शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका ज्ञानेन्द्रलाई पारसको बधाई

बुधबार, १३ कात्तिक २०७६, २१ : ०५
बुधबार, १३ कात्तिक २०७६

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका ज्ञानेन्द्र मल्ललाई निवर्तमान कप्तान पारस खड्काले बधाई दिएका छन् । पारसले ट्वीटरमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । पूर्व उपकप्तान समेत रहेका ज्ञानेन्द्रलाई बुधबार मात्र नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानको जिम्मेवारी दिएको थियो । टोलीको उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई बनाइएको छ ।

पारसले टोलीको कप्तानीमा ज्ञानेन्द्र मल्ल सबैभन्दा योग्य खेलाडी भएको बताएका छन् । ‘सबैभन्दा योग्य व्यक्ति ज्ञानेन्द्र नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त भएकोमा बधाई छ । जसले धैर्यता, अनुशासन र प्रतिबद्धता सहित देशको सेवा गरिरहेको छ,’ पारसले ट्वीटरमा लेखेका छन् । पारसले ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई लिने पनि बताएका छन् । पारसले गत असोज २८ गते सामाजिक सञ्जालबाट कप्तान छाडेको घोषणा गरेका थिए ।

पारसले आइतबार मात्र क्यानमा आफ्नो राजीनामा बारे लिखित जानकारी दिएको र उनलाई क्यानले पुनः कप्तानमै रहन गरेको आग्रहलाई अस्वीकार गरेका कारण क्यानले ज्ञानेन्द्रलाई कप्तान बनाएको थियो । पारस सन् २००९ देखि १० बर्ष लगातार नेपाली टोलीको कप्तान रहँदा ज्ञानेन्द्र उपकप्तान रहँदै आएका थिए ।

नयाँँ कप्तान ज्ञानेन्द्रले यसअघि विभिन्न समयमा पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तान सम्हालेका थिए । मल्लले सन् २०१७ मा कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँगको दुवै खेलमा कप्तानी गरेका थिए ।

सन् २०१७ मा भएको एसीसी इमर्जिङ टिम कपमा पनि ज्ञानेन्द्रले नेपाली टोलको कप्तानी सम्हालेका थिए । हालै सिंगापुरमा सम्पन्न आईसीसी टी–२० एसिया कप छनोट खेलमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले कप्तानी गरेका थिए । उपकप्तान दिपेन्द्र सिंह ऐरी पनि टोलीका अनुभवी खेलाडी हुन् । उनले यसअघि पनि नेपाली टोलीको उपकप्तानको भूमिका निर्वाह गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप