शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पले ढालेको ऐतिहासिक त्यो गोरखा दरबार (हेर्नुहोस् तस्बिरसहित)

बुधबार, १३ कात्तिक २०७६, १४ : ०४
बुधबार, १३ कात्तिक २०७६

पोखरा । ०७२ को भूकम्प ध्वस्त बनेको गोरखा दरबार अझैपनि पुनर्निर्माणको परखाइमा रहेको छ । नेपाल एकीकरणको थालनीकर्ता पृथ्वीनारायण शाह जन्मेको ऐतिहासिक दरबारको पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा अझै पनि गोरखा दरबार खण्डहर बनेको हो ।  दरबार पुग्दा ऐतिहासिक महत्त्वका चिजहरु यत्रतत्र छरिएको देखिन्छ । 

संघ सरकार पर्यटन वर्ष मनाउने तयारीमा छ । प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । तर, पर्यटकको आकर्षणको केन्द्र मानिने ऐतिहासिक महत्वको सम्पदा बचाउन न संघ सरकारको जागर देखिन्छ न प्रदेशको । 

पुनःनिर्माणको १६ महिनापछि मात्रै गएको महिनामा बल्ल दरबारको मूल ढोका राख्ने काम भएको छ । गोरखा दरबार अवलोकन गर्न पुगेका जर्मनीका माइकलले दरबारको यो अवस्था देखेर दुःख लागेको प्रतिक्रिया दिए । 

गोरखा नगरपालिका प्रमुख मेयर राजनराज पन्तका अनुसार पुरातत्त्व विभाग र ठेकेदार कम्पनीका कारण निर्माणमा ढिलाइ भएको हो । पुरातत्त्व विभागले तलको बेसलार्ई कसरी व्यवस्थापन गर्ने भनेर नक्सा तयार पारिएको थियो त्यो नक्साअनुसार काम गर्दा भवन बलियो नहुने भन्ने कुरा आयो त्यसपछि निर्माणमा अन्यौल भयो । निर्माण ढिलाइबारे स्पष्टीकरण दिँदै उनले भने, ‘अन्यौल रहिसकेपछि यो ढंगबाट काम गर भनेर पुरातत्त्व विभागले ठेकेदार कम्पनीलाई निर्देशन दिन सकेन । पुरातत्त्व विभागको कारण सात महिना ढिलाइ भयो ।’ 

निर्माण सुरु भइसकेपछि पनि ठेकेदार कम्पनीले जुन गतिमा काम गर्न सक्नुपथ्र्यो त्यो गतिमा काम गर्न नसक्दा ढिलाई भएको उनी तर्क राख्छन् । ‘पछिल्लो समय प्रेसर भई सकेपछि जति काम भएको छ त्यो एक महिनामा नै भएको काम हो,’ उनले भने, ‘दसैँभन्दा एक महिना अघि भएको हो ।’

पुरातत्त्व विभागले जुन हिसाबले दक्ष जनशक्ति खटाएर काम गर्नु पथ्र्यो त्यही अनुपातमा काम नगरेको उनले आरोप लगाए । 

‘उसँग जनशक्ति नभए हामीसँग पनि माग्न सक्थ्यो । त्यो पनि गर्न नसक्ने कमजोरी पुरातत्त्व विभागको देखिन्छ,’ उनले भने, ‘हामीले त्यो कुरा पनि भन्यौँ । नभएदेखि हामीले नै प्राविधिक व्यवस्था गर्दिन्छौँ । त्यो ढंगबाट काम गर्नुपर्यो, छिटो बनाउन पर्यो भनेर भनेका छौँ ।’

झ्याल ढोका बनानका लागि भक्तपुरबाट कालिगढहरु आएर काम गरिरहेको उनले जानकारी दिए । ‘अहिले दसैं मान्न गएका छन् अब आउँछन् । एक दुई दिनमा झ्याल ढोका बनाउँने काम सुरु हुन्छ,’ उनले सुनाए । 
निर्माणमा सबैभन्दा गाह्रो, धेरै समय लाग्ने काम काठकै हुने उनले बताए । काठको व्यवस्थापनका लागि पनि ढिलाई भइरहेको उनले सुनाए । 

पुरातत्त्व विभागले सात महिना आफूले ढिलाइ गरेको समय थप गरेर ७ महिनामा निर्माण तोकिएको समयमा सक्ने दावी गरे पनि तीव्र्र गतिमा काम भए एक वर्षमा सकिने उनको बुझाइ छ । 

दरबार पुनःनिर्माणको जिम्मा एक महिनासम्म नगरपालिकाको पनि पाएको थियो । पछि संघ सरकारले नै जिम्मा लियो । ‘हामीले एक महिना अभ्यास पनि गयौँ । एक महिनापछि संघ सरकारको मातहतमै गयो,’ उनले भने । आफूहरुको जिम्मामा भए काम एकदमै स्पिडमा हुने उनले दाबी गरे ।

तत्कालीन राजा द्रव्य शाहले शाहवंशीय शासनको सुरुवात गरेका थिए भने राम शाहले ख्याति बढाएका थिए । पुरातत्त्व विभागका अनुसार राम शाहकै पालामा उक्त दरबार बनेको मेयर पन्तले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप