शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारको खानपानमा यी रोगीले दिनुपर्छ विशेष ध्यान

विज्ञहरुको सुझाव : सकेसम्म बजारमा बनाईएका रोटी, मिठाई प्रयोग नगरौँ !
मङ्गलबार, १२ कात्तिक २०७६, १० : ०८
मङ्गलबार, १२ कात्तिक २०७६

तिहार अर्थात् रमाइलोको पर्व । मीठो मीठो मिठाई, सेलरोटी, विन्नि किसिमका ड्राइफ्रुटहरु खानेखुवाउने अवसरको पनि पर्व । विशेषगरी भाई टिकाको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न थरीका परिकार बनाएर खुवाउने र खाने चलन पनि छ । यो समयमा त मिठाईको मेलानै लाग्ने गर्छ ।

चाडपर्वको अवसर पारेर त्यस्ता मीठो मसिनो खानु अनौठो होइन । तर त्यसरी खाँदा वा खुवाउँदा होस पुर्याइएन भने एकछिनको मिठासको असर जिन्दगीभरि नै शरीरलाई नोक्सानी पुर्याउने हदसम्म पुग्न सक्छ । त्यसैले तर पर्व मनाउने नाममा हामीले स्वास्थ्यको ख्याल गर्नु जरुरी छ ।

विज्ञहरुका अनुसार, चिल्लो, गुलियो, मिसावटयुक्त खाना हाम्रो स्वास्थ्यको लागि राम्रो हुँदैन । त्यसमा पनि घर बाहिर बनाएको, अझ बासी खानेकुराहरु त कदापि पनि स्वास्थ्यवर्धक हुँदैन । उदाहरणको लागि मिठाईकै करा गरौं । एउटै तेलमा पटक—पटक मिठाई बनाउने, असुरक्षित खाद्य वस्तु, विभिन्न थरीका रासायनिक पदार्थहरु र खाद्य÷अखाद्य रङगहरु प्रयोग गरी तयार पारिएका खानेकुराहरुले हाम्रो स्वास्थ्यमा समस्या निम्त्याउने शंकै छैन । यस्ता कुरामा हामी आफैले ध्यान नदिने हो भने निरोगी व्यक्तिलाई नै पनि रोगी त बनाउँछ नै, अझ स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई त झनै समस्या थपिन्छ । त्यसैले तिहारको समयमा प्रयोग गर्ने खानपानमा हामीले धेरै ध्यान दिनुपर्ने देखिन्छ ।

वरिष्ठ पोषणविद डा. उमा कोइराला भन्छिन् ‘तिहारमा चिल्लो, गुलियो,घ्यू बढी प्रयोग गरेको तेलमा तारेको परिकार धेरै बनाइन्छ । तिहार हाम्रो पर्व हो मान्नुपर्छ तर साथसाथै हामीले प्रयोग गर्ने खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ ।’

उनका अनुसार तिहारको समयमा मधुमेह, उच्चरक्तचाप, मोटोपन, कलेजो, किड्नी, मुटु, दम, पेटसम्बन्धी समस्या भएका बिरामीले विशेष ध्यान दिनुपर्छ । कोइराला भन्छिन्, ‘तिहारको समयमा प्रयोग गरिने धेरै जसो खानेकुराहरु चिल्लो, गुलियो र चामलबाट बनेको हुन्छन् । यी बिरामीले त्यस्ता खालका खानेकुरा सकेसम्म नखाँदा र खानैपर्दा पनि कम खाए स्वास्थ्यको लागि राम्रो हुन्छ ।’

सामान्य व्यक्तिलाई पनि रोग लाग्न सक्छ ।

डा. कोइरालाका अनुसार तिहारमा प्रयोग गरिने हाम्रो परम्परागत खानामा अत्याधिक मात्रामा गुलियो, चिल्लो हुने र ती सामग्रीहरु पनि अधिकांशतः चामलबाट बनेको हुने हुँदा त्यस्ता खालका खानेकुुराले सामान्य व्यक्तिको स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ ।

‘तारेको खानेकुरा खान सामान्य व्यक्तिले पनि ख्याल पुर्याउनुपर्ने हुन्छ’, डा. कोइराला भन्छिन् ‘कहिले काहीँ प्रयोग गर्नेको हकमा खासै समस्या नभए पनि सहरी क्षेत्रमा जीवनयापनको तरिका फरक भएको, धेरै हिँड्डुल नगर्ने,  स्वास्थ्यका बारेमा खासै चासो नदिने र व्यायाम नगर्ने जस्ता जीवनशैली भएका व्यक्तिहरुले त्यस्ता खानेकुराहरु खाँदा एकदमै होसियार हुनु राम्रो हुन्छ ।’

सामान्य व्यक्तिहरुले यस्ता खालको खानेकुरा बढी मात्रामा खादा क्यालोरी बढ्ने, कोलोस्ट्रोल बढ्ने, छाती पोल्ने,  धेरै गुलियो र चिल्लो खाँदा रिगंटा,  वाकवाक लाग्ने जस्ता समस्याहरु देखिने सम्भावना हुन्छ । त्यसैले चाडपर्व मनाउँदा मुखको मिठाससँगसँगै स्वास्थ्यलाई पनि ध्यान दिनु राम्रो हुन्छ । यस अर्थमा ध्यान दिनुपर्ने कुरा के पनि हो भने स्वास्थ्यको हिसाबले हेर्ने हो भने बजारबाट ल्याइएको मिठाई झनै अस्वास्थ्यकर मानिन्छ ।

मधुमेहका बिरामीले धेरै ख्याल गर्नुपर्छ

नेपालीहरुको पर्व तिहारमा बढी मात्रामा मिठाईको प्रयोग गरिन्छ, जसमा चिनीको मात्रा धेरै हुन्छ । स्वास्थ्यको दृष्टिकोणले चिनीलाई स्वास्थ्यवर्धक मानिदैन । वरिष्ठ पोषणविद डा. अरुणा उप्रेती भन्छिन्, ‘रोगमध्ये पनि चिनी रोग अर्थात मधुमेहका बिरामीलाई त गुलियो चिल्लो भएका खाना विष जस्तै हो ।’

डा. उप्रेतीका अनुसार ‘मधुमेहको बिरामीलाई मात्रै होइन, गुलियो परिकार सामान्य व्यक्तिको लागि पनि अवश्यक भन्दा धेरै राम्रो होइन । धेरै मात्रामा गुलियो प्रयोगले मानिसमा मोटोपनको समस्यालगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखिन्छ ।’ 

‘बाहिर बनाएको मिठाईमा रंग तथा रसायनको पनि प्रयोग बढी मात्रामा भएको हुन्छ । त्यसै गरी, तिनमा गुणस्तरहीन खाद्यान्न पनि मिसाइने गरिन्छ ।  त्यस्ता खानेकुराहरु स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन । यस्ता रङ, रसायन र गुणस्तरहीन खाद्यान्नको प्रयोगले ग्यास्ट्रिक, अपचलगायत पाचनप्रणालीसम्बन्धी विभिन्न खाले रोगहरुले दीर्घकालीन रुपमा नै सताउने अवस्था आउन सक्ने’ डा. उप्रेतीको चेतावनी छ । 

तिहारमा सेल रोटीसँगै अन्य परिकार बनाउन प्रयोग गरिने, तेल र घिउ जस्ता चिल्लो खानेकुराले  मोटोपन, मुटु तथा धमनीका रोगहरु, उच्च रक्तचाप र मधुमेह हुन सक्छ ।  त्यसैले पर्व मनाउँदा आफ्नो स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने’ डा. उप्रेतीको सल्लाह छ ।

बाहिरको मिठाई प्रयोग नगरौँ !

तिहारको बेलामा घर–घरमा सेल, पुरी, जस्ता विभिन्न परिकारहरु पकाइन्छ । घरमा बनाउन नभ्याउनेहरुले त्यस्ता परिकार बजारबाट किनेर ल्याउने चलन पनि छ । घरमा बनाएकोमा त हामीलाई थाहा हुन्छ तर बजारबाट ल्याइने परिकारमा कस्तो तेल र खाद्य बस्तुको प्रयोग भएको छ भन्ने बारेमा हामी अनभिज्ञ नै हुन्छौँ । सामान्यतः बजारमा मिठाई, रोटीहरु बनाउँदा तेलहरु सस्तो किसिमको बढी मात्रामा प्रयोग गरिने  भएकाले तिनको गुणस्तर राम्रो हुँदैन ।  त्यसमाथि थप, एक त कमसल गुणस्तरको तेल र कदाचित रामै्र गुणस्तरको तेल प्रयोग गरिएको छ भने पनि उही तेल ननिथ्रिएसम्म पटक–पटक प्रयोग गरिरहने प्रचलनले त्यो तेलको गुणस्तर झनै कमजोर र अखाद्यको तहमा परिणत भइसकेको हुन्छ । 

वरिष्ठ पोषणविद्ध डा. उप्रेती भन्छिन्, ‘घरमा सेल, पुरी पकाएपछि तेल बाँकी रह्यो भने हामी त्यसलाई बारम्बार प्रयोग गरिबस्दैनौं । सामान्यतः एकाधपटकको प्रयोगपछि त्यो तेल हामी फ्याँक्छौं । तर पसलमा त त्यही तेल ननिथ्रिएसम्म बारम्बार प्रयोग गरिन्छ । बारम्बार एउटै तेलमा पकाइएका जेरी, पुरी, लालमोहन, सेल आदि खाँदा जिब्रोमा स्वाद त हुन्छ तर त्यसले भित्रभित्रै हाम्रो स्वास्थ्यलाई पनि क्षति पुर्याइरहेको हुन्छ । त्यसरी बारम्बार पकाउँदै सेलाउँदै र फेरि पकाउँदै गरिएको तेल हाम्रो शरीरले पचाउनै नसक्ने स्तरमा परिणत भइसकेको हुन्छ । फलतः त्यस्ता तेलमा पकाइएका खानेकुराहरु खाँदा हामीले थाहै नपाई मुटु र पेट लगायत समग्र स्वास्थ्यलाई नै असर भइरहेको हुन्छ ।’

उनी भन्छिन् ‘चाडबाडमा खानाप्रतिको मोह त्याग्न गाह्रो हुन्छ तर क्षणिक स्वाद र रमाइलोको लागि स्वास्थ्यलाई वेवास्ता गर्दै त्यस्ता खानेकुराहरु बढी खाइयो भने त्यसले स्वस्थ मानिसलाई नै पनि धेरै दिन बिरामी पारिदिन सक्छ । अझ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल सम्बन्धी समस्या, पेटसम्बन्धी समस्या भएकालाई त यसले दीर्घकालीन समस्या पारिदिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप