केन्द्रीय संस्करण

सूर्य उपासनाको वैज्ञानिक पर्व छठ

person explore access_timeकात्तिक १३, २०७६ chat_bubble_outline0

यसपालि ०७६ कात्तिक महिनाको शुक्लपक्षको १६ गते शनिबारको दिन छठ पर्व पर्न गएको छ । हाम्रो सनातन परम्पराअनुसार सो षष्ठी तिथिमा सम्पन्न गरिने चार दिने महा अनुष्ठानलाई ‘छठपर्व’ भनेर पुकारिन्छ ।

यमपञ्चक सकिएलगत्तै आउने चौथीमा नुहाईधुवाई गरेर त्यो दिन हविष्यान्न मात्र लिई भक्तहरू शुद्ध रहनु पर्छ । यसलाई ‘अरवाइन वा अरवा’ भनेर पनि सम्बोधन गरिन्छ । मूलतः मिथिला संस्कृतिको अभिन्न अङ्ग बनेको यो पर्व तराईवासी जनसमुदायको महान् चाड हो । माछामासु, लसुनप्याज, कोदो, फापर मुसुरोलगायतका तामसी र राजसी गुणका खाना नखाई पञ्चमीदेखि सप्तमीसम्म उपबासपूर्वक गरिने सूर्यको अभ्यर्चना निकै अनुशासित र कडा खालको पर्व हो ।

विशेष गरेर महिलाहरू नै यो पर्वका मुख पात्र हुन् । तर हिजोआज यो पर्व पुरुषवर्गमा अनि हिमाल, पहाड, उपत्यकामा पनि सबै जनसमुदायले मनाउन थालेका छन् । यसैले यो चाड सबै नेपालीहरूको साझा उत्सवको रूपमा रहन गएको छ । यही कारण यो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने चलन पनि चलाएको छ । 

 कात्तिक शुक्ल पक्षको पञ्चमीको दिन पानीसमेत नपिई भक्तालुहरू व्रत बस्छन् । बेलुकी घरघरमा खीर पकाइन्छ र चन्द्रमालाई त्यही प्रसाद चढाई पूजा गरिन्छ । अनि प्रसादका रूपमा एक छाक मात्र सो खीर खाइन्छ । स्थानीय भाषामा त्यसलाई ‘खराना’ भन्ने चलन छ । अनि भोलिपल्ट षष्ठी तिथिको दिन सबै पकवान्न, फलपूmल, नैवेद्य यौटा टोकरीमा टन्न राखेर नयाँ कपडाले छोपी सायङ्कालीन समयमा बत्ती बालेर सूर्यलाई चढाइन्छ । सूर्यलाई प्रणाम गर्दै नदी वा तलाउमा तीनपल्ट डुबुल्किनु पर्छ । उपासनाको क्रममा मनोरञ्जनात्मक गीतहरू गाइन्छन् र ‘नमः सवित्रे जगदेक चक्षुसे । जगत् प्रसूति स्थितिनाश हेतवे । त्रयी मयाय त्रिगणात्मधारिणे । विरञ्चीनारायण शङ्करात्मने ।।’ जस्ता पावन स्तवनमा रविलाई काव्यभावले वन्दना र प्रणाम गरिन्छ । 

 हाम्रो संस्कृतिमा सूर्य स्थावर (अचर) र जङ्गम (चर) जगत्को आत्मा हो । संसारको सर्वप्राचीन ग्रन्थ ऋग्वेदले घोषणा गरेको छः ‘उद्यनद्य मित्रमह आरोहन्नुत्तरां दिवम् । हृद्रोगं मम सूर्यं, हरिमाणं च नाशय ।।’ अर्थात् हे हितकारी तेजवाला सूर्य तपाईं आज आकाशमा उदाएर मेरो मुटु रोग र पाण्डु रोग नष्ट गर्नुहोस् । मत्स्य पुराणले पनि निर्देश गरेर बोलेको छः ‘आरोग्यम् भाष्करादिच्छेत्’ अर्थात् सूर्यबाट आरोग्यको कामना गरोस् । त्यसैले त यो हरप बोल्छ ‘नमस्कारः प्रियो भानुः, जलाधार प्रियः शिवः ।।’ मतलव सूर्य नमस्कार गर्दा खुसी हुन्छन् भने शिव जलधाराले सन्तुष्ट बन्नुहुन्छ । सूर्यबाटै यो संसारको सिर्जना, पालना र संहार हुन्छ । भनिएको पनि छः ‘सूर्यात् भवन्ति भूतानि, सूर्येण पालितानि तु । सूर्ये लयं प्राप्नुवन्ति, यः सूर्यः सोऽहमेवच ।।’ 

 वैज्ञानिकहरूको मान्यता के छ भने पृथ्वीबाट सूर्यको दूरी ९ करोड ७० लाख माइल छ । यसैले सूर्यको किरण पृथ्वीतलमा आइपुग्न सूर्य उदय भएको समयपछि ८ मिनेट १८ सेकेन्ड लाग्छ । यो दूरी प्रभातकालीन समयको हो । तर मध्यान्ह बेला यति समय लाग्दैन । साँझमा भने बिहानकै जति समय लाग्छ । त्यसैले बिहानको साँझ र बेलुकाको साँझ सूर्यको उदय एवं अस्त हुँदा रातो वर्णको देखिन्छ । मूर्त रूप दृश्य पदार्थमा सबभन्दा बढी प्रकाशपुञ्ज र ज्योतिष्मान् सूर्य नै हो । वैज्ञानिक भन्छन्ः सूर्यको व्यास ८ लाख ८० हजार माइल छ, जो पृथ्वीभन्दा एक सय दस गुना बढी छ । 

 मनुष्य चेतनशील प्राणी भएकोले सधैँ सूर्यको आराधना गर्नुपर्छ । त्यसैले त बिहानको समयमा जल, अर्घ, दूध, रातो पूmल, रातै चन्दन अक्षता चढाएर आदित्य हृदयस्तोत्र पाठ गरी सूर्यको पूजा आराधना गर्नुपर्छ । सूर्यलाई अर्घ दिँदा यो मन्त्र पढ्न उत्तम हुन्छ । ‘ एहि सूर्य सहस्रांशो तेजो राशे जगत्पते । अनुकम्पय मां भक्त्या, गृहाणाघ्र्यं दिवाकरः ।।’ यसको आसय हो सहस्र किरण भएका, तेजका अनन्तराशि, जगत्का स्वामी हे सूर्य ! तपाईं मेरोसमक्ष आउनुहोस् । हे दिवाकर ! ममाथि कृपा गर्नुहोस् । अनि मैले भक्तिपूर्वक चढाएको यो अर्घ स्वीकार गर्नुहोस् । सूर्य नवग्रहका अधिपति हुन् । प्रकृति विज्ञान, खगोल विज्ञान, ज्योतिष विज्ञानमा सूर्य प्रमुख ग्रह हो । ज्योतिषमा सूर्यलाई आत्मकारक र आत्मबलदायक ग्रह मानिन्छ । हामी सनातनीहरू सधैँ ‘पाञ्चायन’ वा पञ्चदेवको पूजा गर्छौं, जसमा सूर्य प्रमुख हस्तीका रूपमा छन् । 

 यही कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म भव्य रूपमा गरिने सूर्यपूजालाई नै स्थानीय जनजिब्रोले छठ भनेर सम्बोधन गरेको हो । संस्कृत भाषाको ‘षष्ठी’लाई नै छठ, छठी, छठमाता, छैठ, सूर्य षष्ठी, डाला छठ, प्रतिहार षष्ठी आदि विभिन्न विशेषणमा पुकारिन्छन् । आर्यहरूको महान् ग्रन्थ धर्मसिन्धु यसरी बोल्छ– शुक्लपक्षे तु सप्तम्यां सङक्रान्ति ग्रहणाधिकाः ।।’ अर्थात् सप्तमी तिथिमा नै सूर्यको उत्पत्ति भएको र सप्तमी तिथिका स्वामी पनि सूर्य भएबाट यो सप्तमी महत्त्वपूर्ण भएको हो । यो व्रतको प्रभावले आयु, आरोग्य, श्रीवृद्धि, सन्तान प्राप्ति र मनोवाञ्छित फल लिन सकिन्छ । स्वायम्भुव मनुका छोरा प्रियव्रत, दशरथकी रानी कौशल्या, पाण्डवकी पत्नी द्रौपदी, सुकन्या आदिले यही छठ पर्वको व्रतको प्रभावबाट मनोकामनाहरू पूर्ण गराएका कुरा विभिन्न ग्रन्थमा पाइन्छन् । त्यसै भएर षष्ठीदेवीलाई यसरी स्तुति गरिन्छ । ‘शुभायै देवसेनायै षष्ठीदेव्यै नमो नमः । वरदायै पुत्रदायै, धीदायै च नमो नमः ।। सुखदायै मोक्षदायै, षष्ठीदेव्यै नमो नमः । सृष्ट्यै षष्ठांशरूपायै सिद्धायै च नमो नमः ।। ’ 

 यो पर्वमा सूर्यदेवलाई चढाउने परिकारमा भुसुवा (विशेष प्रकारको लड्डू) खीर, सखर– ल्वाङ अलैँची मिसाई बनाएको खजुरी आकारको मिठाई, अनि बोटसहितका उखु, केरा, अदुवा, मूला आदि हुन् । यसरी डुब्न लागेका सूर्यलाई अर्घ दिइन्छ । उदाउँदो र अस्ताउँदो सूर्यलार्ई सबैले पूजाआजा गर्छन् ।

उदाउँदो सूर्यबाट राता किरणहरू निष्कन्छन्, जसले पाण्डुरोग, रक्त अल्पता, मुटुरोग नाश गर्छ । छठ पूजा एक्लै नगरी सामूहिक रूपमा गरिने पूजा हो । ब्रत बस्ने अघिल्लो दिनै पतिपत्नी दुवै जना छिमेकमा अन्न, पैसा र पूजा सामग्री माग्न घरघर जान्छन् । व्रत बस्न र घाटसम्म जान नसक्ने अशक्तहरूलाई षष्ठी माताको आराधना पुगोस् भन्ने भावना हो यो । वेदमा सूर्यलाई सविता, प्रसविता भनिन्छ । प्रसविताको अर्थ जीवनदाता हो ।

हामी सबै सूर्यकै प्रकाशबाट बाँचेका छौँ । बिहान बेलुका हामीले जप्ने गायत्री सूर्यकै स्तवन हो । भविष्य पुराण भन्ने ग्रन्थमा भगवान् कृष्णका छोरा शाम्बको कुष्ठरोग सूर्यकै उपासनाबाट निको भएको थियो । वास्तवमा हामीहरू प्रकृतिपूजक हौँ । वातावरणीय स्वच्छता र सुन्दरता प्राणी जगत्का लागि अपरिहार्य कुरा हो । त्यसै भएर

सूर्यलाई यसरी सत्कार गर्ने चलन छ– 

‘आदिदेव नमस्तुभ्यं प्रसीद मम भाष्कर । दिवाकर नमस्तुभ्यं प्रभाकर नमस्तुते ।।’ 

यथार्थमा सूर्य उपासना विज्ञानद्वारा अनुप्राणित धारणा हो । हिजोआज सौर्यशक्तिको उपयोग सबै क्षेत्रमा व्यापक भएको छ । हिजोका हाम्रा मन्त्रद्रष्टा ऋषिमुनिहरूले दिएका सूत्रहरूकै बलमा आजका वैज्ञानिकहरूले गोडा टेकेर चमत्कार गरेका हुन् । त्यसै पूर्वीय जगत्मा सूर्यको पूजा गरिएको रहेनछ । यसैले यो राष्ट्रिय पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा मनाएर यसको वैज्ञानिकतालाई खोतल्नु आजका नयाँ पुस्ताको कर्तव्य हो किनकि सूर्य आधुनिक विज्ञान र अध्यात्म विज्ञाका लागि शोध गर्ने केन्द्र बनेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...