चिलीमा संकटकाल हटाइयो, विरोध प्रदर्शन जारी

सान्टियागो– चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेका छन् । तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् ।
राजनीतिक र आर्थिक परिवर्तनको माग राखी लाखौं मानिस सडकमा उत्रिएपछि राष्ट्रपति पिनेराले सोमबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाएका हुन् । हिंसा रोक्ने भन्दै शहरमा रातिको समयमा लगाइएका निषेधाज्ञा (कफ्र्यु) पनि निस्प्रभावी भएपछि गत शनिबारदेखि त्यस्ता निषेधाज्ञाहरु पनि हटाइएका थिए ।
एक दशकयताकै सर्वाधिक ठूलो नागरिक विद्रोहका कारण मुलुकमा अस्थिरता र हिंसा बढेको भन्दै गत साताभर सरकारले आपतकाल र निषेधाज्ञा जारी गरेको थियो । सार्वजनिक यातायातमा भाडा वृद्धि भएको भन्दै विद्यार्थीको विरोधबाट शुरु भएको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । अहिले यो आन्दोलन सरकारको नियन्त्रण बाहिर पुग्नुका साथै केही व्यक्तिको मृत्यु समेत भएको छ ।
राष्ट्रपतिको ट्वीटरमा देशका विभिन्न भागमा लगाइएका आपतकाल र निषेधाज्ञा तत्काल हटाउने उल्लेख छ । निषेधाज्ञा लागू गरेसँगै देशका विभिन्न भागमा २० हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको थियो ।
राष्ट्रपति पिनेराले नयाँ सरकार गठन गर्नेगरी मार्गप्रशस्त गर्न वर्तमान मन्त्रिमण्डलका सबै सदस्यलाई राजिनामा गर्न आग्रह गरेलगत्तै आपतकाल हटाउने निर्णय सार्वजनिक भएको हो । पिनेराले शनिबार आफूहरु नयाँ सोचका साथ अघि बढ्न चाहेको बताउँदै एक साताअघिको भन्दा अहिलेको चिली बिल्कुलै भिन्न भइसकेको बताए ।
तर राजधानी सान्टियागोबाट करिब १२० किलोमिटर पश्चिमको भाल्पाराइसोमा हजारौं प्रदर्शनकारी विरोध प्रदर्शन उत्रिएका छन् । भाल्पाराइसोका मेयर जोर्ज शार्पले यो आन्दोलन शान्तिपूर्ण र रचनात्मक रहेको बताए ।
यस प्रदर्शनमा झण्डै १ लाख मानिस सहभागी भएका थिए । प्रदर्शनका क्रममा केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच छिटपुट सामान्य भिडन्तका घटना भएका थिए ।
प्रदर्शनकारीले अहिले आर्थिक र राजनीतिक सुधारको कार्यसूची अघि सार्नुका साथै राष्ट्रपति पिनेराको राजिनामा मागिरहेका छन् ।
आगामी नोभेम्बर १६–१७ मा सान्टियागोमै एसिया प्रशान्त आर्थिक मञ्च (एपेक) को व्यापार सम्मेलन पनि हुँदैछ । प्रदर्शनका कारण यो सम्मेलनलाई असर पार्ने सम्भावना व्यक्त भइरहेका बेला सरकारले भने उक्त सम्मेलन निर्धारित मितिमै हुने स्पष्ट गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरु उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)