शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी जनतासँग मेरो प्रेम छ, चाँडै संविधान संशोधन हुन्छ: अध्यक्ष प्रचण्ड

बुधबार, १३ कात्तिक २०७६, १८ : ३८
बुधबार, १३ कात्तिक २०७६

महोत्तरी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाँडै नै संविधान संशोधन हुने बताएका छन् । महोत्तरीको पिपरा गाउँपालिकामा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। कायक्रममा बोल्दै उनले भने, ‘सत्तारूढ समाजवादी पार्टीका अध्यक्ष समेत रहेका स्वास्थमन्त्री उपेन्द्र यादव, प्रधानमन्त्री केपी ओली र मबीच भएको संविधान संशोधनको सहमतिप्रति सरकार प्रतिबद्ध रहेको छ । संविधान संशोधन हुन्छ ।’

तराई मधेशको उचित मागप्रति  आफू सँधै सकारात्मक रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन हुने ठोकुवा गरे। उनले तराई मधेसका जनतासँगको सम्बन्धमा कुनै किसिमको दुविधा नराख्न आग्रह गर्दै आफ्नो र मधेशी जनताबीचको प्रेम निरन्तर रहिरहने बताए । उनले भने, ‘विगतको चुनावमा मलाई मधेसी जनताले पटक–पटक जिताएका पनि छन् । तराई मधेसको विकास र समृद्धप्रति म लागिपरेको छु ।’ उनले यो काम कम्युनिस्ट पार्टी बाहेक कसैले पूरा गर्न नसक्ने समेत स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अब हुने उप निर्वाचनमा नेकपालाई मतदान गर्न महोत्तरीवासीलाई आग्रह गरे । उनले भने, ‘व्याप्त भ्रष्टाचार र बेथितिको लागि मधेसी जनताले नै आवाज उठाउनुपर्छ । मङ्सिरमा हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवारलाई जिताएर भ्रस्टाचारीलाई जवाफ दिन आग्रह गर्छु ।’

तराई मधेश जोड्ने द्रुत मार्गको निर्माण आफू प्रधानमन्त्री भएको बेला नै सुरु गरे बताउँदै उनले जनकपुर–भिठमोड सडक पनि अब सिक्स लेनको बन्ने दाबी गरे । समयमै जनकपुर–जलेश्वर–भिठ्ठामोड ६ लेनको सडक निर्माण नभएमा सरकारविरुद्ध आफैं अनसनमा बस्ने चेतावनी उनले दिए । निकट भविष्यमा दुई नम्बर प्रदेशमा रेल दौड्ने ठोकुवा गर्दै कोशी–कमला डाईभर्सन आयोजना समेत सरकारले निर्माण गर्ने बताए ।


त्यस्तै नेकपाका महासचिव विष्णु पौडेलले आगामी उप–निर्वाचनमा असल चरित्रका व्यक्तिलाई निर्वाचित गर्न आग्रह गरे ।  उनले नेकपाका नेतालाई जिताउन आग्रह गर्दै उपनिर्वाचनमा पिपरा गाउँपालिकामा नेकपाको उम्मेद्वारले जिते देशको नामुना गाउँपालिका बनाउने ठोकुवा गरे । 

आमुल परिवर्तनका लागि नेकपाले लामो संघर्ष गरेको जिकिर गर्दै प्रदेश नम्बर २ को नेतृत्व पनि नेकपाले गर्न चाहेको स्पस्ट पारे । प्रदेश नम्बर २ को सरकारलाई आफूहरुले हेरेर मात्र बसेको तर अब चुप लागेर नबस्ने चेतावनी पौडेलले दिए ।  सरकारले सिञ्चाई र जल विद्युतमा समेत प्रदेश २ लाई केन्द्रीत गरेर अगाडि बढाउने योजना अघि सारिरहेको महासचिव पौडेलले ठोकुवा गरे । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा मनाइने पर्वहरु वारे प्रकाश पार्दै छठ पर्व र मिथिलाको इतिहासबारे  बोलेका थिए । कवि कोकिल विद्यापतिलाई राष्ट्रिय कविको रुपमा स्थापित गर्न नेकपाका सरकार लागि परेको समेत उनले बताए ।

मिथिला र जनकको इतिहाशलाई संरक्षण गर्न जोड दिँदै याज्ञवल्क्य, गार्गी र मैत्रीको इतिहास बोकेको मिथिलाको प्राचीन इतिहासलाई समय सापेक्ष लेखिनुपर्ने मन्त्री पोखरेलले तर्क गरे ।  कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ सय ६३ जना नेकपा प्रवेश गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप