागलुङमा २ ‘ख’ मा आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचन सरगर्मी बढेको छ । उपनिर्वाचनका लागि साना ठूला पार्टीहरु चुनावी दाउमा लागेका छन् । 

अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गएको मंसिर २७ मा निधन भएपछि यो क्षेत्र रिक्त छ । घर्तीको जन्डिसका कारण निधन भएको थियो । 

०७४ को निर्वाचनमा तत्कालीन एमाले, माओवादी र राजमोको गठबन्धन बनेको उक्त बागलुङमा यो चुनावमा पनि गठबन्धन हुने पक्कापक्की जस्तै छ । यद्यपि निर्णय नै भने भइसकेको छैन । त्यसबेला तत्कालीन माओवादीले प्रदेश सभाको १ सिट, एमालेले १ सिट र राजमोले प्रदेश सभाका २ सिट पाएको थियो ।

सत्तारुढ नेकपाका बागलुङ जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाका अनुसार केन्द्रमा गठबन्धन हुने सुनिए पनि जिल्ला तहमा भने निर्णय भइनसकेको बताए ।  

चुनाव जित्नकै लागि तालमेल गरिने भए पनि जिल्ला तहमा तालमेलको लागि अघि नबढेको उनले प्रष्ट्याए । ‘हामीले नेताहरुलाई सुझाव पठाई सकेका छौं,’ उनले भने, ‘तालेमल गर्ने भनेकै चुनाव जित्न हो । हाम्रो कुरा पठाइसकेका छौं ।’ केन्द्रले १५ गतेसम्ममा सबै कुरा फाइनल गर्ने बताएको र त्यसपछि नै तालमेल हुने नहुने थाहा हुने उनले सुनाए । 

केन्द्रले ३ जनाको नाम सिफारिस गर्न पठाए पनि नेकपा बागलुङले ६ जनाको नाम सिफारिस गरेको छ । प्रदेशले भने ३ जनाको मात्र पठाएको सुनिएको उनले बताए । ‘उम्मेदवारको लागि कुनै समस्या छैन । सम्भावित मान्छे यी हुन् भनेर पठाइसकेका छौं,’ उनले भने । 

चुनावको लागि यतिबेला आन्तरिक तयारीमै व्यस्त रहेको उनले सुनाए । संगठन निर्माण पार्टी प्रवेश र कार्यकर्ता परिचालन लगायतका काम भई रहेको उनले बताए । चुनावी तालमेलको मनस्थितिमा राजमो पनि तयार रहेको उनले धारणा छ । 

यता, राजमो बागलुङका अध्यक्ष अमर थापा भने ०७४ को सहमति अनुसार नै अघि बढ्न आफूहरु तयार रहेको बताउँछन् । ‘अघिल्लो चुनावमा बागलुङ र प्युठानमा ३ पार्टी तत्कालीन एमाले र माओवादीसंग मिलेर ३ वटा संघ र २, २ वटा प्रदेश सभाका लागि सहमति जुटाएका थियोैं,’ उनले भने, ‘यो चुनाव पनि अघिल्लो चुनावकै निरन्तरता हो, त्यसैले यो चुनावमा पनि अघिल्लो चुनावकै सहमति लागु हुनुपर्छ ।’ 

आफूहरुले पाएको क्षेत्र भएको हुनाले यसपटक पनि पाउँनु पर्ने दाबी गर्दै आएको उनले सुनाए । 

प्रधानमन्त्री केपी शर्मा ओली पनि अघिल्लो सहमति कार्यान्वयन गर्न सहमत रहेको उनले खुलाए । जिल्ला तहका कार्यकर्ता भने असन्तुष्ट रहेको सुन्नमा आएको उनले बताए । 

चुनावको लागि राजमोले आन्तरिक तयारी टुंग्यासकेको उनले सुनाए । उम्मेदवारको लागि राजमोले ३ जनाको नाम सिफारिस गरिसकेको छ ।

कास्की उपनिर्वाचनका लागि १६ जनाको नाम सिफारिस गरेको प्रमुख प्रतिपक्ष कांग्रेसले बागलुङमा भने ४ जनाको मात्रै नाम सिफारिस गरेको छ । कांग्रेसका बागलुङ सभापति अध्यक्ष दीपेन्द्रबहादुर थापाका अनुसार ४ जना आंकाक्षी देखिएकाले चारै जनाको नाम सिफारिस गरिएको हो । 

चारै जना आकाक्षींको नाम सिफारिस गरे पनि पार्टीले जसलाई उमेदवार घोषणा गर्छ उसैलाई जिताउन लागिपर्ने उनले सुनाए । 

राजमो र नेकपा चुनावी तालमेलमा जाने सम्भावन देखिए पनि कांग्रेस भने चुनावी तालमेलमा जाने छैन । कांग्रेसको प्रजातान्त्रिक भावनासँग अरु पार्टीको बाटो नमिल्ने हुँदा पनि चुनावी तालमेलमा नजाने उनले प्रस्ट्याए । 
तत्कालीन राजमोका उमेदवार घर्तीले बागलुङ २ ‘ख’ मा ११ हजार ८८४ मत ल्याएर कांग्रेसका उमेदवार जीत शेरचनलाई पराजित गरेका थिए । शेरचनले ८ हजार ६२४ मत प्राप्त गरेका थिए । राजमोले तत्कालीन माओवादी र एमालेसँग चुनावी तालमेल गरे पनि काँग्रेसले तालमेल गरेको थिएन । 

उक्त क्षेत्रमा ३८ हजार ७०१ मतदाता रहेका छन् । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ४२ मतदानस्थल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप