शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाकवि विद्यापतिको सालिक पहाडमा पनि निर्माण गरिन्छ:  मन्त्री भट्टराई

बुधबार, १३ कात्तिक २०७६, १३ : ३६
बुधबार, १३ कात्तिक २०७६

धनुषा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा विद्यापतिको सालिक निर्माणको तयारी गरिरहेको बताए ।

पहाडी जिल्लाहरू इलाम, दैलेख र डडेलधुरा लगायतका क्षेत्रमा महाकवि विद्यापतिको सालिक निर्माणको योजना सकारात्मकरूपमा अघि बढिरहेको उनले जानकारी दिए । मन्त्री भट्टराईले सरकारले प्रदेश नं। २ मा धार्मिक एवं सांस्कृतिक पर्यटन ‘सर्किट’ निर्माण गर्ने र रामायण सर्किट विस्तारको योजनाका बारेमा छलफल गरिरहेको बताए ।

पर्यटकीय प्रवद्र्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृह कार्य भइरहेको पनि उनले स्पष्ट पारे ।

उनले सरकारले जनकपुरधाम विमान स्थललाई क्षेत्रीय विमानस्थलमा विस्तार गर्ने र दामोदर कुण्ड नजिकै सबैभन्दा अधिक उचाइमा विमानस्थल निर्माण गर्ने तथा सोबाट पर्यटकीय आकर्षणमा वृद्धि हुने अवधारणा कार्यान्वयनको पक्षमा गृहकार्य गरिरहेको बताए ।

मन्त्री भट्टराईले सरकारले सातै प्रदेशमा एउटा प्रमुख पर्यटकीय  गन्तव्य स्थलको निर्माण गर्ने अवधारणा राखेको छ भन्दै प्रदेश नं. २ मा धार्मिक र सांस्कृतिक स्थललाई जोडने सर्किट निर्माणको आवश्यकतामा जोड दिए । प्रदेश नं. २ मा धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि र औद्यागिक पर्यटनको विकास संभावना प्रबल रहेको चर्चा गर्दै उनले यसका पर्यटकीय विविधतामूलक योजना कार्यान्वयन गर्नु जरूरी रहेको बताए ।

उनले जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डपलाई अन्तर्राष्ट्रियस्तरको वैवाहिक स्थलका रूपमा प्रवद्र्धनको खाँचौ औल्याए । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० समापन वर्ष नमानी आधार वर्षका रूपमा लिई एक दशकसम्म पर्यटन पूर्वाधार विकासका कार्यतर्फ उन्मुख हुन जरूरी रहेको बताए ।
 
प्रदेश नं. २ का  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले आफ्नो मन्त्रालयमा पर्यटनका कुनै पनि कर्मचारी नभएका कारण पर्यटनसम्बन्धी विधेयक निर्माणमा जटिलता थपिँदै गएको प्रसङ्ग उल्लेख गरे ।

शाखा अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश संयोजक मनिष झाले प्रदेश नं. २ मा व्यावसायिक पर्यटनको संस्कारको विकास हुने अभियान सञ्चालनको आवश्यकताामा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप