शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसीले सोमबारदेखि फेरि अनसन सुरु गर्ने

बुधबार, १३ कात्तिक २०७६, १३ : १४
बुधबार, १३ कात्तिक २०७६

काठमाडौँ– प्राध्यापक डा.गोविन्द केसीले आउँदो सोमबारबाट १७ औँ अनसन सुरु गर्ने भएका छन् । असोज २७ गते पत्रकार सम्मेलन गर्दै डा.केसीले १६ औँ अनसनसम्म सरकारसँग भएका विभिन्न सहमति पुरा नगरे भाइटिकाको भोलिपल्ट अर्थात कात्तिक १३ बाट अनसन बस्ने जनाएका थिए । तर कात्तिक १३ मा सार्वजनिक विदा परेको हुँदा अनसन कात्तिक १८ गते सारेका हुन् । 

डा.केसीका हरेक काममा सहयोग गर्दै आएका प्रितम सुवेदीका अनुसार अहिलेसम्म सरकार पक्षबाट वार्ता तथा माग सम्बोधनको लागि कुनै पनि चासो नदेखाइएको हुँदा आउँदो सोमबारदेखि डा. केसीले अनसन सुरु गर्न लागेका हुन् ।

२७ गतेबाट अवकास लिएका डा.केसी अहिले विभिन्न जिल्लामा स्वास्थ्य क्षेत्रको बारेमा जानकारी लिइरहेका छन् । १६ औं अनसन इलाममा बसेका डा.केसीले १७ औँ अनसन   कुन जिल्लामा बस्ने भन्ने बारेमा भने टुङगो लागेको छैन ।

यस्ता छन् डा. केसीका १७ औँ अनसनका मागहरु

१.२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

२.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् ।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतका निर्णय तत्काल खारेज गरियोस् ।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस  कार्यक्रम सञ्चालन गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

६.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप