मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवर्द्धन पर्व मनाइँदै
धनुषा– मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ ।
गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ (मुसल विशेष) द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा पशुवर्गको श्रीवृद्धि हुनाका साथै सन्तान तथा धनधान्यको वृद्धि हुने विश्वास रहेको पाइन्छ । यस दिन गाई दुहुने तथा हलो जोत्ने कार्य निषेध मानिन्छ ।
गाईवस्तुको पूजाअन्तर्गत गाईवस्तुलाई नयाँ दाम्लो हालिने तथा शरीरलाई पहेँलो, हरियो आदिले रङ्ग्याइने गरिन्छ । कतिपय स्थानमा गाईवस्तुको शरीरमा पञ्जाको रङ्गीन छाप लगाई दिनेसमेत गरिएका पाइन्छन् । यस दिन गोरुका घाँटीमा नयाँ घण्टी बाँधी पखेब (अनेक औषधीय वनस्पतिलाई एकत्र गरी ओखलमा कुटेर पानीसाथ तरल बनाएर गोरुलाई खुवाइने झोल पदार्थ) खुवाइने चलन रहेको छ । सोका लागि गोरुलाई एकत्र गरी विशेष प्रकारले पङ्क्तिबद्ध बाँधी काँरी (बाँसकाट बनाइने ढुङ्ग्रो विशेष) को सहायताले मुखमा खुवाइने गरिन्छ ।
पखेब तयार गर्दा वटवृक्षको जरा वा पात, बकाइनका पात, ककहियाका पात, चिरचिरीका पात, लपटाका पात, पानका पात, पिपरीका पात, गुम्माका पात, बाँसका पात, काँचो बेसार, सतञ्झा (सात प्रकारका अन्न), नून मरिच, खानेतेल लगायतका वस्तुहरू मिसाइने गरिन्छ ।
पखेब खुवाइएपछि गोरुलाई दौडाइने गरिन्छ, जसबाट एक प्रकारको मनोरञ्जन पनि हुने गर्दछ । यो पखेब गोरुलाई मात्र खुवाइने गरिन्छ, अन्य जनावर खुवाइँदैन ।
यस अवसरमा भगवान् इन्द्रद्वारा व्रजमाथि कुपित भएर घनघोर वर्षा गराइएको एवम् भगवान् कृष्णद्वारा गोवद्र्धन पर्वत उठाएर व्रजवासीको रक्षा गरिएको आख्यान पनि सुनाइने चलन पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु